विद्यालय कर्मचारी र ईसीडी शिक्षकका मुद्दा महत्त्वपूर्ण छन्,यसलाई सम्बोधन गर्नेमा सरकार सचेत छ : प्रधानमन्त्री

हिमाल प्रेस ७ फागुन २०८० १७:३१
15.5k
SHARES
विद्यालय कर्मचारी र ईसीडी शिक्षकका मुद्दा महत्त्वपूर्ण छन्,यसलाई सम्बोधन गर्नेमा सरकार सचेत छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयका कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरूको मुद्दा र विगतमा गरिएका सहमति कार्यान्वयनको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन्। समाजवादी शैक्षिक मञ्चले आज आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

उनले भने,‘विद्यालय कर्मचारी र बालशिक्षाका शिक्षकको मुद्दा पनि महत्त्वपूर्ण छ। यसलाई सम्बोधन गर्नेमा सरकार सचेत छ। शिक्षकसम्बद्ध सङ्गठनहरू र सरोकार पक्षसँग विगतमा विभिन्न चरणमा राज्यले गरेका सहमति र सम्झौताहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ।’ उनले संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन्। सो विधेयकलाई परिमार्जन गरी समृद्ध बनाइने उल्लेख गरे।

प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावका आधारमा विधेयक संशोधन हुने बताए। प्रधानमन्त्रीले भने,‘विधेयक संसदमा विचाराधीन रहेकाले शिक्षक, कर्मचारी, शैक्षिक क्षेत्रका ट्रेड युनियनहरू, शिक्षाविद्, विद्यार्थीसम्बद्ध संघसंघहरू, सरोकार पक्ष र अभिभावकका समेत सुझावहरू समेटेर यसमाथि आवश्यक संशोधन गर्न सरकार सचेत छ। यसबारे मैले गठबन्धनमा पनि कुरा गरेको छु। प्रतिपक्षसँग पनि कुरा भएको छ। छिट्टै हामी निष्कर्षमा पुग्छौँ।’

प्रधानमन्त्रीले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताए। उनले बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले शैक्षिक क्षेत्रमा गुणात्मक सुधार ल्याउन विश्वविद्यालयहरूमा दण्ड–पुरस्कार र मेरिटोक्रेसीमा जोड दिइएको बताए। प्रधानमन्त्रीले भने,‘मैले विश्वविद्यालयलगायत शैक्षिक संस्थाहरूमा ‘मेरिटोक्रेसी’का आधारमा नियुक्ति गर्ने, शैक्षिक क्षेत्रमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेको छु,त्यसको कार्यान्वयन पनि हुँदैछ। यसले राजनीतिक तथा शैक्षिक नेतृत्वप्रति आम नागरिक र विद्यार्थीको विश्वास पुनर्जागृत हुने मैले अपेक्षा गरेको छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =