विश्वकप क्रिकेट लिग : नामिबियासँग नेपाल पराजित

हिमाल प्रेस ३ फागुन २०८० १६:४२
8
SHARES
विश्वकप क्रिकेट लिग : नामिबियासँग नेपाल पराजित

काठमाडौँ-आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृंखलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितसँगै नामिबियाले दुई अंक जोडेको छ। जितका लागि नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३.१ ओभरमा छ विकेट गुमाउँदै पूरा गरेको थियो।

नामिबियाको जितमा जान फ्रिलिंकले सर्वाधिक ३४ रनको योगदान दिए। उनले ५३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे। त्यसैगरी जान निकोल लोफिट इटनले ३१ रन बनाए भने मिचेल भान लिङगेनले २३ रन बनाए। त्यस्तै निकोलास डाभिनले १५ रन जाडे।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन र ललित राजबंशीले दुई विकेट लिए। त्यस्तै कप्तान रोहितकुमार पौडेलले एक विकेट झारे। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय ३२ रनमा समेटिएको थियो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए। उनले ८६ बल खेल्ने क्रममा दुई चौका र एक छक्का पनि प्रहार गरे। त्यस्तै गुल्शन झाले २१ रन बनाए। उनले ३१ बल खेल्दै तीन चौका प्रहार गरे र ३८ बल खेलेका करण केसीले तीन चौकाको सहयोगमा १६ रन बनाए।

कप्तान रोहितकुमार पौडेल १३ बल खेल्दै एक रन मात्रै बनाउन सके भने कुशल मल्लले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा १५ रन बनाए। सोमपाल कामी दुई रनमा आउट हुँदा कुशल भुर्तेलले खाता खोल्न सकेनन्। त्यसैगरी पवन शर्राफले १२, अनिल शाहले आठ तथा आशिफ सेखले चार रन बनाए। नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका जजेरार्ड एरास्मसले पाँच विकेट लिए। ज्याक ब्रासेल र रुबेन ट्रम्पलम्यानले समान दुईदुई विकेट लिए।

अब नेपालले आफ्नो दोस्रो खेल शनिबार नेदरल्यान्डससँग खेल्नेछ।

प्रकाशित: ३ फागुन २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =