भृकुटीमण्डपमा क्यान इन्फोटेकको २९औँ संस्करण [तस्बिरहरू]

दिपेश श्रेष्ठ २५ माघ २०८० १५:०६
8
SHARES
भृकुटीमण्डपमा क्यान इन्फोटेकको २९औँ संस्करण [तस्बिरहरू]

काठमाडौँ- राजधानीको भृकुटीमण्डपमा बिहीबार क्यान इन्फोटेक-२०२४ सुरु भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा सुरु भएको इन्फोटेक मेलाको २९ औँ संस्करण हो।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीका अनुसार मेलाको उद्देश्य सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति अन्तरक्रिया गर्नु रहेको छ।

क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबर्टको बेटा संस्करण सार्वजनिक हुने महासंघले जनाएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने क्यान इन्फोटेक मेलामा प्रवेश शुल्कबापत सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ। मेलामा एक सय ५० भन्दा बढी कक्ष छन्। मेलाको झण्डै तीन लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने आयोजकको दाबी छ।

मेलाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी छन्। उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री शर्माले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताइन्।

सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरुप लिने दाबी गरिन्। ‘सूचना प्रविधिको विकासमार्फत सेवा विकास गर्न सकिन्छ, यसबाट रोजगारी सिर्जना हुन्छ। बढ्दो विदेश पलायनलाई पनि रोक्न सकिन्छ’, उनले भनिन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले नेपालको हरेक क्षेत्र लगानीका लागि उपयुक्त भए पनि नीतिगत स्थिरताका आभावमा लगानीकर्ता आकर्षित हुन नसकेको बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको विकासबिना मुलुकको समृद्धि सम्भव नभएकाले सूचना प्रविधिसम्बन्धी सेवा प्रभावकारी बनाएर नेपाललाई ‘आईटी हब’ बनाइनुपर्नेमा जोड दिए।

क्यान महासङ्घका अध्यक्ष रञ्जीतकुमार पोदारले सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरेर रोजगारी सिर्जनाका साथै विदेशी मुद्रा भित्र्याउन थालेको यस क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए।

प्रकाशित: २५ माघ २०८० १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =