नियात्रा

आनन्दवनको आनन्द

राजाराम बर्तौला २७ माघ २०८० १५:२२
38
SHARES
आनन्दवनको आनन्द

नियमितजस्तै भइसक्यो सप्ताहन्तको पदयात्रा। घुमन्तेजस्तै घुम्नमा रमाउनु नित्यानन्द भएको छ। कसैलाई प्रतिदिन प्रभात या सन्ध्याकालीन हिँडाइ विशेष आनन्ददायक हुन्छ भने कसैलाई सप्ताहन्तको लामो दिनभरिको पदयात्रा। प्रत्येक पदयात्रीको पदयात्राको प्रयोजन फरकफरक हुन्। तर जो एकान्तपनमा रमाउँछ वा प्रकृतिसँगको एकान्तवासमा सिर्जनाको नयाँ स्फुरण भएको अनुभूति गर्दछ ऊ पनि व्यस्त जीवनबाट केही समयका लागि अवकाश लिएर भए पनि प्रकृतिले दिएको निःशुल्क सौन्दर्यपानको लाभ उठाउँछ। सहरिया व्यस्त जीवनका लागि त झनै नजिकको प्राकृतिक रमणीयतामा घुमेर सन्तुष्टि लिनु आफैँलाई सिर्जजनशील, ऊर्जावान् र क्रियाशील बनाउनु हो।

काठमाडौँलाई देशको बाहिरी गाउँसँग जोड्ने सांस्कृतिक तथा परिवेशयुक्त प्राकृतिक रमणीयता सहरको विस्तारसँगै बिस्तारै हराउँदै गएको छ। काठमाडौँ खाल्डोभित्र सांसारिक मायाजालको अपूर्व चमकधमक देखिन्छ। मानवीय सम्बन्ध, सामाजिक सहअस्तित्व र सहकार्य नितान्त वैयक्तिक र निजत्वको घेराभित्र उन्मुक्त रमाउँछ काठमाडौँ। उसको एउटै ध्येय छ व्यक्तिगत सफलता, समृद्धि र प्राप्ति। काठमाडौँमात्र किन त्यसैमा अभिसप्त हुन्छ संसारभरिका सहरहरू एउटै चरित्र बोकेका।

तर काँठ फरक छ चारित्रिक विशेषता र सांस्कृतिक धरोहरमा पनि। काँठ आफूलाई सहरभन्दा विशिष्ट ठान्छ। हुन पनि अतिआधुनिकता (अल्ट्रामोडर्निटी) र आधुनिकताको सेतु बनेर बसेको हुन्छ काँठ। सहरलाई बाँकी ग्रामीण परिवेशसँगको अन्तरसम्बन्धलाई परिभाषित गर्ने पनि काँठ नै हो। काँठको संस्कृतमा झर्रोवादमा आधुनिकता मिसिएर टर्रोवादमा रूपान्तरण भएको समेत देख्न पाइन्छ। परम्परा र आधुनिकतासँगको सम्मिश्रणलाई साक्षात्कार गर्ने हो भने काँठको भ्रमण गर्नुपर्छ।

उपत्यकाबाहिरका सबै पहाडको डाँडा, खोँच चहारेर हिँड्दा पनि काँठको परिवेशलाई राम्रोसँग ठम्याउन सकिएको थिएन। त्यसैले काँठको गाउँ हिँड्ने योजना बनेबमोजिम चापागाउँ हुँदै लेले जाने र लेलेबाट गणेशवन, महतवन हुँदै शान्तिवन निस्केर पदयात्रा सम्पन्न गर्न भनेर ‘हाइक फर नेपाल’ को टोली हिँड्यो।

सातदोबाटोबाट बसमा चढेका हामी चापागाउँको ग्यास स्टेसनमा ओर्लेर गाउँ नै गाउँ दक्षिण लाग्यौँ। ग्रामीण चरित्रको महक अझै कायम छ चापागाउँमा। आधुनिकता र अतिआधुनिकता पनि सहवास गर्दैछन्। जबसम्म पेसागत भिन्नताले छोप्दैन पुरानो अवस्थाको मौलिकतामा तात्त्विक अन्तर पर्न निकै कठिन हुने रहेछ। ग्रामीण समाज भनेको कृषिप्रधान हो। कृषिप्रधान समाजको चरित्र त्यसभित्रको अन्तर्भूत सांस्कृतिक वैभव र त्यसले सिर्जना गरेको मौलिकता हो। त्यसको मात्रात्मक फरक परेको होला यद्यपि गाउँको दृश्यावलोकन गर्दै कुलोको डिलैडिल हिँड्दा वा गाउँको गोरेटो भएर पदयात्रा गर्दा फरकपनाको आभास हुन्छ। मनमा एक किसिमको फरक तर मिठो अनुभूति हुन्छ।

लस्करै पदयात्रीहरू घरछेवैको डहरबाट हिँड्दा घरको करेसाबारीमा उभिएकी आमाले भन्छिन्, ‘थकाई मारेर जाऊ, पानी खाएर जाऊ, भोक लागेको होला खाना खाएर जाऊ।’ यस्तो आत्मीयता कहाँ पाउनु सहरमा? हो यही उन्मुक्तता, स्वार्थरहित सम्बन्धको सहजता, स्वच्छता र निर्मलताको सामीप्यताका लागि पनि पदयात्रा एउटा महत्त्वपूर्ण माध्यम हो, आधार हो र बहुआयामिक चिन्तनका लागि आवश्यकता पनि हो।

हामी सबैको चाहना भनेको आनन्द र खुसी नै हो। यो आनन्द कसैले मदपान गरेर, कसैले धूमपान गरेर, कसैले सिनेमा हेरेर, कसैले खेल खेलेर, कसैले मिष्ठान्न भोजन गरेर र त कसैले भजन सुनेर वा हरिकीर्तन गरेर पनि प्राप्त गरिरहेका हुन्छन्। पदयात्री भने पदयात्रा गरेर आनन्द लिइरहेका हुन्छन्। आनन्दको कुनै सीमा हुँदैन। उपभोगको सन्तुष्टि आनन्दको अतिरिक्त चाहना एडिक्सन वा दुर्व्यसन  पनि बन्न सक्छ।

खुसीको भने दुर्व्यसन  हुँदैन। खुसी प्राप्तिको ध्येय माध्यम सही भयो भने त्यो सहज रूपमा लिन सकिन्छ। जस्तै- मन्दिर भ्रमण गर्दा शान्तिको आभास मिल्छ। पवित्रताको छनक मिल्छ। बजारमा गएको समयमा आवश्यक नभएको सामानमा पनि त्यसको विज्ञापनको आकर्षणमा लोभिएर अनावश्यक पनि सामान खरिद गरिन्छ। अनि, सहरबाट बाहिर ग्रामीण बस्तीको भ्रमण गर्दा हाम्रो हेर्ने नजरियाको फराकिलो आयाम दृष्टिगोचर हुन्छ। आफूलाई विस्तारित रूपमा सांसारिक जन्जालबाट मुक्त फराकिलो परिवेशमा पाइन्छ। हो त्यही मुग्धताको आस्वादन गर्न चापागाउँदेखि लेले हुँदै आनन्दवनको पदयात्रामा निस्किएका थियौँ हामी।

चापागाउँको गोरेटो र कुलोको डिल हुँदै टीकाभैरवसम्म पुग्यौँ। त्यहाँबाट लेलेतर्फ लाग्यौँ। लेलेलाई अहिले चिल्लो सडकले जोडेको छ। चिल्लो सडक हिँड्नु हाम्रो उद्देश्य थिएन। केही मिटरको हिँडाइपछि हामीहरू उत्तरतर्फको पाखो जङ्गलको फेदी हुँदै पूर्वतर्फ लाग्यौँ। केही उकालो चढेपछि भट्टेडाँडामा पाकिस्तानको पीआईए जहाज दुर्घटना हुँदा दिवंगत भएका यात्रुहरूको सम्झनामा स्मारक पार्क निर्माण गरिएको रहेछ। उचित सम्हारको अभावमा पार्कको संरक्षण भएको भन्न सकिने अवस्था देखिएन। यो मेमोरियल पार्क हो भनेर चिनाउन राखिएको बोर्डसमेत खुइलिएर पढ्नै नसकिने अवस्थामा पुगेको छ।

