त्रिमूर्ति पुरस्कारबाट तीन स्रष्टा पुरस्कृत

हिमाल प्रेस २७ माघ २०८० १८:२०
16
SHARES
त्रिमूर्ति पुरस्कारबाट तीन स्रष्टा पुरस्कृत

काठमाडौँ- त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’, ‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ।

१७औँ त्रिमूर्ति दिवस तथा नाट्यसम्राट बालकृष्ण समको १२२औँ जयन्तीका अवसरमा निकेतनले नेपाली भाषा साहित्यमा समर्पित भई शास्त्रीय छन्द कविताको माध्यमबाट छन्दकाव्य प्रसार, नाट्यक्षेत्रमा समर्पित भई मुलुकमा नाटकको महिमा र गरिमालाई उत्कृष्टतामा पुर्‍याएको र काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविता विकासमा विशिष्ट योगदान पुर्‍याउने तीन स्रष्टालाई ताम्रपत्र, जनही एक लाख रुपैयाँ नगद राशीसहित पुरस्कृत गरेको हो।

छ दशकदेखि नेपाली भाषासाहित्यको योगदानमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पुर्‍याएका प्रा.मुकुन्दशरण उपाध्यायलाई लेखनाथ काव्य पुरस्कार२०७९ प्रदान गरिएको छ।

मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हासिल गरेका हरिबहादुर थापालाई बालकृष्ण सम पुरस्कार, २०७९ प्रदान गरिएको छ।

त्यसैगरी नेपाली भाषासाहित्यको विकासमा छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याएका जयप्रसाद पाण्डेलाई देवकोटा काव्य पुरस्कार, २०७९ प्रदान गरिएको छ।

निकेतनका संस्थापक तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईंले तीन मूर्ति बनाउन ठूलो बाधाव्यबधान भएपनि हाल कोष स्थापना भई संस्था सुदृढ अवस्थामा रहेको बताए। त्रिमुर्तिका पुरस्कार राशि सुरुमा १०/१० हजार रहेपनि अहिले एक लाख बनाइएको उनले बताए।

प्रकाशित: २७ माघ २०८० १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =