रवि लामिछाने र जीबी राईविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले थाल्यो छानबिन

हिमाल प्रेस २ फागुन २०८० १८:३९
22
SHARES
रवि लामिछाने र जीबी राईविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले थाल्यो छानबिन

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र ग्लोक्सी फोर के टेलिभिजन तथा विभिन्न सहकारीका सञ्चालक गितेन्द्रबाबु (जीबी)  राईमाथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन सुरु गरेको छ।

विभागले उनीहरूको सम्पत्तिमाथि छानबिन सुरु गर्दै राष्ट्र बैंक तथा अन्य बैंकहरूलाई पत्राचार गरेर उनीहरूको कारोबारको विवरण उपलब्ध गराउन भनेको हो।  गत माघ ८ गते विभागले रवि-जीबीको नाम उल्लेख गर्दै उनीहरूका बैंकिङ विवरणहरू उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेको थियो। विभागबाट प्रारम्भिक जाँचबुझ अधिकृत भनेर हस्ताक्षर भएको पत्र बैंकहरूमा पठाइएको छ।

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबीआई बैंक, एभरेष्ट बैंकको प्रधान कार्यालयलाई पत्राचार गर्दै उनीहरूको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ। त्यसैगरी एनआईसी एसिया, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, कृषि विकास बैंक, ग्लोबल, सिटिजन्स, प्राइम, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका मुख्य कार्यालयहरूलाई उत्राचार गर्दै उनीहरूको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।

पछिल्लो समयमा रविसहित विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत सहकारी ठगीको विषयमा उजुरी परेको छ। रवि-जीबी जोडिएको सहकारीको फाइलसमेत अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरिरहेको छ। सहकारी ठगीमा जोडिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागिसमेत पत्राचार भएको छ।

जीबीविरुद्ध कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोप छ। यो मुद्दा अहिले कास्की अदालतमा विचाराधीन छ। रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाइएको छ।

गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा समेत कर्जा लिएर ठगी गरेको आरोप लागेको छ। गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत् नै ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आएको थियो। त्यसका अध्यक्ष जीबी राई थिए भने ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक रवि थिए। पछि राजीनामा दिएर रवि राजनीतिमा लागेका थिए। योबाहेक उनीहरूविरुद्ध विभिन्न सहकारीबाट बचतकर्ता ठगेको आरोप छ।

प्रकाशित: २ फागुन २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fifteen =