आइसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्ससँग पराजित भयो नेपाल

हिमाल प्रेस १३ फागुन २०८० १५:५६
12
SHARES
आइसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्ससँग पराजित भयो नेपाल

काठमाडौँ- आइसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया, नेदरल्यान्ड्स सम्मिलित शृंखलाको अन्तिम खेलमा नेपाल नेद्ल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ। पराजयसँगै नेपालले शृंखलाका चार खेलमा मात्र दुई अंक जोड्यो। यसअघि नामिबियासँग चार र दुई विकेटले पराजित नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो।

यता दोस्रो जित निकालेको नेदरल्यान्ड्सले समान खेलबाट चार अंक जोड्यो। नेदरल्यान्ड्सले नामियबासँगको पहिलो खेलमा सात विकेटको जित निकाल्दा दोस्रो खेलमा २४ रनको पराजय ब्यहोरेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले ९२ बलमा सात चौकाको मद्दतले अविजित ५८ रनको योगदान गरे। यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्तले अविजित ४६, माइकल लेभिटले ३९, म्याक्स ओ’ डोउडले २८ रन बनाए।

तेस्रो विकेटका लागि सिंह र एङ्गेलब्रेख्तले अविजित १०२ तथा पहिलो विकेटका लागि लेभिट र ओ’डोउडले ६१ रनको साझेदारी गरे। नेपालका लागि दीपेन्द्रसिंह ऐरी र ललितनाराण राजवंशीले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ९३ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे। अन्तर्राष्ट्रिय एकदिवसीयमा कुशलको यो आठौं अर्धशतक हो।

यसैगरी करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र कप्तान रोहितकुमार पौडेलले १६ रन बनाए। पहिलो विकेटका लागि कुशल र आसिफले ४२ रनको साझेदारी गरे। नेदरल्यान्ड्सका लागि आर्यन दत्त र भिभियन किंगमाले समान तीन, बास डी लिडेले दुई र रोलोफ भान डेर मार्वेले एक विकेट लिए।

प्रकाशित: १३ फागुन २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =