संस्कृत पढाइ नहुने संस्कृत माविको कथा

माधवप्रसाद नेपाल २६ माघ २०८० १५:२०
1.4k
SHARES
संस्कृत पढाइ नहुने संस्कृत माविको कथा

काठमाडौँ- दोलखा कालिञ्चोक गाउँपालिका-४ लामिडाँडामा सञ्चालित एउटा माविको साइनबोर्डमा लेखिएको छ, हिलेपानी संस्कृत माध्यमिक विद्यालय। विद्यालयसँग सम्बन्धित सबै कारोबार संस्कृत माविबाटै हुन्छ, छाप र लेटरप्याडमा संस्कृत मावि लेखिएको छ र विद्यार्थीले प्रमाणपत्र पनि संस्कृत माविकै नाममा पाउँछन्। विद्यालयमा संस्कृत पठनपाठन हुन छाडेको भने बर्सौँ भइसकेको छ।

विद्यालयमा कुनै बेला कक्षा ६ देखि १० सम्म अनिवार्य संस्कृतसहित ज्योतिष, साहित्य, व्याकरण, आयुर्वेद, नीतिशास्त्रजस्ता विषय पढाइ हुन्थ्यो। विद्यालयमा परपरबाट पनि अभिभावकहरू आफ्ना सन्ततिलाई पढाउन पठाउँथे। ‘हिलेपानी संस्कृत मावि’ को पहिचानचाहिँ जिल्लाभरिकै एक संस्कृत माविका रूपमा कायमै छ। स्थानीयका अनुसार अब हिलेपानी संस्कृत मावि इतिहासमा सीमित हुन खोज्दैछ।

कुरा २०३० सालतिरको हो, गाउँका केही अगुवाले आफ्ना सन्तति पढाउन विद्यालय आवश्यक ठाने। स्थानीय अनिरुद्र घिमिरे, विष्णुरुद्र घिमिरे, पृथ्वीबहादुर कार्की, कृष्णप्रसाद न्यौपानेलगायतले निकै प्रयास गरेपछि २०३१ सालमा हिलेपानी प्रावि स्थापना भयो। गाउँमै विद्यालय स्थापना भएपछि स्थानीयले छोराछोरीलाई पढाउन थाले। अन्य अभिभावकमा पनि सन्तानलाई पढाउनुपर्छ भन्ने चेतना फैलिँदै गयो। परिणामस्वरूप विद्यालयले गति लिन थाल्यो। विद्यार्थी संख्या बढ्दै गयो।

स्थानीयकै पहलमा २०३७ सालमा निमाविमा परिणत भएको यो विद्यालयमा २०४१ सालमा आइपुग्दा कक्षा ८ सञ्चालन भयो। विद्यालय शिक्षा गाउँमै पूरा गर्न पाइने भएपछि स्थानीयमा उत्साह थपियो। अनि केही अगुवाले संस्कृत मावि बनाउने अठोट लिए। स्थानीय मुक्तिनाथ घिमिरेले संस्कृत मावि सञ्चालन गर्नका लागि निकै प्रयास गरेको न्यौपाने स्मरण गर्छन्। अनि तत्कालीन नेपाल संस्कृत विश्वविद्यालयको सिफारिसमा संस्कृत विषयका दुई शिक्षकको दरबन्दी प्राप्त भयो।

२०४८ सालमा पहिलोपटक संस्कृत माविका तर्फबाट प्रवेशिका (एसएलसी) परीक्षामा सहभागी भएको बताउँछन् प्रधानाध्यापक भीमकुमार पाण्डे। २०५८ सालसम्म उक्त संस्कृत माविबाट धेरैले प्रवेशिका उत्तीर्ण गरे। पाण्डेका अनुसार त्यति बेला आठ सयसम्म विद्यार्थी रहेको अभिलेख  विद्यालयमा छ।

उक्त विद्यालयका लागि पनि माओवादी ‘जनयुद्ध’ अभिसाप बन्न पुग्यो। विद्रोही माओवादीले संस्कृत पढाउनु हुँदैन भनेर पाठ्यपुस्तक जलाउन थाले। शिक्षकलाई ज्यान मार्ने धम्की दिए। जिल्ला शिक्षा अधिकारीलाई संस्कृत नपढाउन चेतावनी दिए। संस्कृत माविमा संस्कृत मात्रै पढाइ हुँदैनथ्यो, अंग्रेजी, गणित, विज्ञानजस्ता विषय सँगसँगै पढाइ हुन्थ्यो। एसएलसी नतिजामा अब्बल हुँदै थियो। संस्कृत पढाए ज्यानै लिने धम्कीपछि विद्यालयमा संस्कृत पढाउन छाडियो। दरबन्दीमा रहेका शिक्षक अन्यत्र सरुवा भएर गए।

संस्थापक कृष्णप्रसाद न्यौपानेका अनुसार माओवादीले संस्कृत बाहुनको शिक्षा हो, पढ्नु हुँदैन, यो हटाउनुपर्छ भनेर संस्कृतका पुस्तकहरू सबै जलाइदिएपछि केही समय संस्कृत पढाउन रोकियो। शान्ति प्रक्रियापछि केही वर्ष  संस्कृत माविकै रूपमा सञ्चालन भएको थियो। न्यौपानेले भने, ‘ राजनीतिक र व्यक्तिगत स्वार्थले विद्यालयमा संस्कृत पढाउन बन्द गरियो। विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर हटाएको हो। हटाउनुको कारणचाहिँ थाहा छैन।’

विद्यालय साधारण माविमा रूपान्तरण भएको छ। संस्कृत पढाउनुपर्छ भन्ने चेतना पनि हराउन थाल्यो। संस्कृतप्रति रुचि राख्नेहरूमध्ये अधिकांशले उतिबेलै गाउँ छाडे। अलिअलि पढ्न सक्ने राजधानी छिरे। विद्यालय संस्थापकका सन्तति पनि पलायन हुन थालेपछि विद्यालयलाई माया गर्ने कोही नभएको स्थानीयको बुझाइ छ। पुराना पुस्ता गान्तोकतिर गएर यजमानीमा संलग्न भए। संस्कृत पढ्नुपर्छ भनेर केहीले अगुवाइ नगरेका हैनन् तर उनीहरूको आवाज दबिँदै गयो।

अहिले एक त विद्यालयमा विद्यार्थी संख्या घटेको छ। साबिक लामीडाँडा गाविसमै  तीनचारवटा मावि छन्। अर्कोतर्फ संस्कृत माविमा फेरि संस्कृत पढाउने कुरा स्थानीयको प्राथमिकतामा परेको छैन। जसले विद्यालय स्थापना गरे, उनीहरू बितिसके।

गाउँपालिकाका उपाध्यक्ष एवम् माओवादी केन्द्रको दोलखा जिल्लाका अध्यक्ष कुलबहादर बुढाथोकी भने गाउँमा यतिबेला संस्कृत पढ्नुपर्छ भन्ने सोचाइ विकसित हुन थालेको बताउँछन्। उनी भन्छन्, ‘विगतमा गाउँका तिनै मानिस संस्कृत पढ्न हुँदैन भन्थे। अहिले उनीहरू नै मानिसमा संस्कृत पढ्नुपर्छ भन्ने चेतना विकास हुँदैछ।’

स्थानीयका अनुसार द्वन्द्वकालमा उनै बुढाथोकीले संस्कृत पढाउन हुँदैन भनेर पाठ्यपुस्तक जलाएर शिक्षकहरूलाई धम्की दिएका थिए। आफूहरूले त्यतिबेला नबुझेर संस्कृतका पाठ्यपुस्तक जलाएको बुढाथोकी बताउँछन्। उनी भन्छन्, ‘संस्कृतका कारण हामीलाई उच्च र निच्च जाति भनेर हेप्ने काम भयो। साथीहरूबाट विरोध हुन थाल्यो। संस्कृतका किताब जलाउने काम भयो। त्यसमा म पनि संलग्न थिएँ।’

पार्टीको बहुमतले संस्कृत बन्द गर्ने निर्णय गरेकाले आफू निर्णय मान्न बाध्य भएको उनको भनाइ छ। बुढाथोकीले भने, ‘मलाई संस्कृत बन्द गर्न मन थिएन। म त बन्द नगरौँ, किताबले जात बनाएको होइन भन्ने पक्षमा थिएँ। मेरो धारणा अल्पमतमा परेको थियो।’

शान्ति प्रक्रियापछि आफूले विद्यालयमा संस्कृत पठनपाठन पुनः सुरु गर्न पहल गरिरहेको बुढाथोकीले बताए। यसका लागि आफूले जनार्दन घिमिरे (हाल स्वर्गीय) सँग मिलेर संस्कृतग्राम स्थापनाको अभियान सञ्चालन गरेको बुढाथोकीको भनाइ छ।

पार्टीका नेताहरू पनि संस्कृत र पूर्वीय दर्शनप्रति सचेत भएपछि आफू आशावादी बनेको बुढाथोकी बताउँछन्। उनले भने, ‘अहिले म आशावादी भएको छु। हाम्रा पार्टीका नेताहरू अग्निप्रसाद सापकोटा, गिरिराजमणि पोखरेललगायतले पूर्वीय दर्शनप्रति झुकाव राख्न थाल्नुभएको छ।’

बुढाथोकीले संस्कृत भाषालाई बाहुनको भाषा मात्रै हो भन्ने गलत बुझाइ रहेकाले त्यसमा परिवर्तन गर्न नसकिएको बताए। उनले भने, ‘अब संस्कृत पठनपाठन गरिहाल्ने कि भन्ने योजनामा छौँ। स्थानीय सरकार प्रयासमा छ। आदर्शवान् र नैतिकवान् बनाउन अन्य माध्यमिक विद्यालयलाई भन्दा संस्कृत माविलाई प्राथमिकता दिने योजना छ।’

संस्कृत पढाउने विषयमा स्थानीय सरकार त्यति सक्रिय नभएको आरोप संस्थापक न्यौपानेको छ। गाउँपालिकाका अध्यक्ष-उपाध्यक्षले अनौपचारिक रूपमा संस्कृत पढाउनुपर्छ भने पनि शिक्षक व्यवस्थापनलगायतका विषयमा कुनै चासो नदेखाएको उनले बताए।

संस्कृत पढाउन प्रस्ताव गर्दा विद्यार्थी अन्यत्र जालान् भन्ने चिन्ता विद्यालयललाई छ। कक्षाकोठा अत्याधुनिक छ। कम्प्युटर ल्याब छ। खेलकुद र विज्ञान प्रयोगशाला बनिसकेको छ। विद्यालयमा बाल विकास शिक्षकका लागि सबै व्यवस्था छ। विद्यार्थी संख्या निकै कम छ।

विद्यालयमा बालकक्षादेखि १२ सम्म गरेर २१९ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पाण्डे बताउँछन्। उनी भन्छन्, ‘विद्यार्थी कम हुँदा शिक्षक दरबन्दी काटिने डर छँदैछ।’ संस्कृतग्राम खोल्ने भनेर अभियान चलाएका हिलेपानीकै जनार्दन घिमिरेको दुर्घटनामा निधन भएपछि त्यो अभियान सेलाएको छ। साथै संस्कृत माविमा संस्कृत पढाइ हुने सम्भावना तत्काल देखिँदैन। न्यौपानेले भने, ‘नागरिक स्तरबाट संस्कृत मावि सञ्चालनका लागि दबाब दिइरहेका छौँ। यसका लागि राजनीतिक दल र स्थानीय सरकार गम्भीर हुनुपर्छ।’

प्रकाशित: २६ माघ २०८० १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =