संसद् अवरोध : ‘मनलाग्दी गर्न जनताबाट निर्वाचित भएर आएको हो?’

हिमाल प्रेस ११ फागुन २०८० १२:४८
4
SHARES
संसद् अवरोध : ‘मनलाग्दी गर्न जनताबाट निर्वाचित भएर आएको हो?’ प्रतिनिधिसभाको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको शुक्रबारको बैठक सत्तापक्ष र प्रतिपक्षबीच भनाभन भएपछि कार्यसूचीमा प्रवेश नगरी केही बेरका लागि स्थगित भएको छ। गणपूरक संख्या नपुगेपछि बिहीबार विधेयक पेस गर्ने कार्यसूची हटाइएको विषयमा सांसदहरूबीच भनाभन भएपछि विवाद सुरु भएको थियो।

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पार्टीका सांसदहरू महासमिति बैठकमा व्यस्त रहेका बेला राजनीतिक दलसम्बन्धी विधेयक पेस गर्ने क्रममा अनौठो नाटक मञ्चन भएको बताए। गणपूरक संख्या पुग्ला भनेर प्रतिपक्षी सांसद उठेर बाहिर गएको आरोप केसीको थियो। उनले भने, ‘सत्तापक्षको मात्रै विधेयक हो? एक वर्षमा एउटा मात्रै विधेयक पारित भयो भनेर सर्वत्र आलोचना भइरहेको छ।’

त्यसपछि प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। केही बेर संसद्‌मा होहल्ला भएको थियो। सभामुख देवराज घिमिरेले शान्तसँग बस्न आग्रह गर्दै आफूले व्यवस्थापन गर्ने बताएका थिए।

केसीले भने, ‘हाम्रो संख्या हिजो न्यून थियो तर हामी बसेका थियौँ।’ विधेयक टेबुल गर्ने जिम्मेवारी सत्तापक्षको मात्रै नरहेको उनको भनाइ थियो। उनले सत्तापक्षले बोल्न पाउने कि नपाउने भनेर प्रश्न पनि गरे। उनले भने, ‘हाम्रो पार्टीको महासमिति बैठक रहेको थाहा पाउँदापाउँदै प्रतिपक्षबाट दलसम्बन्धी विधेयक अगाडि बढ्न नदिने काम भएको छ।’ प्रतिपक्षले सांसदको मुख थुन्न खोजेको आरोप केसीले लगाए।

त्यसपछि एमालेका सांसद पदम गिरीले संसद्‌मा आफूहरूले निरन्तर सुशासनका कुरा उठाइरहेको बताए। उनले संसद्को नियमित कामलाई रोक्ने काममा प्रतिपक्षी नलागेको स्पष्ट पारे। गिरीले संसद् नियमित रूपमा चलाउन प्रतिपक्षी गम्भीर रहेको बताए। साथै उनले सत्ता पक्षबाट प्रतिपक्षी सांसदलाई हिलो छ्याप्ने र भ्रम सिर्जना काम मात्रै भएको बताए।

उनले प्रश्न गरे, ‘प्रतिपक्षीको कारण कानुन निर्माण हुन कहाँ बाधा पुग्यो?’ उनले आफूले पेस गरेको विधेयक संसद्‌बाट पारित गर्ने हिम्मत नभए सरकारले राजीनामा दिनुपर्ने बताए। उनले भने, ‘सुशासनका मुद्दामा हामी कसैसँग सम्झौता गर्दैनौँ।’ उनले प्रतिपक्षीलाई विरोध गर्नका लागि आकस्मिक दिइएको भन्दै सभामुखको ध्यानाकर्षण गराए।

रास्वपाका विराजभक्त श्रेष्ठले पार्टी देशका लागि कि देश पार्टीका लागि हो भन्ने प्रश्न गरे। उनले भने, संसद् चल्ने सत्तापक्षको बहुमतले हो। उहाँहरूले विधेयक ल्याएपछि पारित गर्ने दायित्व पनि उहाँहरूकै हो।’ उनले गठबन्धनमा प्वाल परेको हो भन्ने प्रश्न पनि गरे। श्रेष्ठले कांग्रेस सांसदसँग संसद्को क्यालेन्डर नभए आफूले फोटोकपी उपलब्ध गराउने बताए।

साथै उनले संसद्‌मा उपस्थिति नहुने विषयमा कार्य व्यवस्था समिति जानकारी नगराएको भन्दै आपत्ति जनाए। श्रेष्ठले भने, ‘कार्य व्यवस्था समिति जोकर संस्था हो? त्यहाँ कुरा राख्नु पर्दैन?’ उनले विधेयकमा बहुमत पुर्‍याउन नसक्नेले सरकार कसरी चलाइरहेको छ भनेर प्रश्न गरे। सत्तागठबन्धनले सार्वभौम संसद्सँग क्षमा माग्नुपर्ने श्रेष्ठको भनाइ थियो।

राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले क्यालेन्डर हेर्न र कार्यव्यवस्था परामर्श समितिको जिम्मेवारी बुझ्न आग्रह गरे। उनले भने, ‘महिना चारपाँचपटक भन्दा बढी संसद् चलाउन सरकारले बिजनेस नदिने अनि हामीलाई दोष लगाएर हुन्छ?’ उनले संसद् रत्नपार्क नभएको र यहाँ उठाएको प्रश्नको जबाफ दिनुपर्ने बताए। उनले प्रतिपक्षीले उठाएको आवाजको सम्बोधन नहुने हो भने संसद् बन्द गर्नुपर्ने बताए। साथै उनले बालकुमारी घटनाबारे प्रधानमन्त्रीले जबाफ नदिने हो भने संसद् चल्न नदिने बताए।

माओवादी सांसद माधव सापकोटाले संक्षिप्त समय भनेर कति समयलाई तोकिएको भनेर सभामुखको ध्यानाकर्षण गराए। उनले प्रमुख प्रतिपक्षसँग संख्यात्मक बल धेरै छ भनेर आफ्ना स्वरलाई कुण्ठित गर्न खोजिएको बताए।

सापकोटाले संसद् बन्द गर्न, हुलहुज्जत गर्न, अराजकता प्रदर्शन गर्न, मनलाग्दी गर्न जनताबाट निर्वाचित भएर आएको हो? भनेर प्रश्न गरे। उनले यो व्यवस्था गलत छ भने सांसदको पद राजीनामा गरेर सडकमा जान आग्रह गरे। उनले भने, ‘विद्रोह गर्नुस् न त्यो अधिकार तपाईँहरूलाई छ नि, यही संसद्‌मा बस्ने संसद् चल्न नदिने, अराजक हुने, उत्छृंखल हुने यो के तरिका हो?’

केही सांसदहरूले सम्बोधन गरेपछि सभामुख घिमिरेले नियमित कारबाहीमा अघि बढ्न आग्रह गर्दा प्रतिपक्षी सांसदले उठेर विरोध जनाएका थिए। सभामुखले सांसदहरूले उठाएको विषयमा ध्यानाकर्षण भएको बताएका थिए। तर प्रतिपक्षी दलले विरोध जनाएपछि संसद् केहीबेरका लागि स्थगित भएको थियो।

प्रकाशित: ११ फागुन २०८० १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =