वैदेशिक रोजगारीबाट फर्केर उत्कृष्ट उद्यम गरेका व्यक्ति पुरस्कृत हुने

हिमाल प्रेस ६ फागुन २०८० ११:१५
वैदेशिक रोजगारीबाट फर्केर उत्कृष्ट उद्यम गरेका व्यक्ति पुरस्कृत हुने

काठमाडौंँ- सरकारले वैदेशिक रोजगारीबाट फर्केर उत्कृष्ट उद्यम गर्नेहरुलाई सम्मान गर्ने भएको छ। सम्मान तथा पुरस्कारका लागि फागुन १५ गतेभित्र आवेदन दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ।

आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्र, श्रम स्वीकृति लिएको निस्सा, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पेस गर्नुपर्ने हुन्छ।

वर्किङ भिसामा विदेशमा कम्तीमा एक वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा भएको र विगत ६ वर्षभित्र श्रम मन्त्रालयबाट प्रदान गरिएको पुरस्कार प्राप्त नगरेको हुनुपर्ने मापदण्ड रहेकोे छ।

आवेदनमध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात, सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापनलगायतका आधारमा छनोट गरिने छ।

मन्त्रालयका अनुसार आवेदकमध्ये एक जना सर्वोत्कृष्ट उद्यमीले एक लाख ५० हजार रुपैयाँको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र अरू सात जनाले ७५ हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार पाउनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =