त्रिवि उपकुलपति छनोट प्रक्रिया स्वच्छ, स्वतन्त्र, पारदर्शी छैन,विश्वविद्यालय बन्धक बनाइयो : योगेश भट्टराई

हिमाल प्रेस १० फागुन २०८० १२:१८
46
SHARES
त्रिवि उपकुलपति छनोट प्रक्रिया स्वच्छ, स्वतन्त्र, पारदर्शी छैन,विश्वविद्यालय बन्धक बनाइयो : योगेश भट्टराई

काठमाडौँ- सांसद योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रियामाथि आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वच्छ र स्वतन्त्र ढंगले त्रिविको उपकुलपति छनोट हुने दाबी गरे पनि भट्टराईले साेहीअनुसार नभएकाे बताएका हुन्। राजनीतिक पार्टीको गुटका मान्छेको लडाइँमा विश्वविद्यालय बन्धक बनाइएको भट्टराईकाे आरोप छ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बिहीबार बोल्दै भट्टराईले उपकुलपति छनोटमा अनुसन्धान र प्रस्तुतिमा असाध्यै कम नम्बर राखेर अन्तर्वार्तामा बढी राखिएको बताए। नेकपा एमालेका सचिवसमेत रहेका भट्टराईले उपकुलपतिको अन्तर्वार्तामाथि पनि प्रश्न उठाए। उनले उपप्राध्यापक नै उपकुलपति हुने र उपप्राध्यापकको अन्तर्वार्ता प्राध्यापक, शिक्षामन्त्री, शिक्षासचिवले लिने भन्दै उक्त प्रकिया खारेज गर्नुपर्ने बताए।

‘प्रधानमन्त्रीले स्वच्छ, स्वतन्त्र ढंगले उपकुलपति नियुक्त गर्ने भनेर प्रक्रियाअगाडि बढाउनुभयो। बिडम्बना त्यो प्रक्रियामा स्वच्छ, स्वतन्त्र, पारदर्शी थिएन। अनुसन्धान, प्रस्तुतिमा असाध्यै कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने। अन्तर्वार्ता शिक्षामन्त्री, शिक्षासचिवले लिने अनि प्राध्यापक विश्वविद्यालयको उपकुलपति हुने भन्ने प्रावधान छ। उपप्राध्यापक कुलपति हुने अन्तर्वार्ता कसले लिन्छ प्राध्यापकले,’ सांसद भट्टराईले भने,‘यस्तो प्रक्रियाबाट पार्टीभित्रका गुटका मान्छेको लडाइँमा विश्वविद्यालय बन्धक बनाइएको छ। यसको निन्दा, भत्सर्ना गर्छु। यो प्रक्रिया तुरुन्तै बन्द गरेर स्वतन्त्र, निष्पक्ष ढंगले उपकुलपति छनोटको प्रक्रियाअगाडि बढाइयोस्।’

उनले यस्तै अवस्था पश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पनि भएको बताउँदै यतातिर सरकारको ध्यानाकर्षण गराए।

गत कात्तिक महिनादेखि त्रिभुवन विश्वविद्यालय उपकुलपति पद रिक्त छ। उपकुलपति पदमा नियुक्तिका लागि प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टेकनाथ धमला सिफारिस भएका छन्।

प्रकाशित: १० फागुन २०८० १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =