सूर्य नेपाल वेस्टर्न ओपनमा सञ्जीवको टिमलाई प्रो-एमको उपाधि

हिमाल प्रेस १३ फागुन २०८० ११:२६
6
SHARES
सूर्य नेपाल वेस्टर्न ओपनमा सञ्जीवको टिमलाई प्रो-एमको उपाधि

पोखरा- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रोएमको उपाधि प्रोफेसनल सञ्जीवबहादुर नेपालीको टिमले जितेको छ। पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा‌ उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो।

प्रो सञ्जीवले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ वर्षका युवा गल्फर दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रवीन्द्र तिवारीले ३७ अंक जोडेका थिए।
प्रो निरज तामाङको टिमले १ सय ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो। प्रो निरजले ३४ स्कोर गर्दा एमेच्योरहरू १३ वर्षका ड्यानियल बानियाँले र मिलन यखाले समान ३६/३६ र अनिल सिन्हाले ३५ अंक जोडे।

प्रो सूर्यप्रसाद शर्माको टिम १ सय ३३ को कुल स्कोरमा तेस्रो भयो। प्रो सूर्यले ३३ तथा एमेच्योरहरू सुष्मा सिंहले ३३, श्याम तामाङले ३५ र जीवाराम गुरुङले ३२ अंक बटुले।
महिलातर्फ सुष्मा सिंहले उत्कृष्ट स्कोर गरिन। उनले ३३ अंकमा खेल पुरा गरिन। प्रतियोगितामा कृष्ण गुरुङले लङगेस्ट ड्राइभ र श्री राम थापाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।

प्रो एममा १९ प्रोफेसनल र ७६ एमेच्योर गरी कुल ९५ गल्फरले सहभागीता रहेको थियो। विजयी खेलाडीलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्की, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, हिमालयन गल्फ क्लबका निर्देशक किरण केसी,कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बाले पुरस्कार वितरण गरे।

सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि रेकर्ड स्कोरसहित भुवन नगरकोटीले जितेका थिए। रवि खड्का दोस्रो र निरज तामाङ तेस्रो भएका थिए। एमेच्योरतर्फ सदभाव आचार्यले उपाधि जित्दा प्रज्वल गुरुङ दोस्रो भएका थिए। आठ लाख ४० हजार पुरस्कार राशि रहेको सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता थियो।

प्रकाशित: १३ फागुन २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =