प्रहरीमा कार्यान्वयन हुन छाड्यो नियमावली : आठ महिनाअघि नै रिक्त एसपीमा बढुवा कसले रोक्यो?

हिमाल प्रेस १४ फागुन २०८० १४:५१
1.1k
SHARES
प्रहरीमा कार्यान्वयन हुन छाड्यो नियमावली : आठ महिनाअघि नै रिक्त एसपीमा बढुवा कसले रोक्यो?

काठमाडौँ – नेपाल प्रहरीको आठ एसपीको बढुवा आठ महिनादेखि नै रोकिएको छ। दुई एसपी ३९ वर्षे सेवाअवधिका कारण र अन्य ६ जनाको बढुवा भएसँगै रिक्त ८ एसपीको पदपूर्तिका लागि आठ महिनापछि बल्ल तयारी सुरु गरिएको छ।

गत साउनमा एसपीहरू दानबहादुर मल्ल र वामदेव गौतम अवकाश भएपछि दुई पद रिक्त भएको थियो। त्यस्तै गत कात्तिक २४ गते पाँच जान एसपीहरू बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई एसएसपीमा बढुवा गरेपछि पनि पद रिक्त छ। त्यस्तै एसपी रमेश बस्नेतको गत माघ ७ गते एसएसपीमा बढुवा भएसँगै जम्मा रिक्त पद संख्या ८ पुगेको हो।

नेपाल प्रहरी ऐन तथा प्रहरी नियमावलीअनुसार एसपीको पद रिक्त भएको तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने हो। तर अहिले आठ महिनापछि बल्ल तयारीमा प्रहरी प्रधान कार्यालय जुटेको छ।
८ एसपी बन्न १२ डीएसपी प्रतिस्पर्धामा छन्। एसपीको प्रतिस्पर्धामा रहेकाहरू ०६१ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेकाहरू छन्। उनीहरू ०७२ साउन १ गते डीएसपी बनेका थिए।

यो ब्याचकाहरूको तीन चरणमा बढुवा भएर एसपी बन्नेछन्। १२ डीएसपीमध्येबाट आठ जना एसपीमा बढुवा हुनेछन् भने थप चार जना छुट्ने छन्। उनीहरूले फेरि अर्को लट कुर्नुपर्नेछ। आठ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन्। त्यसपछि क्रमशः अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट छन्।

यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको मुख्य प्रतिस्पर्धी हुन्। प्रहरी प्रधान कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्ने तयारी गरेको हो।

एसपीसम्म बढुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई हुन्छ। एसएसपीदेखि माथिल्ला तहका बढुवा गर्ने अधिकार गृह मन्त्रालयका सचिवको अध्यक्षताको बढुवा समितिलाई हुन्छ। यसपटक एसपी बढुवामा शक्ति केन्द्रले बढि नै चासो देखाएकोले पनि बढुवा समयमै हुन नसकेको प्रहरी अधिकारीहरू बताउँछन्।

प्रकाशित: १४ फागुन २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =