सामाजिक काममा नेपाली सेना

रमा केसी २ फागुन २०८० २०:२९
44
SHARES
सामाजिक काममा नेपाली सेना

सुर्खेत: कर्णालीमा नेपाली सेना सामाजिक काममा सक्रिय रूपमा लागेको छ। सेनाले विपद्मा उद्धार गर्नुका साथै अन्य विभिन्न सामाजिक कामहरू गरिरहेको उत्तरपश्चिम पृतनापति तथा उपरथी कृष्णदेव भट्टले बताए।

उनले कर्णाली प्रदेशमा नेपाली सेनाले गरेको सामाजिक कार्यहरूमा थप अघि सारेको बताएका छन्। उत्तर पश्चिम पृतना हेटक्वार्टरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सो अवसरमा पृतनाले आफूले हालसम्म गरेका कामहरू सार्वजनिक गरेको थियो।
पृतनाले कर्णालीका मुगु, कालीकोट, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, बर्दिया र बाँकेमा काम गरिरहेको छ।

भूकम्पमा नेपाली सेना

कात्तिक १७ गते गएको भूकम्पका क्रममा १ हजार १४ जना सेना परिचालन गरिएको थियो। पृतनाका अनुसार १५८ जना घाइतेको उद्धार गरिएको थियो। १०१ जनाको शव निकालिएको थियो। साथै ३३ जनाको हवाई उद्धारसमेत गरिएको पृतनाले जनाएको छ।

३८ सुत्केरीको हेलिकप्टरबाट उद्धार

नेपाली सेनाले कर्णालीमा चालु आर्थिक वर्षमा ३८ जना सुत्केरीको हेलिकप्टरबाट उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाहरूलाई हेलिकप्टरबाट उद्धार गरेको हो।

हेलिकप्टरबाट नेपाली सेनाले अहिलेसम्म ३०५ जना सुत्केरी महिलाको उद्धार भएको महासेनानी सुवास खड्काले कार्यप्रगति विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्ष कर्णालीका ५ र सुदूरपश्चिमका ४ जिल्लाका ३८ जना सुत्केरीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिए, जसमा कर्णालीका २२ र सुदूरपश्चिमका १३ जना छन्।
कर्णालीको डोल्पाबाट ११, हुम्ला २, कालीकोट ४, जाजरकोट ३, रुकुमपश्चिमका २ जना छन्। सुदूपश्चिमको बझाङ १, डोटी १, बाजुरा ९ र अछामका २ सुत्केरीलाई हवाई उद्धार गरिएको हो।

यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म आगलागी नियन्त्रणका लागि १९४ जना सेना परिचालन गरिएको थियो। सुर्खेत २, जुम्ला ३, हुम्ला २, मुगु २, बाँके १० र बर्दिया २ गरी ६ जिल्लाको २१ ठाउँमा भएको आगलागी नियन्त्रण गरेको छ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सर्पदंशबाट बाँकेमा ४८ र बर्दियामा २३ गरी ७१ जनाको उद्धार गरिएको जनाएको छ।
नेपाली सेनाले आर्थिक वर्ष २०७९/०८० मा कर्णालीको ५ जिल्लामा हेलिप्याडको स्थापना गरी स्थानीय सरकारलाई हस्तान्तरण समेत गरेको छ। यात्रु सहजताको लागि सुर्खेतको कटकुवामा यात्रु प्रतीक्षालय र सुर्खेतको हर्रेमा शौचालयसमेत निर्माण गरेको छ।

सुर्खेतमा ‘रन फर युनिटी’ प्रतियोगिता हुँदै

वीरेन्द्रनगरमा फागुन १२ गते एकताका लागि ‘रन फर युनिटी’ प्रतियोगिता हुँदैछ। कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवद्र्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि प्रतियोगिता आयोजना हुन लागेको नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतले जनाएको छ।

खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमको रूपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाको भनाइ छ।

करिब एक हजार जनाको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रासमेत समावेश गरिएको छ, जसमा ५ किलोमिटर पैदल यात्रा, ५ किलोमिटर पुरुष/महिला दौड र १० किलोमिटर पुरुष/महिला दौड र पुरुष खुल्लामा २१ किलोमिटरको दौड रहेका छन्।

प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न संघसंस्थाले भाग लिन पाउने छन्।

प्रतियोगिताका विजेताहरूलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिनेछ। यस्तै उक्त दिन सेनाले युद्ध कौशल, हात हतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरूको प्रर्दशनीसमेत गर्ने भएको छ। कार्यक्रम वीरेन्द्रनगर खुलामञ्चमा हुने भएको छ।

प्रकाशित: २ फागुन २०८० २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =