राष्ट्रियसभा अध्यक्षमा माओवादी नेताको पनि आकांक्षा

हिमाल प्रेस २२ माघ २०८० १८:१२
34
SHARES
राष्ट्रियसभा अध्यक्षमा माओवादी नेताको पनि आकांक्षा उर्मिला अर्याल र नारायण दाहाल

काठमाडौँ- नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने चर्चा भइरहेका बेला सत्ता गठबन्धनबाट पनि अध्यक्षका आकांक्षी देखिएका छन्। माओवादीका तर्फबाट वर्तमान उपाध्यक्ष उर्मिला अर्याल र नारायण दाहालले अध्यक्षमा आकांक्षा देखाएको नेताहरूले जानकारी दिए। यद्यपि राष्ट्रियसभा अध्यक्ष कसले पाउने भन्ने सत्ता गठबन्धनमा सहमति हुन सकेको छैन।

निर्वाचनअघि मौन रहेको माओवादीका नेताहरू अहिले अध्यक्षमा आकांक्षा देखाउन थालेका हुन्। माओवादीमा उपाध्यक्ष उर्मिला अर्याललाई अध्यक्ष बनाउन कसरत चलिरहेको एक पदाधिकारीले बताए। अर्याल पनि पार्टीभित्र लबिइङमा लागेकी छन्। उनले यसबारे बोल्न चाहिनन्। माओवादीबाट अध्यक्षका लागि मनोनीत सांसद नारायण दाहाल पनि लागिपरेका छन्।

अर्याललाई अध्यक्ष बनाउने विषयमा माओवादी पार्टीमा छलफल भइरहेको सचिव गणेश साहले बताए। उनले भने, ‘माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवै लिन मिल्दैन। अध्यक्ष लिएपछि उपाध्यक्ष छाड्नैपर्छ।’ अर्याल आफूले अहिलेसम्म पनि ‘कार्यकारी भूमिका’ मा जान नपाएको गुनासो गर्दै आएकी छन्। उपाध्यक्ष पद जिम्मेवारीविहीन भएकाले आफू कार्यकारी भूमिकामा जान पाउनुपर्ने दाबी उनले नेतृत्वसमक्ष गरेकी छन्।

आकांक्षी दाहाल प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ हुन्। उनी रामनारायण बिडारीको पदावधि सकिएपछि राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए। ‘दाहालज्यू पनि निरन्तर लागिरहनुभएको छ’, माओवादीका एक पदाधिकारीले भने।

माओवादी र कांग्रेसमा राष्ट्रियसभा अध्यक्ष लिने विषयमा सहमति भएको छैन। विभिन्न कारण देखाउँदै आफूले अध्यक्ष पाउनुपर्ने दुवै दल दाबी गरिरहेका छन्।  माओवादीका नेताहरू प्रधानमन्त्री र राष्ट्रपतिमा भागबन्डा गर्दा नै आफूहरूले अध्यक्ष लिने सहमति भएको बताउँछन्।

माओवादी सचिव देवेन्द्र पौडेल भन्छन्, ‘प्रधानमन्त्रीमा तीन दलको सहमति, राष्ट्रपति कांग्रेसले पाउने र सभा अध्यक्ष माओवादीले लिने सहमति भएको थियो।’

माओवादी महासचिव देव गुरुङ सहमतिबारे आफूलाई थाहा नभएको सुनाउँछन्। उनी राष्ट्रियसभा अध्यक्षमा सहमति नभएको र परिस्थितिले आफैले पाउनुपर्ने भएको बताउँछन्।

राष्ट्रियसभा अध्यक्ष बन्ने दौडमा एकीकृत समाजवादी पनि समावेश छ। समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा माओवादी र कांग्रेसमा सहमति नभए आफ्नो दलले पाउनुपर्ने बताउँछन्।

माओवादी दाबीका दुई कारण

संवैधानिक परिषद्‌मा शून्य हुने चिन्ता र कोशीमा ‘अन्तर्घात’ लाई लिएर माओवादीले अध्यक्षमा दाबी गरिरहेको छ। ‘कांग्रेसले पटकपटक हामीलाई धोका दियो। अब सभापतिले इतरपक्षलाई मात्र देखाएर छुट पाउँदैनन्,’ माओवादी कोशीका नेता इन्द्र आङबोले भने, ‘कि गठबन्धन छाड्ने हो कि निर्णायक बैठक बसेर नयाँ सहमति गर्ने हो।’
आङबोका अनुसार कोशीमा कांग्रेसकै कारण माओवादीले सभामुख, मुख्यमन्त्रीदेखि राष्ट्रियसभा सदस्यसमेत गुमाएको छ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई विश्वासको मत दिनका लागि माओवादीबाट सभामुख बनेका बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए। अहिले सभामुख राप्रपाको हातमा गएको छ। मुख्यमन्त्रीमा पनि माओवादीले पाउने गरी सत्ता गठबन्धनमा सहमति थियो। कांग्रेसको शेखर कोइराला पक्षधर नेता केदार कार्कीले प्रतिपक्षी एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी गरेपछि माओवादी खाली हात रह्यो।

पछिल्लो समय राष्ट्रियसभा सदस्यमा पनि माओवादी केन्द्रकी चम्पा कार्कीलाई नेकपा एमालेकी रुकमिणी कोइरालाले हराएकी छिन्। माओवादीले संवैधानिक परिषद्सम्बन्धी शून्यता देखाएर अध्यक्षमा दाबी गरिरहेको छ। संवैधानिक परिषद्‌मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी, सभामुख र उपसभामुख हुने व्यवस्था छ।

समझदारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता छाड्दा संवैधानिक परिषद्मा आफ्नो उपस्थिति शून्य हुने माओवादीको भनाइ छ। प्रमुख प्रतिपक्षीमा एमाले छ भने सभामुखमा एमालेबाटै निर्वाचित देवराज घिमिरे र उपसभामुखमा रास्वपाकी इन्दिरा राना छन्। राष्ट्रियसभा अध्यक्ष रहेका एमालेका गणेश तिमिल्सना बिदा हुँदैछन्।

फागुन २० मा नयाँ सांसद आएपछि राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो पार्टी बन्नेछ। माओवादीका १८ सांसद राष्ट्रियसभामा हुनेछन्। १६ सांसद रहेको कांग्रेस दोस्रो ठूलो दल बन्ने छ भने १० जना सांसद रहेको एमाले तेस्रो र ८ सांसद रहेको एकीकृत समाजवादी चौथो हुनेछ।

सिटौला आफैँले अध्यक्षका आकांक्षाबारे केही बोलेका छैनन्। उनलाई चुनावअघि भेट गरेका जनप्रतिनिधिले राष्ट्रियसभा अध्यक्ष बन्न प्रस्ताव गरेका थिए। उनी कांग्रेसमा संस्थापन र इतर समूह दुवैको सहयोगमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 6 =