लेबी र विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न जुट्यो विद्यालय कर्मचारी परिषद् 

हिमाल प्रेस २२ माघ २०८० १२:४६
4.5k
SHARES
लेबी र विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न जुट्यो विद्यालय कर्मचारी परिषद् 

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्, प्रादेशिक कार्यसमिति कोशी प्रदेशले चौथो प्रादेशिक परिषद् आह्वान गरेको छ। आगामी शनिबार बिहान साढे १० बजे सुनसरीको रामधुनी-१ झुम्कास्थित भासी माविको सभाहलमा परिषद् हुनेछ।

विद्यालय कर्मचारी परिषद् कोशी प्रदेश अध्यक्ष मौसम श्रेष्ठले परिषद्को मूल एजेन्डा लेबी र विद्यालय शिक्षा विधेयकमाथि छलफल रहेको जानकारी दिए। उनले भने, ‘शनिबार परिषद् भेला आह्वान गरेका छौँ। लेबी र संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयकबारे छलफल हुन्छ।’

उनले सरकारले विद्यालय कर्मचारी परिषद्ले उठाएका माग समेटेर सरकारले यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्नुपर्ने बताए। विद्यालय कर्मचारी परिषद् र सरकारबीच पटकपटक भएका सहमति सम्झौता अक्षरसः कार्यान्वयन हुनुपर्ने उनको माग छ।

त्यसैगरी परिषद्‌मा विद्यालय कर्मचारीसँग सम्बन्धित वर्षभरिका गतिविधि, संगठन, लेबी, केन्द्रीय परिषद्‌मा पठाउने प्रतिनिधिलगायत विभिन्न विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए। परिषद् भेलामा कोशी प्रदेशअन्तर्गतका १४ वटै जिल्लाका प्रतिनिधि सहभागी हुनेछन्।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विद्यालय कर्मचारीहरूले लेबी र असहयोग भइरहेको बताएका बेला अध्यक्ष श्रेष्ठले भने लेबीका विषयमा १४ वटै जिल्ला कार्यसमितिलाई दबाब दिएको बताए। उनले भने,‘जसरी भए पनि लेबी उठाएर दिनुपर्छ। यो परिषद् बैठकको मूल एजेन्डा हो।’

उनले विद्यालय कर्मचारी नेतृत्वले तलब वृद्धि, पोसाकलगायत पेसागत समस्या समाधान गर्न सफल भएको बताउँदै कर्मचारीका असन्तुष्टि विस्तारै समाधान हुने बताए।

श्रेष्ठले विद्यालय कर्मचारीका बाँकी समस्या समाधान हुन नयाँ शिक्षा ऐन आउनुपर्ने र ऐनमा कर्मचारीका माग अनिवार्य समेटिनुपर्ने बताए। ‘विद्यालय कर्मचारी नेतृतृवले लेबी मात्र उठाएको छैन,काम पनि गरेको छ। पोसाकभत्ता, तलब वृद्धि गराउन सफल भएको छ। शिक्षा ऐनमार्फत बाँकी माग हुन्छन् भन्ने विश्वास छ। त्यसका लागि दबाब आवश्यक छ,’ उनले भने।

केन्द्रीय परिषद्लाई उनले विद्यालय कर्मचारीका माग कार्यान्वयनका निम्ति दबाबमूलक कार्यक्रम ल्याउन सुझाव दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =