पाखो जमिन कागती बगैँचा बनेपछि…

हिमाल प्रेस २९ माघ २०८० १८:५६
22
SHARES
पाखो जमिन कागती बगैँचा बनेपछि…

बागलुङ- भीरालो पाखो जमिन। चारैतिर झाडीले घेरिएको। जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन्। पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट ६ लाख कमाइ गर्‍यो।

बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट–११ रिघाका ३५ वर्षीय दानबहादुर श्रीषले चार वर्षअघि लगाएका एक हजार दुई सय बिरुवाबाट पहिलो पटक उत्पादित  कागती काठमाडौँ र पोखरा निर्यात भइसकेको छ।

श्रीसले कागतीखेती गर्ने उदेश्यले उक्त जग्गा खरिद गरेका थिए। झाडीले घेरिएको त्यही बाँझो जग्गामा अहिले लटरम्म कागती फलेका छन्। गाउँको बाँझो रहेको जमिन खरिद गरेर २०७६ साउनमा कागतीका बिरुवा लगाएका श्रीषले पहिलो पटक ६ लाखको कागती बिक्री गरेको बताए।

बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी ३६ रोपनी जग्गामा व्यावसायिक कागतीखेती गरेका छन्। ‘कागतीको सम्भावना देखेपछि ३६ रोपनी जग्गामा कागतीखेती थालेको २०७६ सालमा हो, पाँच वर्ष पूरा हुँदा कागती फल्यो,’ उनले भने, ‘पहिलो वर्ष नै छ हजार किलो कागती उत्पादन भएको थियो, थोक मूल्य एक सय प्रतिकिलोका दरले कागती बिक्री गरेँ।’

जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिदसँगै हालसम्म ३० लाख लगानी गरिसकेको श्रीषले बताए। तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषिउद्यम गर्ने सोचमा पुगेपछि श्रीष कृषि तथा पशु फर्म दर्ता गरेर कागतीखेतीमा आकर्षित भएका हुन्। गलकोटसहित छिमेकी बजारको कागती आयात प्रतिस्थापन गर्नका लागि कागतीखेतीमा लागेको उनको भनाइ छ।

बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागतीखेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोप्नुभएको श्रीषको कागती बगैँचा अहिले हराभरा भएको छ। हजुरबाबा भीमबहादुर श्रीषको प्रेरणाले स्वदेशमै केही गर्ने सोच पलाएको यूवा कृषक श्रीष बताए।

नगरपालिकामा व्यावसायिकरूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरपालिकाले कागतीका बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट-११ का वडाध्यक्ष डम्बरबहादुर श्रीषले बताए। समुद्री सतहबाट एक हजार तीन सय मिटरसम्म कागतीखेतीको राम्रो सम्भावना भएका कारण नगरपालिकाले कागतीखेतीमा अनुदान दिँदै आएको उनको भनाइ छ।

गलकोटमा पछिल्लो समय कागतीखेती फस्टाउन थालेको छ। गलकोटका एक दर्जनभन्दा बढी किसान अहिले कागतीखेतीमा आकर्षित भएका हुन्। रासस

प्रकाशित: २९ माघ २०८० १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =