नेपाल र चीनबीच पर्यटन प्रवर्द्धनका सम्भावनाहरूबारे छलफल

अजय अलौकिक १५ फागुन २०८० १८:४८
10
SHARES
नेपाल र चीनबीच पर्यटन प्रवर्द्धनका सम्भावनाहरूबारे छलफल

बेइजिङ- नेपाल प्राकृतिक रूपले धनी तथा सांस्कृतिक विविधतायुक्त र ऐतिहासिक रूपमा अद्वितीय देश हो। जैविक विविधता र प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नेपालको पर्यटन उद्योगको प्रवर्द्धनको खाँचो टट्कारो छ। साथै पर्यटन उद्योगलाई थप आधुनिक, परिष्कृत र सबैको पहुँचमा पुर्‍याउन पूर्वाधारको विकासका लागि लगानीकर्तालाई आकर्षित गराउनु अर्को विशेष महत्त्वको काम हो।

यसबाहेक, कोभिड-१९ अघि नेपालमा सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गरेका थिए। वर्तमान अवस्थामा चिनियाँ पर्यटकहरू बढिरहेका छन्। यसैको निरन्तरता तथा व्यापक रूपमा चिनियाँ पर्यटक तथा लगानीकर्तालाई भित्र्याउने उद्देश्यसहित बेइजिङस्थित चीनकालागि नेपाली दूतावासले वर्ल्ड टुरिजम एलायन्ससँग मिलेर नेपाल र चीनबीच पर्यटन प्रवर्द्धनका सम्भावना विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

पर्यटन क्षेत्रमा कार्यरत करिब ६० जना नेपाली र चिनियाँ प्रतिनिधिबीच विचार तथा अनुभव आदानप्रदान र थप सहकार्यका उपायको खोजी गर्ने उद्देश्यले नेपाल र चीनका ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूबीच मंगलबार एक अन्तक्रिया आयोजना गरिएको हो।

चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले जैविक विविधता र प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नेपालको पर्यटन उद्योगको प्रवर्द्धनको खाँचो रहेको उल्लेख गर्दै चिनियाँ उद्यमीहरूलाई नेपालमा काम गर्न आग्रह गरे। नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझै मजबुत बनाउन निजी निकायहरूले थप सहकार्य गर्न सक्ने प्रचुर सम्भावना रहेको पनि औँल्याए।

निकट भविष्यमा नेपालमा हुन गइरहेको लगानी सम्मेलनलाई समेत मध्यनजरमा राखी गरिएको यो अन्तरक्रियाले नेपालको पूर्वाधार विकास तथा पर्यटन विकासमा बल पुग्ने विचार राजदूत श्रेष्ठले आफ्नो स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि चीनको वर्ल्ड टुरिजम एलायन्सका उपाध्यक्ष तथा महासचिव लिउ शचुनले पर्यटन क्षेत्रमा आदानप्रदानको महत्त्वको बारे चर्चा गर्दै निकट भविष्यमा नेपाल घुम्ने बाचा गरे।

चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेज (क्याट्स) का उपाध्यक्ष तथा महासचिव सुन कुइचनले नेपाली तथा चिनियाँ एजेन्सीहरू बीच आदानप्रदान र सहकार्य भइरहेको औँल्याए।

यसै गरी, हिमालय एयरलाइन्स, सछ्वान एयरलाइन्स, एयर चाइनाका प्रतिनिधिले पनि हवाई उडानको संख्या बढाउन सकिने सम्भावना रहेको औँल्याउँदै आआफ्ना विचार तथा अनुभवहरू राखे।

यसबाहेक चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेजका प्रतिनिधि चाङ वन, चिनियाँ ट्राभल वेबसाइट माफङ्वोका प्रतिनिधि लिउ थिङथिङले चिनियाँ पर्यटन र पर्यटकको दृष्टिकोणबारे प्रस्तुति राखे। यसै गरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवराज दाहालले नेपालको पर्यटन क्षेत्रको सम्बन्धमा जानकारी दिए।

यस बाहेक, दूतावासका फस्ट सेक्रेटरी नितेश सापकोटाले पर्यटन क्षेत्रमा लगानीका अवसर सम्बन्धमा उपस्थित चिनियाँहरूलाई जानकारी दिएका थिए। साथै चिनियाँ र नेपाली व्यवसायी बीच बिजनेस टु बिजनेस अन्तरक्रिया पनि भएको थियो।

नेपालले मार्चमा आयोजना गर्ने लगानी सम्मेलन तथा सन् २०२५ मा मनाउन लागेको ‘भिजिट नेपाल’ परिप्रेक्ष्यमा यो अन्तक्रिया चीनबाट आउने पर्यटक तथा लगानीकर्तालाई आकर्षित गर्ने आधार बन्ने आशा गर्न सकिन्छ।

प्रकाशित: १५ फागुन २०८० १८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 4 =