यो मेमोरियल पार्क नाघेर केही अगाडि बढेपछि आउने चउरमा बसेर फलफूल र पानी खान रोकिएका थियौँ। भरखरै मेमोरियल पार्क हुँदै हिँडेर आएको हुँदा पदयात्रीमा एक किसिमको मानवीय संवेदना एवं जीवनको क्षणभंगुरताको आहतले दस्तक दिएको थियो र चेतनाका तन्तुहरू संवेदनशील भएर भावना व्यक्त गरिँदै थिए। वातावरण एकछिनका लागि आध्यात्मको चिन्तनमा व्यस्त हुँदै थियो।

‘जीवनलाई कसरी बुझ्ने?’ एकजना सहयात्रीले प्रश्न तेर्स्याए। जो जसको भाँडोमा जति थियो त्यो खनाएर तृप्त भए। जसको उत्तर कुनै एउटा भाँडोमा मात्र अटिने खालको थिएन। जो अहिलेसम्म मै हुँ भन्ने दार्शनिकहरूले पनि बुझ्न सकेका छैनन् त्यस्तो एब्स्ट्र्याक्ट, अघोर, अचिन्त्य, अविनाशी, अनन्त विषयको सटीक परिभाषा कसले दिने? जसको झोलीबाट झिक्दा जति आउँछ त्यति नै हो पसरी। त्यति नै ज्ञानको परिधि। गणेशजी, पदयात्राका सञ्चालक तथा सहयात्रीले फ्याट्ट भनिहाले, कसरी बुझ्ने नि, जसले जति जानेको छ, जति भोगेको छ त्यही हो जीवन? MC  स्क्वायर बुझ्न त्यहाँसम्म बुझ्ने गरी अध्ययन गरेको हुनुपर्‍यो नि।’ कस्तो चित्तबुझ्दो  जबाफ’ श्रोता सबै चुपचाप, अवाक्। आआफ्नो झोला बोकेर हिँडे।

लेलेको उत्तरपूर्वी कुनाबाट ठाडो उकालो चडेर गणेशवन पुग्यौँ। सल्लाको सलक्क बढेका रुख र सल्लिपिरले ढाकेको भिरालो बाटो उकालो चढ्दा कुन सट्को चिप्लिएर लडिएला भन्दै होसियारीसाथ डाँडामा पुग्यौँ। सल्लेरी डाँडामा एकछिन थकाइ मारौँ भनेर यसो रोकिएका थियौँ, चिसो हावाको चोट थाम्न कठिन भयो। अर्को डाँडाको छेको पारेर केही समय बस्यौँ। डाँडाको डिलैडिल हिँड्दा उत्तरतर्फ काठमाडौँ उपत्यका र दक्षिणतर्फ लेले (पहिले भए गाउँ, तर अहिले सहर) लाई प्रस्ट अवलोकन गर्दै हिँड्यौँ।

लेले गाउँबाट सहरको यात्रातर्फ संक्रमणको अवस्थामा छ। यसका पाखा र भित्ताहरू डोजरले कोपरेर छियाछिया बनाएको प्रस्टै देखिन्छ। गाउँमा डोजर पसेको विकास गर्न भन्दा पनि तोरी, मकै, कोदो, भटमास फल्ने बारीका कान्ला सम्याएर घरघडेरी प्लटिङ गर्नका लागि हो। गाउँमा गरिने परम्परागत खेतीमा परिवर्तन आएको पनि देखिन्छ। कृषिमा नवीनतम् प्रविधिको प्रवेश हुँदा उत्पादकत्व र उत्पादनमा उल्लेख्य वृद्धि भएको पनि देखिन्छ। माथि डाँडाबाट हेर्दा सेता प्लास्टिकले छोपिएका टनेल खेती प्रचुर मात्रामा देखिन्छ।

एकतिर काठमाडौँँ अर्कोतिर लेलेको दर्शन गर्दै डाँडाको टुप्पाटुप्पा हिँड्दै महतवन हुँदै आनन्दवन पुग्यौँ। यो वनलाई विशेष संरक्षण गरिएको छ। आनन्दवन भनेको चापागाउँबाट लेले जाँदा एउटा बाटो डाँडा काटेर बीचबाट जान्छ भने अर्को हेटौँडा जाने टीकाथलीको बाटो हुँदै जान्छ। यही माथिको डाँडो आनन्दवन हो। यो वनको फेदीमा सुविधासम्पन्न आनन्दवन अस्पताल पनि बनेको छ। अस्पतालमा निस्केर तल झर्दै हामीलाई लिन प्रतीक्षारत बसमा चढेर फर्कियौँ।

प्रकाशित: २७ माघ २०८० १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =