सहरी श्रमिकका पक्षमा अभियन्ता ‘ई’ले थाले लुम्बिनी-सिंहदरबार पदयात्रा

विनोद परियार २८ माघ २०८० १७:५०
40
SHARES
सहरी श्रमिकका पक्षमा अभियन्ता ‘ई’ले थाले लुम्बिनी-सिंहदरबार पदयात्रा लुम्बिनीबाट सिंहदरबारतर्फ पैदलयात्रामा निस्किएका भियन्ता ईशान अधिकारी (ई)। तस्बिर : हिमाल प्रेस

लुम्बिनी– ‘इनफ इज इनफ’ का अभियन्ता ईशान अधिकारी (ई:) ले विभिन्न माग राख्दै आइतबारदेखि लुम्बिनी–सिंहदरबार पदयात्रा सुरु गरेका छन्। सडक व्यापारी र सहरी गरिबीको लोकरिझ्याइँबाट निर्देशित भएर स्थानीय पालिकाले लिएको नितिको विरोधमा ईःले बुद्धजन्मस्थल लुम्बिनीबाट सिंहरदरबारसम्म दबाबमूलक पदयात्रा सुरु गरेका हुन् ।

संविधानमा समाजवाद उन्मुख लेखिएको भए पनि देशभरका पालिकाले सडक व्यापारी, अनौपचारिक क्षेत्रको व्यवस्थापनका नाममा गरिबलाई बिना विकल्प विस्थापन गरिएकाले त्यसो नगर्न माग गर्दै ईः ले करिब २८५ किमि पैदलयात्रा थालेका छन्।

ईःसँगै अर्का अभियन्ता चाउ पदयात्रामा निस्केका छन्। बुद्धले २९ वर्षको उमेरमा पैदल हिँडेर करुणा र शान्तिको सन्देश दिएको स्मरण गर्दै आफूले बुद्धजन्मस्थल लुम्बिनीबाट करुणा र सहानुभूतिको सन्देश बोकेर सिंहदरबार पुग्ने  ईःले बताए।

देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरिबलाई बिना अध्ययन र विकल्प विस्थापन नगरी कानुन र संविधानको मर्म बस्न निर्देशन दिनुपर्ने माग उनीहरूको छ। ई:ले सहरी गरिबको संरक्षणका लागि सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन गर्न संघीय सरकारको ध्यानाकर्षण गराइएको बताए। उनले पालिकाहरूलाई बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्धनका लागि तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिन पैदलयात्राले दबाब दिने बताए।

यात्रामार्फत मिटर ब्याजविरुद्धको न्याय मार्चप्रति ऐक्यबद्धता पनि जनाउने कार्यक्रम छ। पहिलो दिन लुम्बिनी मायादेवीबाट रूपन्देहीको तिलोत्तमासम्म पुगेर विश्राम गर्ने कार्यतालिका बनेको छ। दोस्रो दिन पश्चिम नवलपरासीको सुनवल, तेस्रो दिन दुम्कीबास, चौथो दिन दलदले पुग्नेगरी रुट बनाइएको छ।

पाँचौँ दिन चितवनको रामनगर हुँदै कुरिनटार, धादिङको गजुरी, नौबिसे र नवौँ दिन फागुन ७ गते सिंहदरबार पुग्ने अभियन्ता ईःले जानकारी दिए। अभियन्ताहरूलाई लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्त्व अधिकृत हिमालकुमार उप्रेतीले खादा ओढाएर बिदाइ गरेका थिए।

इनफ इज इनफका अभियन्ता ईः ले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले सडक व्यापारीलाई बिनाविकल्प हटाएको भन्दै आन्दोलनसमेत सुरु गरेका थिए। यस्तै उनले बेलाबेलामा सरकार र सरोकारवालालाई दबाब दिन आमरण अनशन र अन्य रचनात्मक आन्दोलनका कार्यक्रम गर्ने गरेका छन्। लुम्बिनी सिंहदरबार पैदलयात्रामा आफ्नो मुद्दामा चिन्तित व्यक्ति र समूहलाई यात्रामा अनुकूलताका आधारमा सहभागी हुन समेत ईः को आग्रह छ।

प्रकाशित: २८ माघ २०८० १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =