झस्किए प्रचण्ड!

किरण पौडेल ९ फागुन २०८० २१:४०
58
SHARES
झस्किए प्रचण्ड!

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठकमा ‘गठबन्धन नगर्ने’ प्रस्ताव आएपछि नेकपा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दबाबमा परेका छन्। कांग्रेसको यस्तो निर्णयले गठबन्धनको भविष्य संकटमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालिएको माओवादीका नेताहरू बताउँछन्। पछिल्ला केही दिनदेखि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल बढाएका छन्।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा कांग्रेस महामन्त्री गगन थापाले आउँदो चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए। यद्यपि थापाले पेस गरेको प्रतिवेदनउपर छलफल जारी छ।

कांग्रेस महासमिति बैठकले गठबन्धन नगर्ने पक्षमा गएमा नयाँ रणनीतिका साथ अघि बढ्ने संकेत प्रचण्डले दिएको उनी निकट नेताहरू बताउँछन्। कांग्रेसले धोका दिएमा कसरी सरकार टिकाउने रणनीतिको खोजीमा प्रचण्ड रहेको माओवादीका एक पदाधिकारीले बताए। गठबन्धनमा प्रचण्ड, देउवा र माधव नेपाल आलोपालो प्रधानमन्त्री हुने सहमति छ। यही सहमतिअनुसार प्रचण्ड एक वर्ष प्रधानमन्त्री भइसकेका छन्।

थापाको प्रस्तावमा वर्तमान गठबन्धनबारे केही उल्लेख छैन। प्रस्तावमा चुनाव एक्लाएक्लै लड्नुपर्ने प्रस्ताव गरिएको छ। माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको त्यो प्रस्ताव पारित भएमा विकल्प खोज्नुपर्ने बताउने गरेको उनी निकट एक नेता बताउँछन्। यही कारण पछिल्लो समय प्रचण्ड एमालेसँग नजिकिएको ती नेताले बताए।

‘धेरैतिर कुरा भइरहेको छ। एमालेकै नेतासँग पनि छलफल नभएको होइन,’ माओवादी सचिव देवेन्द्र पौडेल भन्छन्, ‘कांग्रेसमा यस्तै कुरा आइरहेको छ। उहाँहरू गठबन्धन चाहनुहुन्न भने हामी किन अघि बढाइरहने?’ वर्तमान गठबन्धनबारे कांग्रेसले केही निर्णय गरेको छैन।

कांग्रेस नेताहरूका अनुसार अहिलेको गठबन्धनबारे नबोल्ने र भाबी दिनमा गठबन्धन नगर्ने मात्रै छलफल भएको छ। कांग्रेसको प्रस्तावले माओवादीका कार्यकर्ता पनि सशंकित बनेका छन्। उनीहरू सामाजिक सन्जालदेखि विभिन्न ठाउँमा यसबारे चर्चा चलाइरहेका छन्। ‘कांग्रेसका साथीहरूले बुझ्नुपर्छ कि हाम्रो काँध चढेर नै तपाईँहरूको काँध उच्च भएको हो’, माओवादी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ भन्छन्, ‘धेरै उतारचढाव गर्नु आवश्यक छैन।’ माओवादीका अन्य कार्यकर्ता पनि कांग्रेसको सोही प्रस्तावप्रति अनुदार छन्।

माओवादी अध्यक्ष प्रचण्डले पछिल्लोपटक मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीसँगको भेट गरेका छन्। ओली र प्रचण्डबीच सकारात्मक छलफल भएको माओवादी नेताहरूको दाबी छ। ‘सबैतिर छलफल चलेको छ। राजनीति कता जान्छ भन्न सकिएको छैन,’ माओवादी उपमहासचिव हरिबोल गजुरेल भन्छन्। पछिल्लो समय एमाले र माओवादी नेताहरूबीच बाक्लै छलफल भइरहेको छ। दुई दलका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल हुने गरेको नेताहरू बताउँछन्।

पछिल्लो समय प्रचण्डले समाजवादी मोर्चालाई समेत सक्रिय बनाउँदै लगेका छन्। मोर्चाबारे कांग्रेस सुरुबाटै सशंकित थियो। मोर्चा बनाउँदा गठबन्धनमाथि उपगठबन्धन बनाएको आरोप कांग्रेसले लगाएको थियो। मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेकपा (विप्लव) छन्। प्रचण्डले चलायमान बनाउन भन्दै मोर्चाको संयोजकमा नेत्रविक्रम चन्द ‘विप्लव’ लाई ल्याएका छन्।

मोर्चालाई माओवादीले वामपन्थी शक्तिहरू जोड्ने माध्यमका रूपमा लिएको छ। मोर्चामा एमालेलाई पनि ल्याउन केही माओवादी नेताहरू लागेका छन्। ‘हामी समाजवादी नीति भएका सबै पार्टीलाई ल्याउन मोर्चा बनाएका हौँ,’ माओवादी सचिव पौडेल भन्छन्, ‘यहाँ एमाले आउन चाहन्छ भने आउन सक्छ।’

माओवादीका एक नेताका अनुसार ओलीसँग प्रधानमन्त्री प्रचण्ड संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) बारे छलफल चलाइरहेका छन्। सहमतिबाट अघि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। एमाले भने द्वन्द्वपीडितलाई न्याय दिने गरी टीआरसी विधेयक अघि बढाउनुपर्ने अडानमा छ। ‘टीआरसी नेपालबाट पारित भए पनि अन्तर्राष्ट्रिय कानुनले समाउँछ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘यसबारे तत्काल सम्झौता गर्न मिल्दैन।’

माओवादी अध्यक्ष प्रचण्डले यसअघि कांग्रेसले गठबन्धन अघि बढाउन नचाहेको बताएका थिए। गत साता सम्पन्न माओवादीको विधान सम्मेलनमा पनि प्रचण्डले कांग्रेसले लगातार घात गरेको बताएका थिए। ‘कांग्रेसबाट घात भइरहेको छ। यसबारे सोच्नुपर्ने भयो,’ प्रचण्डले भनेका थिए, ‘कोशीमा पनि हाम्रै उम्मेदवारको हार भयो। यो लगातार अघि बढिरह्यो भने कस्तो होला?’

उनले आउँदो राष्ट्रियसभा अध्यक्षमा समेत सोच्नुपर्ने बताएका थिए। संवैधानिक परिषद्मा माओवादी शून्य हुने भएकाले कांग्रेसलाई अध्यक्षमा समर्थन गर्न नसकिने प्रचण्डको भनाइ थियो।

‘मलाई तत्काल गठबन्धन तलमाथि हुन्छ भन्ने लाग्दैन। तर कतैकतै यसबारे चहलपहल भइरहेको म पनि सुनिरहेको छु,’ माओवादी उपमहासचिव हरिबोल गजुरेल भन्छन्, ‘पहिले पनि एमालेसँग त्यति छिट्टै एकता होला जस्तो लागेको थिएन।’ गजुरेल यस्ता विषयमा दोस्रो स्तरका नेतालाई पनि थाहा नहुने बताउँछन्।

पछिल्लो समय कांग्रेससँग नमिलेमा विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको माओवादी नेताहरूको भनाइ छ। उनीहरूका अनुसार अहिले राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नहुने अडानमा प्रचण्ड छन्।

एमाले नेताहरू पनि पछिल्ला दिनमा माओवादीसँग छलफलमा जुटेका छन्। एमाले प्रवक्ता राजेन्द्र गौतम नेताहरू भेटघाट भइरहनु स्वाभाविक रहेको बताउँछन्। ‘अहिल्यैै गठबन्धन गर्ने छलफल भएको छैन। नेताहरूबीच भेटघाट हुनु अनौठो होइन,’ एमाले प्रवक्ता राजेन्द्र गौतम भन्छन्, ‘लेनदेनका विषयमा तत्काल कुरा हुँदैन।’

माओवादी र एमालेका दोस्रो तहका नेताहरूबीच पनि छलफल जारी छ। माओवादीबाट वर्षमान पुन, राम कार्की र एमालेबाट पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्टहरू लगातार छलफलमा रहेको नेताहरू बताउँछन्। एमाले र माओवादी एकताबारे केही दिनअघि वामपन्थी बहस कार्यक्रमसमेत भएको थियो। सैद्धान्तिक रूपमा एक देखिने दलहरू एकता हुनुपर्ने जोड वक्ताहरूको थियो।

दिनभर गालीगलौज, साँझमा भेटवार्ता

एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। अति व्यस्त भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बेलुका प्रचण्डलाई भेटेका थिए। प्रचण्ड र ओलीबीच भेटवार्ताका बारेमा खुलाइएको छैन। ओलीले दिउँसो मात्रै प्रचण्डविरुद्ध कडा अभिव्यक्ति ओलीले दिएका थिए। पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना गरेका थिए।

सरकारले कुनै काम नगरेको र निकम्मा बनेको आरोप ओलीको थियो। बेलुका तिनै प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसबारे एमालेका कार्यकर्ता पनि अन्योल रहेको बताउँछन्।

दिउँसो बैठकमा समेत ओलीले कडा निर्देशन दिएका थिए। उनले तत्काल कसैसँग गठबन्धन नगर्ने र सत्तामा पनि जाने सम्भावना नरहेको ब्रिफिङ गरेका थिए।

प्रकाशित: ९ फागुन २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =