नाइटिंगेल स्कुलले मनायो ३१ औँ वार्षिकोत्सव

हिमाल प्रेस १३ फागुन २०८० १०:२१
816
SHARES
नाइटिंगेल स्कुलले मनायो ३१ औँ वार्षिकोत्सव

काठमाडौँ- ललितपुरको कुपण्डोलस्थित नाइटिंगेल स्कुलले स्थापनाको ३१ औँ वार्षिकोत्सव मनाएको छ। लखनखेलमा शनिबार विशेष समारोह आयोजना गरी विद्यालयले वार्षिकोत्सव मनाएको हो।

विद्यालयका संस्थापक निर्देशक एवम् संघीय प्रतिनिधिसभाका सांसद तेजुलाल चौधरीले ३१ वर्षको अवधिमा विद्यालयले शैक्षिक क्षेत्रमा प्रगति गर्दै अगाडि बढाएको बताए। उनले भने, ‘थोरै विद्यार्थी र सीमित स्रोतसाधनबाट तीन दशकअघि स्थापना गरिएको विद्यालय अहिले जवान भएको छ। यहाँबाट पढेका विद्यार्थी देशको प्रशासनिक, शैक्षिक, व्यावसायिक, कानुन, सेना-प्रहरी, प्राविधिक, चिकित्सा क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरिरहेकाले पनि यो पुष्टि हुन्छ।’

विद्यालयले राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान कायम गरिसकेको संस्थापक चौधरीको भनाइ छ। उनले भने, ‘हाम्रा विद्यार्थी हरेक क्षेत्रमा उत्कृष्ट छन्। एउटा क्षेत्रमा मात्रै हाम्रा विद्यार्थी पुग्न सकेका छैनन्, त्यो हो राजनीति।’

चौधरीले आफूले सरकारी विद्यालयमा मावि शिक्षकको जागिर छाडेर स्कुल स्थापना गरेको स्मरण गरे। उनले विद्यालयलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउन अहोरात्र खटिने शिक्षक-कर्मचारी, विश्वास गर्ने अभिभावक र परिश्रमी विद्यार्थी सबैलाई धन्यवाद दिए।

कार्यक्रममा उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले एउटै शैक्षिक संस्थाका लागि ३१ वर्ष छोटो अवधि भए पनि नाइटिंगेल स्कुलले निकै प्रगति गरेको भन्दै विद्यालय परिवारको सराहना गरे।

प्रिन्सिपल रञ्जना प्रधानले प्रभावकारी व्यवस्थापन र जिम्मेवारी शिक्षक-कर्मचारीका कारण विद्यालयले देशको शैक्षिक क्षेत्रमा गहन भूमिका निर्वाह गर्न सफल भएको बताइन्। उनले विद्यालयमाथि मेचीदेखि महाकालीसम्मका अभिभावकको विश्वासकै कारण पनि आफूहरूमाथि थप अघि बढ्न प्रेरणा मिलेको बताइन्।

समारोहमा विद्यालयमा लामो समयदेखि अध्यापनरत विद्यार्थी, विद्यालयमा अध्ययन गरेर उच्च शिक्षामा अब्बल नतिजा ल्याई देशविदेशका विभिन्न क्षेत्रमा सक्रिय पूर्वविद्यार्थी, शिक्षक, कर्मचारीलाई सम्मान गरिएको थियो। यसैगरी शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका थिए। रिले दौड प्रतियोगितामा सफल विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यार्थीले सातै प्रदेशको पहिचान झल्कने नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी कक्षा १२ का विद्यार्थीले देशभक्तिपूर्ण गीत गाएर सहभागीहरूलाई मनोरञ्जन दिलाएका थिए।

समारोहमा ललितपुर जिल्लाका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरू, विद्यालय सञ्चालकहरू, जनप्रतिनिधिहरू, अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो।

३१ वर्षअघि स्थापित नाइटिंगेल स्कुलले विद्यालय तहको परीक्षमा उत्कृष्ट नतिजा ल्याएबापत पटकपटक राष्ट्रिय एवम् क्षेत्रीय पुरस्कार पाएको छ। गत वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याएबापत ललितपुर महानगरपालिकाले विद्यालयलाई चार लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो। साथै दुई जना विद्यार्थीले जनही दुईदुई लाख रुपैयाँ पुरस्कार पाएका थिए। प्लेग्रुपदेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: १३ फागुन २०८० १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =