विस्मृति, शान्ति र भ्रान्ति

राजाराम बर्तौला १२ फागुन २०८० १९:०७
64
SHARES
विस्मृति, शान्ति र भ्रान्ति

माघ महिनाको पारिलो घाममा आँगनमा बसेर ढाड सेकाउने योजना बनाएको केही दिन भएको थियो। प्रायः फुर्सदै हुने भए तापनि यदाकदा पुराना मित्रहरूले सम्झेर फोन गर्छन्। फोनको घन्टी बज्दा पनि कसैले झुक्किएर गलत नम्बरमा गरेको होला भन्ने लाग्छ। अवकाशपछि फोनको घन्टी बज्न पनि अल्छी गर्न थालेको छ। कहिलेकाहीँ बज्ने फोनको घन्टीले मेरा अग्रीम योजनालाई भताभुंग बनाउँछ र बनिबनाउ कल्पनाको महल भत्काइदिन्छ।

अरू दिनहरूभन्दा फरक आँगनमा घामको आनन्द लिइरहेको समयमा बिहानै फोनको घन्टी बज्यो। अल्छी गरी उठाएँ। ‘ओई, के गर्दैछस्?’ हेल्लो हाई, के कसो केही नभनी एकैपटक ठाडो भाका फेर्‍यो उसले। अर्थात् विकल्प रहेछ फोनमा। सदाझैँ कुर्लियो। रवाफ देखाउने उसको बानी दाँत फुक्लेर थोते हुँदा पनि घटेको छैन। हुन त उसको यो रवाफ हामी साथीहरूसँग मात्रै हो। अफिस हुँदा ठूला हाकिमहरूको अगाडि पर्दा भिजेको मुसोजस्तो हुन्थ्यो। दुई हात मोल्दै हजुर टक्र्याउँथ्यो। घरमा श्रीमतीसँग सिंहनाद गरे पनि छोरा बुहारीसँग लज्जावती झारझैँ लत्रन्थ्यो।

अवकाशपछि मेरै जसरी घाम तापेर दिन बिताउँदै थियो ऊ पनि। साथी भेट्न पाउने जोसले होला आज फेरि उसले ममाथि रवाफ देखायो। रवाफ भन्ने कि अपनत्व। प्रेम भन्ने कि सदाचार सद्भाव। आफ्नो भनी सम्झनुको अन्तरंग बहार सम्बोधनले पारितोषण गर्दछ। नजिकै आएर बस्छ दिलैमा। घच्चापच्चामा पनि मोहनी लगाउँछ।

‘तेरो वरिपरि छोराबुहारी छैनन् कि के हो, ठूलो स्वर गर्दैछस् त’, मैले भनेँ। ऊ तुरुन्तै ठाउँमा आयो। ‘तँ पनि अमेरिकाबाट ह्यारी आएको छ, सँगै बसेर कफी खाऊँ भनेर क्या। फुर्सद भए आइज थापाथली। हामी त्यहीँ हुन्छौँ। भेटेर गफ गरौँला। हाम्रो त के ह्यारीको प्यारीको कुरा सुनौँला’, उसले भन्यो। ह्यारीसँग गफ चुट्ने दुईटा विषयवस्तु हुन्छन्; एउटा उसैको प्यारीको प्रशंसा र अर्को व्यावसायिक सफलताको समृद्धिको प्रवचन।

ह्यारी, उसको खास नामचाहिँ हरिभक्ते हो। जागिर खाँदाको ब्याचमेट। अवकाशचाहिँ उसले अलि अगाडि नै जागिर राजीनामा गरेर अमेरिका भासियो प्यारीको सारीमा लपेटिएर। धनाढ्य छ। एकदुई वर्ष बिराएर नेपाल आउँछ। पुराना नजिकका घनिष्ट साथीहरूलाई जोडेर आफ्नो प्रगतिको डिङ हाँक्छ। हामी उसको प्रगतिमा खुसी मिसाउँछाँै र शुभेच्छा व्यक्त गर्छौँ। बदलामा उसले ब्लु लेबल खोल्छ। हामी त्यही तीनपानेको स्वादले पनि ह्यारीसँगको भेट छुटाउन चाहँदैनाैँ। ऊसँगको सामीप्य सम्झनायोग्य हुन्छ।

बुढ्यौलीले छोएको ज्यान दिउँसो न्यानो भए पनि चिसो हावाले भेट्यो भने निमोनियाले समाउला भन्ने भएकाले न्यानो डाउन ज्याकेट, मफलर र टोपी लगाएर बाहिर निस्केँ डेस्टिनेसन थापाथली। एकता बुक सेन्टरमा भेटेर एउटा राम्रो रेस्टुरेन्टमा जाने अनि साथीहरूको महफिल जमाउने।

नारायण गोपालचोकसम्म हिँडेर गएँ। त्यहाँबाट सहिदगेटसम्म ट्याम्पुमा गएँ। त्यहाँबाट हिँडेर थापाथलीको बाटो नाप्दै गएँ। थापाथलीमा हिजो र आजको सम्योजन (कम्बिनेसन) गज्जबको देखिन्छ। दसँैमा भेडादेखि लिएर चामल, नुन, तेल बेच्ने खाद्य संस्थानको गोदाम उही छ। रामभण्डार उस्तै छ तर फेरिएको छ सडकका दायाँबायाँ घरहरू चिल्ला गाडीहरूको सोरुमले। अग्ला आलिसान बहुतले भवनहरूले। कान्तिपुरले आफ्नो साम्राज्य (इम्पायर) नै बढाएछ। महाभूकम्पले भत्काएको राष्ट्र बैंकको राणाकालीन नियोक्लासिकल वास्तुकलाको भवन उस्तै आकार प्रकारमा पुनः खडा भएछ।

यिनै रंगीन दृश्यहरू हेरेर म रमाउँदै थिएँ। अचानक के भयो, निमेष भरमा मेरो स्मृति ब्ल्याकआउट भयो। कम्प्युटर मेमोरी चिप्सबाट फाइल मेटिए जसरी। पूर्णतः म शून्यमा शून्यसरी हराएँ। म आफू को हुँ भन्ने नै बिर्सिएँ। मेरो स्मृति के हरायो मेरो परिचय हरायो। निमेषभरमा म एउटा अब्जेक्ट भएँ। अर्थात् एउटा आकारप्रकार भएको वस्तु। सेन्सलेस अब्जेक्ट। चेतना शून्य अवस्थामा रहेको जीवित तर मुढ स्थिर प्राणी। मरेतुल्य? होला सायद। तर यहाँ अवस्था अलि भिन्न थियो। पर्यवेक्षकले बाहिरी चक्षुले मूल्यांकन गरेको भन्दा भिन्न।

म आफू आफैँ भित्र यो शून्यताको अपरिमेय आनन्द लिंदै थिएँ। त्यहाँ मेरा आफन्त कोही थिएनन्। कसैप्रति पनि आग्रह, पूर्वाग्रह, लोभ, लालच, लाभ, हानि, माया, मोह, आशक्ति, केही थिएन। त्यहाँ कुनै दायित्व थिएन। चाहना, तृष्णा केही थिएन। राग, द्वेष केही थिएन। कामक्रोधबाट मुक्त। भगवान् कृष्णले गीतामा (२–६२, ६३) भनेको जस्तो। स्थितप्रज्ञ, योगको अन्तिम शुत्र सायद। म खुबै रमाएँ।

म फुटपाथमा उभिएर नै आनन्दातिरेक अभिशप्त चेतनाविहीन अवस्थाको उच्चतम तृप्तिको अनुभूति गर्दै थिएँ। मेरा इन्द्रियहरू चलायमान थिए। कानले सुनी नै रहेको थियो, नाकले गन्ध, आँखाले दृश्य देख्दै थियो। थिएन त केवल स्मरणशक्ति। स्मृति भ्रम, चेतना शून्यको अवस्था या त योगको परिणति हो या शारीरिक रोगको लक्षण। स्मृति क्षय (डिमेन्सिया) हुनसक्छ। योगाभ्यासको उत्कर्ष आनन्द यो थिएन। हठात् बज्रपात जसरी देखिएको विभ्रान्ति, विस्मृतिको लक्षण थियो। शारीरिक अस्वस्थता।

कसैले सोधेन, कसैले वास्ता गरेन केही दुःख लागेन। दिन ढल्दै गयो। चिसो बढ्दै गयो। भोक र प्यास पनि लाग्दै गयो। म आफूलाई आभास भयो म हराएँ। म बाटोमै हराएँ। किनारा दरकिनारा भएँ। म सहाराबिनाको परित्यक्त बोझ भएँ।

कसैले सायद, मेरो अवस्थिति हेर्दै थियो। ऊ नजिकै आयो र मेरो नाम, ठाउँ सोध्यो। म अवाक् थिएँ। आवाजविहीन त थिइनँ तर स्मृतिविहीन थिएँ। चेतनाविहीन अमूर्त। परिचयविहीन अनागरिक। बाटोमा हिँड्नेहरूलाई न म चिन्दथेँ न उनीहरू मलाई चिन्दथे। ती साथीहरू जसको निम्ता मान्न म निस्केको थिएँ उनीहरू यही बाटो हिँडे हुनन् तर चिनेनन्। चिनेर पनि चिनेनन् वा चिन्न चाहेनन्। आफन्त, इष्टमित्र, प्रेयसी, बन्धुबान्धव, पुत्रपुत्री सबै यही बाटो ओहोरदोहोर गर्दै रहे। मेरो अवस्थाको निरिहतामा कसैले सहज तुल्याउने प्रयाससम्म गरेनन्। म हेरिरहेँ, अवाक्। म कसैलाई चिन्दनथेँ। चिन्नेहरूले मलाई चिनेनन्।

म छटपटिएँ। मन भित्रै रोएँ, कराएँ। अरण्य रोदन, बाहिरी दुनियाँमा कोलाहल त थियो। त्यही कोलाहलमा मिसिएर मेरो आवाज विलीन भयो। हरायो। आफ्नै अवसादमा म कराएँ। म झल्याँस्स ब्युँझिएँ। बाहिर घाम झलमल्ल लागिरहेको थियो।

प्रकाशित: १२ फागुन २०८० १९:०७

प्रतिक्रिया

One thought on “विस्मृति, शान्ति र भ्रान्ति

  1. हामी सवैले भोगेको साझा अनुभूति ! राम्रो लाग्यो, बधाई राजारामजी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =