त्रिवि उपकुलपतिको सर्टलिस्टमा रहेका प्रा.डा. धमला भन्छन् : छनोट प्रक्रिया बलियो छैन [भिडिओसहित]

हिमाल प्रेस १ फागुन २०८० १२:४४
4.7k
SHARES
त्रिवि उपकुलपतिको सर्टलिस्टमा रहेका प्रा.डा. धमला भन्छन् : छनोट प्रक्रिया बलियो छैन [भिडिओसहित]

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका दाबेदार प्रा.डा.टंकनाथ धमलाले उपकुलपति छनोट प्रक्रिया पूर्ण र बलियो नरहेको बताएका छन्। हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एड्टक’ मा कुराकानी गर्दै धमलाले भने, ‘जेजे प्रक्रिया छन् त्यो बलियो छैन। बलियो चाहिन्थ्यो। बलियो प्रक्रिया भएको भए जोसुकैले चाहना राख्दैनथ्यो, सक्दैनथ्यो पनि। बलियो प्रक्रिया भएमा हामीलाई अझ बलियो बनाउने थियो।’

बलियो प्रक्रियाबाट प्रवेश गरेका व्यक्तिले काम पनि राम्रो र बलियो गर्न सक्ने उनको भनाइ छ। उनले अब हुने नियुक्ति प्रक्रिया बलियो हुनुपर्ने उनले बताए। धमला उपकुलपतिका ४३ जना दाबेदारहरूमध्ये १४ जनाको सर्टलिस्टमा परेका छन्। उनले आफूलाई कुनै पनि राजनीतिक पार्टीको सहयोग नभएको र आफू राजनीतिक दलमा आबद्ध नभएको दाबी गरे। उनले भने, ‘उपकुलपतिका लागि मलाई कुनै पनि राजनीतिक पार्टीको सहयोग छैन। राजनीतिक आँखाले कक्षामा प्रवेश गर्नुहुन्न।’

आफू उपकुलपति भए त्रिविमा शैक्षिक गुणस्तर उकास्ने दाबी गर्दै उनले विश्वविद्यालयमा अनुसन्धानको संरचना बनाउनुपर्ने बताए। त्रिविमा अनुसन्धान कम राजनीति बढी भएको उनको बुझाइ छ। धमलाले भने, ‘विश्वविद्यालय विशुद्ध प्राज्ञिक बनाउनुपर्छ। उच्चस्तरको पढाइ, उच्चस्तरको अनुसन्धान हुनुपर्छ। यसले मात्रै नेपाललाई समृद्ध बनाउन सक्छ।’

विश्वविद्यालय ज्ञानविज्ञानको साझा मन्दिर भएको बताउँदै धमलाले त्यहाँ सबैले अवसर पाउनुपर्ने पनि कार्यक्रममा बताए। उनले आफू उपकुलपति भएपछि गर्ने केही योजना पनि सुनाएका छन्। ‘लामो समयदेखि विश्वविद्यालय शैक्षिकभन्दा राजनीतिक दिशातर्फ गएको छ। अलमलिएजस्तो छ। वैज्ञानिक मान्यता पाउन नसकेकोजस्तो भएको छ। यसलाई करेक्सन गर्नुपर्छ’, धमलाले भने।

उनले उपकुलपतिजस्तै त्रिविका अन्य एकाइमा पनि खुलाप्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने बताउँदै अन्यथा नयाँ उपकुलपतिले पनि काम गर्न नसक्ने तर्क गरे।  ‘म  विश्वविद्यालयको साझा अभिभावक बन्छु। म त्यो मन्दिरको पूजारी बन्दैछु भन्ने कुरा मैले बुझेको छु,’ धमलाले भने, ‘हामी विशुद्ध शैक्षिक गतिविधिमा जान्छौँ। पढ्नु, पढाउनु र असुन्धान गर्नु बाहेक उद्देश्य केही पनि छैन भन्ने वातावरण बनाउँछु।’

उनले विश्वविद्यालयका सबै एकाइमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्नेमा जोड दिए। त्यसो भएन भने नयाँ उपकुलपतिले पनि काम गर्न नसक्ने उनको बुझाइ छ। ‘विश्वविद्यालय भनेकै खुला प्रतिस्पर्धा गरेर आउने थलो हो,’ उनले भने।

 

प्रकाशित: १ फागुन २०८० १२:४४

प्रतिक्रिया

One thought on “त्रिवि उपकुलपतिको सर्टलिस्टमा रहेका प्रा.डा. धमला भन्छन् : छनोट प्रक्रिया बलियो छैन [भिडिओसहित]

  1. Very admirable thought. Really our university is captured by politicts which is leading this institution to the area that is not its destination.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =