शिक्षा,निजामती सेवा,प्रहरीलगायतका ऐन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

हिमाल प्रेस २७ माघ २०८० १८:०१
978
SHARES
शिक्षा,निजामती सेवा,प्रहरीलगायतका ऐन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनुपर्ने बताएका छन्।

राष्ट्रिय सोनाम ल्होछारका अवसरमा आज टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए।

‘पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूस्, यसको वरिपरि गोलबन्द हुनूस्’, प्रधानमन्त्रीले भने, ‘फेरि हामी शक्तिशाली हुनेछौँ,आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन्।’

उनले अहिले संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको पनि स्पष्ट पारे। उनले भने, ‘संघीयताको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखिएको छ,संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐनलगायत ऐन पारित गर्न उच्च महत्त्व दिएको छु। प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्न दशौँ हजार योद्धाले बलिदान गरेका स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने, ‘क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशिला खडा हुन सक्छ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ।’

प्रकाशित: २७ माघ २०८० १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =