गण्डकी बोर्डिङमा शिक्षकको जन्मदिनमा विद्यार्थीको ‘ग्याङफाइट’

विजय नेपाल २ फागुन २०८० १६:३०
3.5k
SHARES
गण्डकी बोर्डिङमा शिक्षकको जन्मदिनमा विद्यार्थीको ‘ग्याङफाइट’

पोखरा- गण्डकी बोर्डिङ स्कुल कक्षा १२ मा पढाउने एक शिक्षकको जन्मदिन मनाउन विद्यार्थीले गरेको ‘ग्याङफाइट प्रेङ्क’ लोकप्रिय बनेको छ। गत शुक्रबार उक्त फाइट छुटाउन गएका कक्षाशिक्षक सुजन लम्सालले पाएको ‘ह्याप्पी बर्थ डे सेलिब्रेसन’ गज्जबको छ।

सामाजिक संजाल इन्स्ट्राग्राममा ४ दिनअघि पोस्ट भएको यो भिडियो लाखौंले हेरिसकेका छन्। बर्थ डे मनाउन विद्यार्थीको रचनात्मक शैलीको प्रशंसा गर्दै भारतीय मिडियाले समेत कभर गरेका छन्।

भिडियोमा विद्यार्थीबीच लडाइँ भएको सूचनापछि कक्षाशिक्षक दगुर्दै जब कक्षाकोठा प्रवेश गर्छन्, उनले विद्यार्थी एक समूहमा घोप्टो परेर हुलहुज्जत गरेको देख्छन्। छुट्याउन कोशिस गर्छन्। केही विद्यार्थी तान्दै गर्दा एक विद्यार्थीले ‘ह्याप्पी बर्थ डे’ भन्दै आदरभावमा फूलको बुकी टक्राउँछन्।

शिक्षक आश्चर्यचकित हुन्छन्। केही कदम पछाडि हट्छन्। पुनः विद्यार्थीलाई अँगालोमा बेरेर खुसीका आँसुसँगै नाच्छन्। र, बर्थ डे सेलिब्रेसन गर्छन्।

गत २७ माघदेखि ३८ वर्ष लागेका सुजन लम्साल कास्कीको घाचोकका हुन्। उनले गण्डकी बोर्डिङमा भौतिकशास्त्र पढाउन थालेको करिब १३ वर्ष भयो। विद्यार्थीका प्यारा उनी कक्षा १२ सेक्सन ‘डि’ का कक्षाशिक्षक पनि हुन्। उनको पढाउने शैलीको यसअघि पनि चर्चा हुन्थ्यो।

कक्षा १२ को पढाइ सकिएर विद्यालयबाटै बिदाइ हुन अब विद्यार्थीको पनि केही महिनामात्र बाँकी छ। आफ्ना प्यारा शिक्षकको जन्मदिन यादगार बनाउन उनीहरूले नयाँ शैली अपनाएको बताए।

कार्यक्रमको संयोजन गरेकामध्ये एक विद्यार्थी समन गुरुङले आफूहरू सबैजनालाई सुजन सरले ख्याल गर्ने बताए। जन्मदिन यादगार बनाउन नयाँ कन्सेप्ट रचिएको उनले बताए।

समनले भने, ‘सुजन सरको जन्मदिन शनिबार (२७ माघ) हो भन्ने हामीलाई थाहा थियो। उक्त दिन बिदा परेकाले अघिल्लो दिन शुक्रबारै विद्यालयमा सरप्राइज सेलिब्रेसन गरिएको हो। यो आइडिया हामीहरूले मिलेर गरेका हौं।’

विद्यार्थीले आफ्नो जन्मदिनमा सरप्राइज दिएकोमा आफू भावुक बनेको सुजनले प्रतिक्रिया दिए। आफूले जहिले पनि विद्यार्थीलाई सम्मान गर्ने र उस्तै आभारभाव पाउँदै आएको बताए। शुक्रबारको उक्त क्षण आफूले कहिले पनि नभुल्ने उनले जनाए।

गण्डकी बोर्डिङ प्लस टुतर्फ विज्ञान संकायको मात्र पढाइ हुने गरेकोमा कक्षा १२ मै ४ वटा सेक्सन छन्। सेक्सन ‘डि’ मा ३७ जना विद्यार्थी छन्। शिक्षक सुजन होस्टेलका असिस्टेन्ट सुपरभाइजर पनि हुन्। विभिन्न संघसंस्थामा आबद्ध उनी विज्ञान शिक्षक समाज नेपाल गण्डकी सचिव हुन्।

विज्ञान शिक्षक समाज नेपाल गण्डकीका अध्यक्ष एवं होस्टेल सुपरभाइजर राजकुमार ढकाल भन्छन्, ‘उहाँ (सुजन) भर्साटाइल शिक्षक हो। इन्नोभेटिभ आइडिया दिनुहुन्छ। अनुशासनको मामिलामा कडा पनि हुनुहुन्छ। शिक्षकलाई सजाय नदिइकन सेटल गर्न सक्ने खुबी उहाँसँग निहित छ र विद्यार्थीमाझ लोकप्रिय हुनुहुन्छ।’

प्रिन्सिपल वीरेन्द्र खड्काले विद्यार्थीलाई आपूmहरूले पाठ्यक्रम अलावा अतिरिक्त क्रियाकलापमा जहिल्यै पनि जोड दिँदै आएको बताए। बर्थ डेमा पनि नयाँ क्रियसन देखाएर सेलिब्रेसन गरेको भिडियो लोकप्रिय बनेको थाहा पाएपछि दंग परेको बताए।

गण्डकी सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित गण्डकी बोर्डिङ नेपालमै गुणात्मक शिक्षा प्रदान गर्ने उत्कृष्ट विद्यालयमा पर्छ। ५८ वर्षअघि स्थापना भएको यो विद्यालयमा हाल कक्षा ४ देखि १२ सम्म करिब १२ सय विद्यार्थी पढ्छन्।

राष्ट्रिय स्कुलकै मान्यता पाएको गण्डकीका राजेन्द्र गुरुङ २०४४ सालको एसएलसीमा बोर्ड फस्ट भएका थिए। त्यसबेला राजधानी काठमाडौंबाहिरबाट बोर्ड फस्ट ल्याउने गण्डकी पहिलो थियो। २०६० मा पनि यहाँका ४ विद्यार्थी बोर्ड दोस्रोसहित उत्कृष्ट १० भित्र परेका थिए।

 

View this post on Instagram

 

A post shared by 12DRams (@class12drams)

प्रकाशित: २ फागुन २०८० १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =