वरदान सैनिक विशेष दिवा विद्यालय उद्‌घाटन

हिमाल प्रेस २ फागुन २०८० १५:०४
296
SHARES
वरदान सैनिक विशेष दिवा विद्यालय उद्‌घाटन

काठमाडौँ – नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्‍त सैनिकका विशेष क्षमता भएका सन्ततीहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले निर्माण गरिएको वरदान सैनिक विशेष दिवा विद्यालयको बुधबार उदघाटन भएको छ। प्रधान सेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले उक्त विद्यालयको उदघाटन गरेका हुन्।

सैनिक श्रीमती संघको पहलतामा सैनिक कल्याणकारी कोषको लगानीमा छाउनीमा निर्मित उक्त विद्यालयको गत वर्षको मङ्सीर १४ मा प्रधान सेनापति र संघकी अध्यक्षले शिलान्यास गरेका थिए। सैनिक श्रीमती संघको संरक्षकत्वमा संचालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष एवं फरक क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिने नेपाली सेनाले जानकारी दिएको छ।

उदघाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधान सेनापतिले परोपकारका क्षेत्रमा क्रियाशील सैनिक श्रीमती संघको पहलतामा निर्मित यस विद्यालय बहालवाला र अवकाश प्राप्‍त सैनिक व्यक्तिहरूका विशेष क्षमता भएका सन्ततीहरूको शिक्षा र जीवनोपयोगी क्षमता विकाशमा महत्त्वपूर्ण सावित हुने बताए। उनले श्रीमती संघका सेवामूलक गतिविधिहरूको सराहना गर्दै यस विद्यालय संचालनका लागि सहायता जुटाउन आयोजित वरदान सुर सन्ध्यामा सहयोग पुर्‍याउने कलाकारहरू लगायत सम्वध्द सबैलाई धन्यवाद दिए।

संघका अध्यक्ष सुनिताले २०४० कार्तिक २२ मा स्थापित सैनिक श्रीमती संघ सैनिक व्यक्तिहरूका परिवारको कल्याण सँगसँगै विपद प्रभावित र अभावमा रहेका सर्वसाधारणको हितका क्षेत्रमा समेत क्रियाशील रहेको बताइन्।

कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल उपस्थित थियो। यस्तै नेपाली सेना कल्याणकारी वोर्डका प्रमुख कार्यकारी अधिकृत अवकास प्राप्त रथी गौरव तण्डुल, रथीबृन्द तथा अधिकृतलगायत सैनिक श्रीमती संघका वर्तमान र पूर्व पदाधिकारीहरू, कलाकारहरू, विभिन्‍न सैनिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूका साथै सकल दर्जाको उपस्थिति थियो।

प्रकाशित: २ फागुन २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =