गयल भएका शिक्षकलाई तलबभत्ता खुवाउन तीन प्रधानाध्यापक मिलेपछि…

हिमाल प्रेस १६ फागुन २०८० १२:२०
2.8k
SHARES
गयल भएका शिक्षकलाई तलबभत्ता खुवाउन तीन प्रधानाध्यापक मिलेपछि…

काठमाडौँ- सुनसरीको कोशी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका शिक्षक बालेश्वर यादव अध्ययन बिदा लिएर हेल्थ असिस्टेन्ट पढ्न विराटनगरको न्युरो मेडिकल कलेज गएका थिए। उनको नाममा तलबभत्ता भने भुक्तानी भइरेहको थियो। विद्यालयमा गयल भएका बालेश्वरको नाममा तलब भुक्तानी भइरह्यो। प्रधानाध्यापक परिवर्तन भए पनि उनको तलब रोकिएन। प्रधानाध्यापकहरूले फर्जी कागज बनाए। बालेश्वरलाई तलब खुवाइरहे।

तलब खाने बालेश्वर मात्रै होइन उनलाई तलब दिलाउने तत्कालीन प्रधानाध्यापकहरू धनीलाल यादव, भोली यादव, वीरेन्द्रप्रसाद यादवलाई भ्रष्टाचार मुद्दा लागेको छ। चारजना शिक्षकविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। उक्त विद्यालका तत्कालीन प्रधानाध्यापकहरू धनीलाल, भोली, वीरेन्द्रप्रसाद  र शिक्षक बालेश्वरविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

प्राथमिक तहका शिक्षक बालेश्वरले विद्यालयमा अनुपस्थित भएको अवधिको तलबभत्ता लिएको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। शिक्षक यादवमाथि न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहँदाको ९१ दिन फर्जी हाजिरी बनाएर तलब लिएको आरोप छ।

उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌मार्फत प्रदान गरिने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्तिअन्तर्गत हेल्थ असिस्टेन्ट विषयको खुला कोटाअन्तर्गत न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५/०७६ देखि तीनबर्से अध्ययन बिदा लिएर पढ्न गएका थिए।

त्यस अवधिमा विद्यालयमा अनुपस्थित भए पनि उनले तबलभत्ता लिएको खुलेको छ। साथै ४७ दिन गयल भई तोकिएको सरकारी कामकाज नगरी विद्यालयबाट एक लाख तीस हजार ८४३ रुपैयाँ २ पैसा तलबभत्ता लिएको विज्ञप्तिमा उल्लेख छ।

धनीलाल यादवमाथि प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वरलाई  न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमा विद्यालय र गाउँपालिकाको कार्यालय समेतको फर्जी हाजिरी बनाई भुक्तानी दिएको आरोप छ। उनले ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा हाजिर खाली भई गयल रहेको अवधि ३७ दिनको गरी ६४ हजार ९०० रुपैयाँ ४४ पैसा भुक्तानी दिएको विज्ञप्तिमा उल्लेख छ।

भोली यादवले प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादवलाई चौँतीस दिन फर्जी हाजिरी मात्र गराई विद्यालयमा अध्यापन नगराई ३३ हजार ६१८ रुपैयाँँ ४२ पैसन तलबभत्ता दिलाएको अख्तियारले जनाएको छ।

वीरेन्द्रप्रसादले प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर न्युरो हेल्थ कलेज विराटनगरमा अध्ययनरत रहेको अवधिमध्ये २०७८ मंसिरदेखि २०७८ फागुनसम्मको विद्यालयमा २२ दिनको फर्जी हाजिरी गराएको र २०७८ मंसिर महिनामा गयल रहेको अवधि १० दिनको गरी ३२ हजार ३२४ रुपैयाँ १६ शिक्षक बालेश्वर यादवलाई गैरकानूनी लाभ दिलाई भुक्तानी दिएको खुलेको छ।

ती प्रधानाध्यापक तथा शिक्षकले गैरकानूनी रूपमा भुक्तानी दिएको पुष्टि भएकोले सजाय बराबर कैद तथा बिगो बमोजिम जरिवाना हुनसमेत सजायको मागदाबी लिई विशेष अदालत,काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारको भनाइ छ।

यस्तो छ विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =