सुविधायुक्त भौतिक पूर्वाधारले सहरको जीवन सहज त बनाएको छ तर त्यही सहरले उकुसमुकुस बनाएको चाहिँ हामी पत्तै पाउँदैनौँ। भीडभाड र व्यस्तताले सहरका मानिसलाई उच्चाटलाग्दो र यान्त्रिक बनाएको छ। कृत्रिम जीवनशैलीमा एकाग्र भइरहँदा हामीले आफ्नोपनलाई मात्रै भुलेका छैनौँ नजिकै रहेका प्राकृतिक सौन्दर्यको आनन्द लिन पनि वञ्चित भइरहेका छौँ। त्यसैले त हामीले थोरै समय भए पनि प्रकृतिसँग लुकामारी खेल्दै अनुपम सौन्दर्यलाई नजिकबाट नियालेर फरकखाले जीवनको अनुभूति लिन ढिलाइ गर्नु हुँदैन।
काठमाडौँ उपत्यकामा बसोबास गर्नेहरूलाई नजिकै गएर मनोरञ्जन लिनका लागि सिन्धुपाल्चोकको उत्तरी क्षेत्र गजबको गन्तव्य बन्न सक्छ। ग्रामीण परिवेशमा पुगेर त्यहाँका रहनसहन अवलोकन गर्दा नेपाली जीवनशैलीलाई नजिकैबाट स्पर्श गर्न पाइन्छ। त्यसमा पनि नेपाल-चीनको उत्तरी नाका क्षेत्र जोकोहीका लागि पनि जानैपर्ने ठाउँ हो। धेरैलाई लाग्न सक्छ, नाका त व्यापारीहरूका लागि मात्रै हैन र? तातोपानी नाका व्यापारीहरूका लागि मात्रै नभई धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो।
हो, २०७२ सालको महाभूकम्प र बाढीपहिरोले केही समय उत्तरी नाका मुर्झाएको थियो। आवातजावत थिएन। आठ वर्षसम्म बन्दव्यापार ठप्प हुँदा धेरै व्यापारीले सास्ती पाए। तहसनहसको त्यो पीडाबाट नेपाल-चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाकाले पूर्वावस्थामा फर्कन लय समातेको छ। चालु वर्षको सुरुवातसँगै चीन सरकारले आयातनिर्यात र मान्छेको आउजाउमा देखाएको खुकुलोपनले तातोपानी नाकाप्रतिको आकर्षण बढेको हो।
केही साताअघि मात्रै तातोपानीबाट चीन हुँदै नेपाली उत्पादन चाउचाउ तेस्रो मुलुक जापान निर्यात भएको छ। तीन महिनायता व्यापारिक कारोबार बढेको छ । राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । तातोपानी भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा तीन अर्ब २७ करोड राजस्व संकलन भएकामा चालु वर्षको ६ महिनामै पाँच अर्ब ५८ करोड रुपैयाँ संकलन भएको छ। यो भनेको लक्ष्यको ६६ प्रतिशत हो।
भूकम्पको पाँच वर्षपछि २०७६ जेठमा तातोपानी खुले पनि भन्सार मूल्यांकन न्यून भएका फलफूल र मेसिनरी सामानमात्र आयात भएका थिए। पछिल्लो समयमा तयारी पोसाक, जुत्ता, चप्पल, ब्याग, कस्मेटिक सामान, गार्मेन्टका कच्चा सामग्री, स्टेसनरी सामान, किचनका सामग्री, मोबाइल तथा कम्प्युटर पार्ट्स, मखमल, विद्युत् आयोजनाका मेसिनलगायत व्यापारिक वस्तुको आयात भइरहेका छन्।
संघीय राजधानी काठमाडौँबाट नजिकको दुरी भएकाले यो नाका व्यवसायीको रोजाइमा छ। व्यवसायीका अनुसार यो नाकाबाट आयातनिर्यात गर्दा ढुवानी भाडा र समयको बचत हुन्छ।
२०७२ अघि तामाका भाँडा, हस्तकलाका सामान, मैदा, चाउचाउ, अण्डा, वनस्पति घिउ, जडिबुटीलगायत वस्तु निर्यात हुन्थ्यो। अहिले नेपालबाट पहिलेजस्तो सामान निर्यात भएका छैनन्। त्यति बेला एक सय ८२ प्रकारका नेपाली वस्तु चीन निर्यात हुने गरेको थियो। भन्सार विभागको तथ्यांकअनुसार ०७१/७२ मा झन्डै पौने तीन अर्बको सामान निर्यात भएको थियो।
भूकम्पपछि निर्यात खुलेको पहिलो दिन नेपालबाट बाँसको मुडा, कुर्सी म्याट्रेसलगायत करिब ३७ लाख बराबरको वस्तु निर्यात भएको थियो। भन्सार दिवसको अवसर पारेर तेस्रो मुलुक लैजाने गरी १२ लाख मूल्यको २५ सय कार्टुन चाउचाउ निर्यात भएको छ। यो निर्यातसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालमा चीनसँग गरेको पारवहन तथा यातायात सम्झौता आठ वर्षपछि कार्यान्वयनमा आएको छ।
भूकम्पपछि चीन सरकारले खासालाई अति संवेदनशील भन्दै मान्छे बस्न दिएको छैन। सुरक्षाकर्मी र अध्यागमनका अधिकारी मात्र बस्दै आएको खासामा अहिले सर्वसाधारणलाई फाट्टफुट्ट पसल राख्न दिइएको छ।
नाकामा भदौ १५ गतेदेखि मानिसको आवतजावत हुन थालेको छ। चीन क्षेत्रमा जान भने सिन्धुपाल्चोकवासीलाई मात्र अनुमति छ। कोदारी अध्यागमन कार्यालयका अनुसार दैनिक ५०-६० जनालाई एकदिने पास दिने गरिएको छ। चिनियाँ र केही अन्य देशका नगारिक पनि तातोपानी नाका भएर आउजाउ गर्न थालेका छन् । चिनियाँ धेरै र अन्य देशका न्यून संख्यामा आउने गरेको देखिन्छ। गत वैशाखसम्म कुनै पनि मुलुकका नागरिक मितेरी पुल पारी जान अनुमति थिएन।
जडिबुटी र हस्तकलाका सामान तिब्बतको मुख्य सहरमा पठाउनुपर्छ । त्यसका लागि निर्यातकर्ताले मागअनुसारको सामान तयार गर्न सक्नुपर्छ। मुख्यतया खासा, कुतीलगायतका स्थानीय बजारमा प्रयोग हुने सामान पठाउन सके पनि निर्यात बढ्न सक्छ।
नाका र पर्यटन
भूकम्पपछि निकै समयसम्म तातोपानी क्षेत्रमा पर्यटकको खडेरी लाग्यो। केही वर्ष आन्तरिक पर्यटकसमेत न्यून थिए। तातोपानीको बाटो प्रयोग गरेर भूकम्पअघि वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउजाउ गर्थे । तीमध्ये ४० हजारभन्दा बढी पर्यटक चिनियाँ हुन्थे।
तातोपानी धारामा नुहाउन आउने आन्तरिक पर्यटकको संख्या बढदै गएको भोटेकोशी गाउँपालिकाका निवर्तमान अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। उनका अनुसार ऐतिहासिक दुगुनागढीमा पनि पर्यटकको चहलपहल बढ्न थालेको छ। भैरवकुण्डसम्म जाने पदमार्गमा पनि मानिसको आवतजावत बाक्लिएको छ। आफ्नो कार्यकालमा पर्यटनमार्गका लागि भौतिक निर्माणमा खर्च गरिएका कारण पनि पैदलयात्रा थप सहज भएको पौडेल बताउँछन्।
मितेरी पुलमा उभिँदा एउटा कुराले चाहिँ मन खिन्न हुन्छ। त्यो के हो भने भोटेकोशीपारि तिब्बततर्फ निर्माण भएका पूर्वाधार अत्याधुनिक छन्। वारिपट्टि पूर्वाधारमा भर्खरै बामे सर्दैछ। नेपालका अधिकांश सरकारी कार्यालयका आफ्नो भवन छैन। अध्यागमन कार्यालय पनि भन्सारको पुरानो भवनबाट सञ्चालनमा आएको छ ।
बन्जी जम्पमा बढ्दै पर्यटक
एसियाकै ठूलो मानिने बन्जी जम्प यही क्षेत्रमा छ। लामो बिरासत बोकेको नयाँ पुलमा बन्जी गर्नेको भीड देख्दा तातोपानी नाकाले पुनर्जन्म पाएको अनुभूति हुन्छ। नयाँ पुलस्थित द लास्ट रिसोर्टमा विदेशी पर्यटकको संख्या विगतको तुलनामा निकै बढेको सञ्चालकको भनाइ छ।
विश्वमा साहसिक खेलका लागि नेपाल प्रसिद्ध छ। यसमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको भोटेकोशी बन्जी जम्प विश्वको साहसिक पर्यटन खेलमा अग्रणी मानिन्छ। बन्जी जम्प गर्ने पर्यटकको संख्या पनि बढेको छ।
भोटेकोशीमा न्युजिल्यान्डका डेविड एलडाइसले सन् १९९० मा बन्जी जम्पको पूर्वाधार निर्माण सुरु गरेका थिए। भोटेकोशीमा-याफ्टिङका प्रमुख गाइड डेविडले यस क्षेत्रमा नयाँ केही गर्ने योजनासहित बन्जीको सम्भावना अघि सारेको पर्यटन व्यवसायीहरू स्मरण गर्छन्। सन् १९९८ मा पहिलो बन्जी जम्प डेविडले नै गरेकमा थिए।
भोटेकोशीमा बन्जी जम्प सन् २००५ बाट व्यावसायिक रूपमा सञ्चालन भएको हो। सुरुमा बन्जीका लागि विदेशी पर्यटक आउने गरेका थिए। अहिले बन्जी जम्प गर्न आउने विदेशीको संख्या घटेको छ। सुरुमा छ महिना सञ्चालन, छ महिना बन्द हुने अवस्था थियो। भूकम्पले बन्जीलाई समस्यामा पारेको थियो। अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ। विगतमा हप्तामा सय भन्दा धेरैले बन्जी गर्दथे। अहिले सातामा शुक्रबार र शनिबार अलि धेरै बन्जी गर्ने मानिस यहाँ आउने गरेका छन्। शनिबार २० जनासम्मले बन्जी गर्दछन्। बिस्तारै संख्या बढ्दै गएको सञ्चालकको भनाइ छ। द लास्ट रिसोर्टको पछिल्लो तथ्यांकअनुसार करिब ७० प्रतिशत नेपाली पर्यटकले बन्जी जम्प गर्ने गरेका छन्।
तिब्बतको सिमानामा पर्ने यो ठाउँ विश्वकै उत्कृष्ट र अग्लो बन्जीमध्ये एक हो। अन्य देशमा यस प्रकारको बन्जीमा प्राकृतिक वातावरणको आनन्द पाइँदैन।
तातोपानी धारा
तातोपानी नाकासँगै रहेको तातोपानी धारामा पनि पर्यटकको आवतजावत बढ्न थालेको छ। ४४ डिग्रीको तापक्रममा अनवरत बगिरहेको तातोपानीमा नुहाउँदा धेरै रोग निको हुने विश्वासले पनि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। विशेष गरेर चैत र कात्तिकमा यहाँ नुहाउने आउनेको भीड लाग्छ।
नुहाउनका लागि आधुनिक पोखरी र धारा निर्माण गरिए पनि भूकम्पपछि भग्नावशेषमा परिणत भएको थियो। पछिल्लो समय पुनर्निर्माण गरेर सुविधा थपिएको भोटेकोशी गाउँपालिका-२ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए।
तातोपानी क्षेत्रमा लिस्तीमाई स्थान, पौ गुम्बा, आनी गुम्बा, भैरवकुण्ड, नारायणस्थान मन्दिर अन्य धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाका क्षेत्र हुन्। विश्वलाई चिनाउन सफल भएको तातोपानी क्षेत्रमा काठमाडौँबाट करिब चार घण्टाको बसयात्रामा पुगिन्छ।