सुनसरीमा १ करोड ८२ लाख नक्कली नोट बरामद

हिमाल प्रेस २९ माघ २०८० ८:४८
26
SHARES
सुनसरीमा १ करोड ८२ लाख नक्कली नोट बरामद

इटहरी- सुनसरीमा १ करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाली एक हजार दरका नक्कली नोटहरू बरामद भएसँगै एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले पुष्टि गरे।

उनका अनुसार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सुरुमा बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो।

शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरू बरामद भएको रेग्मीले बताए।

प्रहरीले स्कोरपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेको छ। स्कोरपियोमै सवार रहेका अर्का व्यक्ति फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

रेग्मीका अनुसार बरामद भएको रकम, स्कोरपियो र चालकलाई नियन्त्रणमा लिएर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित: २९ माघ २०८० ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =