मानिसका लागि घातक १० प्राणी, जोसँग तपाईँ नजिक हुन चाहनुहुन्न

हिमाल प्रेस १२ फागुन २०८० २१:५०
30
SHARES
मानिसका लागि घातक १० प्राणी, जोसँग तपाईँ नजिक हुन चाहनुहुन्न तस्बिर साभार : डिस्कभर वाइल्डलाइफ

मानिसका लागि १० घातक प्राणी केके हुन सक्छन्, सोच्नुस् त। घातक र हिंस्रक जनावरका बारेमा सोच्दा तपाईँको दिमागमा केही प्राणीको नाम आउन सक्छ, जस्तै – ठूला मांसाहारी जनावर, सिंह, ब्वाँसो, सार्क वा यस्तैयस्तै जंगली जनावर। जब तपाईँले घातक प्राणीबारे थाहा पाउनुहुनेछ- अनि यसअघि सोच्दै आउनुभएको जनावरको आकार र शक्तिले तपाईँलाई नै धोका दिन सक्छ। बर्सेनि सबैभन्दा धेरै मानिसको मृत्युको कारक बन्ने जीवजन्तुका बारेमा गरिएको एउटा अध्ययनले तपाईँ अचम्ममा पर्न सक्नु हुनेछ।

सार्कले धेरै मान्छे मार्छ भनेर किटान गर्नुभयो भने त्यो उसका लागि अन्याय हुन्छ। किनभने सार्क यस्तो सूचीमा छैन। जो औसतमा वर्षमा ६ जना मानिसको मृत्युको कारक बन्छ। अनि जंगलको राजा सिंह? त्यो पनि हैन। सिंह त वर्षमा २२ जना मानिसको मृत्युको कारक रहेछ। सबैभन्दा घातक जीवजन्तु त प्राय: साना हुन्छन्। जसले शक्तिद्वारा होइन रोग र विषाक्त पदार्थद्वारा मानिसको मृत्यु निम्त्याउँछन्। यहाँ मानिसको मृत्युको कारक बन्ने दस प्राणीका बारेमा चर्चा गरिएको छ। सानो तर सबैभन्दा घातक प्राणीको सूचीमा पुग्नुअघि सबैभन्दा ठूलो तर कम क्षति गर्ने प्राणीबाट सुरु गरौँ :

१. हिप्पोपोटामस

तपाईँ घातक अफ्रिकी वन्यजन्तुको बारेमा सोच्नुहुन्छ, त्यति बेला तपाईँलाई सिंहले नै बढी मानिस मार्छ भनेर अनुमान लगाउनुहुन्छ। त्यो अनुमान गलत हो किनभने हिप्पोपोटामस वार्षिक पाँच सय मानिसको मृत्युको कारक बनेको पाइन्छ। हिप्पोपोटामस हिंस्रक स्तनपायी जनावर हो।

यो जनावर निकै आक्रामक हुन्छ। आफ्नो बासस्थान वरपर आएका मानिस वा अन्य जीवजन्तुमाथि त आक्रमण गर्छ नै कहिलेकहीँ डुंगामा समेत आक्रमण गरेर मानवीय क्षतिको कारक बन्न पुग्छ। डुंगामा आक्रमण भएपछि मानिसहरू या त डुबेर मर्छन् वा हिप्पोपोटामस आफैँले मारिदिन्छ। ठूलो र धारिलो दाँत भएको र भालेको औसत तौल १५ सय किलोग्राम रहेको हिप्पोपोटामस यस्तो जनावर हो तपाईँ त्यसविरुद्ध लाग्नै सक्नुहुन्न।

२. हात्ती

हामी हात्तीलाई शालीन र विचारशील प्राणीका रूपमा लिन्छौँ तर हात्ती घातक पनि हुन सक्छ। हात्ती जमिनमा बस्ने सबैभन्दा ठूलो जनावर हो। यसको आकार र तौलका कारण पनि हामी सोच्न सक्छौँ, यो हिंस्रक हुन सक्छ भनेर।

हात्तीले आक्रमण गर्नुको कारणचाहिँ उसको बासस्थानमा भइरहेको अतिक्रमणले हो। हात्तीको बथानले अन्नबाली र गाउँमा आक्रमण गर्छ। पायो भने मानिसलाई कुल्चीकुल्ची मार्छ। हात्तीको एउटै प्रहारले मानिस मार्न पर्याप्त हुन्छ। यसरी बर्सेनि पाँच सय मानिसको मृत्यु हुने गरेको छ।

३. सामुद्रिक गोही

मानिसका लागि अर्को घातक प्राणी हो सामुद्रिक गोही। यसले वर्षमा लगभग एक हजार मानिसको ज्यान लिन्छ। सामुद्रिक गोहीले मानिसलाई सीधै आक्रमण गर्न त जाँदैन। अवसर पायो भने यो जीवले मानिसलाई छाड्दैन। यद्यपि यसले मानिसलाई आक्रमण गर्ने सम्भावना भने प्रशस्तै हुन्छ। यो निकै ठूलो, द्रुत गतिमा आक्रमण गर्न सक्ने र भयानक जीव हो। ६ मिटर लम्बाइको यो जीवको तौल १३ सय किलोग्राम हुन्छ।

पानीको माध्यमबाट सिकारको पछि लाग्दा सामुद्रिक गोही प्रतिघण्टा १८ माइलको गतिमा दौडन सक्छ। यसको अर्थ के हो भने यस्तो गोहीले मानिसलाई आफ्नो सिकारका रूपमा रोजेको छ भने बच्ने सम्भावना हुँदैन। त्यसैले यसलाई सबैभन्दा घातक समुद्री जीवका रूपमा लिइन्छ।

४. जुका

मानिसका लागि यो परजीवी अर्को घातक जीव हो। यसले एकअर्कामा सरेर हानि पुर्‍याउँछ। यो जीव लामखुट्टेजस्तो संक्रमणकारी नभएर परजीवी हो। यस्तो जुका कुनै व्यक्तिको मुखमा भूलबस उसको अण्डा परेमा र मानव मलमूत्रबाट दूषित खानेकुरा खाएमा मानिसको शरीरमा प्रवेश गर्दछ।

मानिसको शरीरमा प्रवेश गरेपछि यस्ता जुका सानो आन्द्रामा बस्छ। उसले बाँच्न, खान र सन्तान उत्पादनका लागि पनि मानव शरीर नै प्रयोग गर्दछ। यसरी लाग्ने रोगलाई एस्केरियासिस भनिन्छ। ज्वरो आउनु, पेट दुख्ुन, सुन्निनु, सास फेर्न कठिन हुनु यसका लक्षण हुन्। यो प्राणीले वार्षिक २५ सय मानिसको ज्यान लिने गर्छ।

५. बिच्छी

केही यस्ता घातक जीव छन् जसले विषका माध्यमबाट मानिसको ज्यान लिन्छन्। यस्ता जीवले विषाक्त पदार्थ मानिसको शरीरमा पुर्‍याएर, आफ्ना विशेष अंगमार्फत डसेर मानिसलाई मारिदिन्छन्। बिच्छी यस्तै जीव हो। यसले विष उत्पादन गर्दछ। यसले विष उत्पादन गर्नुको कारण मानिसलाई मार्नु भने होइन। आफ्नो सिकारलाई बसमा पार्न बिच्छीले विष प्रयोग गर्दछ।

२५ प्रजातिका बिच्छी मानिसका लागि घातक हुन सक्छन्। भूलबस खाली खुट्टाले बिच्छीलाई टेक्दा मानिसमा विष सर्न सक्छ। यसैगरी कहिलेकाहीँ बिच्छी जुत्तामा लुकेर बसेको हुन सक्छ। बिच्छी यस्तो जीव हो, जसले शत्रुलाई आक्रमण त गर्दैन तर उसले रक्षात्मक बनेर मानिसलाई हानि गर्दछ। संसारमा बिच्छीको विषबाट बर्सेनि २६ सय मानिसको ज्यान जान्छ। भारतीय रेडस्कर्पियन नामक बिच्छी संसारमै घातक मानिन्छ।

६. घातक किराहरू

रोग फैलाउने र मानिसको मृत्युका लागि कारक अर्को हो, रेडुबिडे परिवारको किरा। हत्यारा किरा भनेर चिनिने यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ। ती क्षेत्रमा पाइने किराले चागस नाम गरेको रोग फैलाउँछ।

यो किराले फैलाउने रोगबाट वार्षिक करिब १० हजार मानिसको मृत्यु हुन्छ। वैज्ञानिकहरूले यस्तो किरालाई ‘किसिङ बग’ भनेका छन्। जसले मानिस सुतेका बेला टोकेर रोग फैलाउँछ।

७. सर्प

अर्को घातक प्राणी हो सर्प। सर्पको टोकाइबाट विश्वमा वार्षिक एक लाख ३८ हजार मानिसको मृत्यु हुने गरेको छ। त्यसमध्ये पनि सबैभन्दा घातकचाहिँ ‘स स्केल्ड भाइपर’ हो। अन्य सर्पभन्दा यो ज्यादै घातक हुन्छ। त्यसैले यसलाई आक्रामक प्रजातिको सर्प भनेर पनि चिनिन्छ।

आक्रमण गर्ने प्रवृत्ति, शक्तिशाली विष र अत्यधिक जनसंख्या भएको क्षेत्रमा रहने भएकाले यसको डसाइबाट धेरैको ज्यान जाने गरेको हो। यस्तो प्रजातिको सर्प दक्षिण एसियाका भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, ओमान, साउदी, इराकलगायतका देशमा पाइन्छ।

८. शंखेकिरा

सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ। एक वर्षमा दुई लाखभन्दा बढी मानिसको मृत्युको कारण शंखेकिरा हो। शंखेकिरलाई घातक परजीवीको संक्रमणकारी जीव भनेर चिनिन्छ। शंखेकिराका २४ हजारभन्दा बढी प्रजातिका ‘फ्लुक्स’ हुन्छन्। तिनीहरूमध्ये अधिकांश परजीवी हुन्। यस्ता फ्लुक्सहरू शंखेकिरामै विकसित हुन्छन्। त्यसपछि पानीमा छाडिन्छन्। अनि त्यही पानी मानिसले पिएपछि संक्रमण हुन्छ। मानिसलाई एक प्रकारको कडा ज्वरो आउँछ। जसलाई स्नले फिभर भनिन्छ।

मलेरियापछि यसलाई दोस्रो सबैभन्दा सामाजिक आर्थिक रूपमा विनाशकारी परजीवी रोग मानिएको छ।

९. मानिस

मानिस पनि घातक! हो मानिसका लागि मानिस नै सबैभन्दा बढी घातक प्राणी हो। अर्थात् मानिसको मृत्यु हुनुमा मानिस नै कारक हो। मानिसकै कारण विश्वमा बर्सेनि चार लाख ३१ हजार मानिसको ज्यान जाने गरेको छ। मानिस अन्य सबै प्राणीभन्दा श्रेष्ठ हो। उसले आर्जन गरेको केही क्षमता आफ्नै लागि पतनको कारण बनेको छ।

मानिसले विनाशकारी हतियार बनाउँछ अनि एकअर्कालाई मार्न प्रयोग गर्दछ। साथै मानवीय गतिविधिहरूले प्राकृतिक संसारमा विनाशकारी गतिविधि भइरहेका छन्। जलवायु परिवर्तनको परिणामस्वरूप वार्षिक १५ हजारभन्दा बढी मानिसको मृत्यु हुने अनुमान गरिएको छ।

जलवायु परिवर्तनले पानी र हावाको स्वच्छतामा असर गरेको छ। प्राकृतिक प्रकोपका घटना बढिरहेका छन्। खाद्य सुरक्षामा असर परेको छ। यसबाट मानव स्वास्थ्य र सुरक्षा जोखिममा पर्दै गएको छ। विश्व स्वास्थ्य संगठनले सन् २०३० देखि २०५० सम्म जलवायु परिवर्तनले पार्ने असरबाट उत्पन्न हुने कुपोषण र रोगका कारण वार्षिक थप दुई लाख ५० हजार मानिसको मृत्यु हुने अनुमान गरेको छ।

१०. लामखुट्टे

मानिसलाई सबैभन्दा ठूलो असर भने एउटा सानो प्राणीले गर्दाे रहेछ। त्यो हो लामखुट्टे। प्रत्येक वर्ष मर्ने मानिसको हिसाब राख्दा लामखुट्टे यस्तो प्राणी हो, जसका कारण वार्षिक ७ लाख २५ हजारदेखि १० लाखसम्म मानिसको मृत्यु हुने गरेको छ। यद्यपि यो साना किराले मानिसलाई सीधै मार्न सक्दैन। यो त धेरैवटा रोग संक्रमण गर्ने माध्यम बन्छ।

लामखुट्टेले मान्छे र जनावरको रगतलाई एकअर्कामा संक्रमण गराउन सहयोगी भूमिका खेलेको हुन्छ। लामखुट्टेकै कारण ब्याक्टेरिया, भाइरस र परजीवीहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। लामखुट्टेमार्फत मलेरिया संक्रमण हुन्छ। मलेरियाबाट धेरै मानिसको मृत्यु हुन्छ। मानव इतिहास र हाम्रो विकासमा असर गरेको यो रोग निकै घातक छ।

अनुसन्धानकर्ता लिओमा विलियम्सले डिस्कभर वाइल्डलाइफमा लेखेको यो सामग्री अंग्रेजीबाट अनुवाद गरिएको हो।

प्रकाशित: १२ फागुन २०८० २१:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =