दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु हुँदै

हिमाल प्रेस १३ फागुन २०८० ८:११
6
SHARES
दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु हुँदै प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- सरकारले देशभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गर्दैछ। भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेकोले ती बाहेक ७५ वटा जिल्लामा आजदेखि खोप अभियान सुरु गर्न लागेको हो।

अभियान आउँदो चैत ७ गतेसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अभियानअन्तर्गत काठमाडौंका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती बालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए।

पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए। बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ। यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् ।

काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौंका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसंक्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना संक्रमित र एकजनाको मृत्यु भएको थियो। गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो।

प्रकाशित: १३ फागुन २०८० ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =