यात्रा अनुभूति : विमानस्थलको सुरक्षा जाँच, मालअड्डाका हाकिम र सडक सास्ती

चन्द्रशेखर अधिकारी २० माघ २०८० १८:४३
242
SHARES
यात्रा अनुभूति : विमानस्थलको सुरक्षा जाँच, मालअड्डाका हाकिम र सडक सास्ती

बुधबार बिहान साढे ९ बजे। पठाओको बाइक चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लागेँ। गन्तव्य थियो भरतपुर। उडान समय बिहान साढे १० बजे। पठाओको बाइक चलाउने भाइसँग गफिँदा रमाइलो भयो। यो मेरो पहिलो अनुभव थियो पठाओमा। मैले पठाओको सट्टा उठाओ राखेको भए अझ राम्रो हुने रहेछ नि भनेँ। उनले हाँस्दै भने, ‘किन र?’ ‘घरघरमा आएर मानिसलाई उठाउने भएकाले उठाओ भनेको नि।’ उनको उत्तर आयो, ‘घरकाले हाम्रो जिम्मा लगाएर पठाउने भएर पठाओ भएको होला नि दाजु।’ लवजले थाहा भयो उनी पूर्वका रहेछन्।

पुर्ख्यौली  घर इलाम रहेको उनले सुनाए। झापा झरेको दुई वर्ष भयो रे। घिमिरे थर बताउन उनले भने, ‘काठमाडौँमा अन्य जागिर नभेटेर पठाओ चलाउने गरेको छु। कमाइ राम्रै छ। अन्य जागिरतिर ध्यान जाँदैन कि जस्तो पो छ त दाजु।’ उनी एमबीएसमा अध्ययनरत रहेछन्।

‘कति कमाउँछौ त भाइ?’ उनले भने, ‘खाडीमा जाने औसत नेपालीले भन्दा म बढी कमाउँछु।’ घिमिरे भाइले आत्मविश्वासपूर्वक दिनमा कम्तीमा १५ सय रुपैयाँ बचाउँछन्। त्यो पनि मनमौजी तरिकाले फिल्डमा उत्रिएर। उनका आशावादी कुरा सुन्दै म बाइकबाट उत्रिएँ।

अस्तव्यस्त पार्किङ र भीड छिचोल्दै म विमानस्थलको आन्तरिक टर्मिनलमा पुगेँ। एउटा वैवाहिक कार्यक्रममा जन्ती स्वागत गर्न र निजी काम सक्न भनेर चितवन निस्किएको मेरो यात्रा असहज हुने संकेत त्यहीँबाट मिल्यो। १०ः३० को उडान रद्द भएछ। कारण विमानस्थल ढिलो खुल्यो रे?

हाम्रो विमान साढे १२ बजे उड्ने खबर आयो। त्यो उडानमा पछि टिकट लिएका यात्री परेनौँ। एउटा उडान रद्द गरेर दुई उडान एकैपटक गर्दा पछि टिकट लिनेको पालो नआएको स्पष्टीकरण विमान कम्पनीका कर्मचारीले दिएर थमथमाउन खोजे।

मनलाग्दी उडान रद्द गर्ने र विमानस्थललाई माछाबजारजस्तो बनाउने काम गर्ने ठूला भनिएका व्यक्तिबाटै भएको हो। उसो त नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यो गरेँ र त्यो गरेँ भनेर दिनहुँ हल्ला गरिरहेका हुन्छन्। विमानस्थलको भीड देख्दा उनको बोलीमा कुनै दम नरहेको स्पष्ट हुन्थ्यो।

विमानस्थलको अवस्था दिक्कलाग्दो छ। संसारकै महँगोमध्येको हवाई टिकटमा उड्ने नेपालीले गतिलो उडानमा यात्रा गर्न पाउँदैनन्। कुनै दिन यसको हद नाघ्न सक्छ। त्रिभुवन विमानस्थलमा हानाहान र नाराजुलुस मात्र होइन ठूलो घटना नहोला भन्न सकिन्न। त्यहाँका प्रहरी र कर्मचारीको ध्यान पैसा झार्नेमा मात्र रहेछ। काम गर्नेमा कत्ति पनि देखिँदैन। सुरक्षाजाँच गम्भीर हुँदैन। मेसिनले स्क्यान गरिरहेको हुन्छ तर सुरक्षाकर्मी अर्कोतिर कुरा गरिरहेका हुन्छन्। कोही सुरक्षाकर्मी मोबाइलमा व्यस्त थिए। अनि कसरी सुरक्षा जाँच होस्?

साढे नौ बजे एयरपोर्ट पुगेका हामी दाजुभाइ २ः५० मा उड्न पायौँ। धावनमार्गमा एकछिन पालो पर्खनैपर्ने अवस्था छ। भरतपुरमा विमान अवतरण भएपछि त्यहाँ पनि यात्रु प्लेन पर्खेर बसेको देखेँ। उनीहरूको अनुहारमा खुसी देखिन्थ्यो। पाइलट चिनजानका भएकाले धन्यवाद भनेर हामी गन्तव्यतर्फ लाग्यौँ।

हाम्रो काम मालअड्डा (भरतपुरस्थित मालपोत कार्यालय) मा थियो। राजस्व तिर्ने समय सकिएछ। भोलिपल्ट मात्रै काम हुने भएकाले हामी सीधै विवाह कार्यक्रममा सहभागी हुन गयौँ। जन्ती स्वागत गर्न हिँडेका हामी पुग्दा दुलही अन्माउने बेला भएको रहेछ। उडान समयमा भएको भए दुवै काम समयमै सकिने थियो। समयको पर्वाह नगर्ने कर्मचारी, जे गरे पनि हुन्छ भन्ने राजनीतिज्ञ र विदेशमा पढेको कुशल व्यवस्थापक भन्नेहरूका कार्यशैलीले जता पनि गिज्याइरहेको छ।

दोस्रो दिन मालअड्डा गयौँ। हामीलाई मालपोत कार्यालयका कर्मचारीले पनि आफ्नो व्यवहार देखाइहाले। हाकिमसाब मोबाइल खेलाएर बसेका थिए। बोल्न खोज्दा अर्कैतिर तर्किए। एकजना कर्मचारीले कर रकम पुगेन भनेर अत्तो थापे। अर्काले यस्तो घरबाटोले हुँदैन भनेर फर्काउन खोजे।

लेखापढी व्यवसायीले आएर हाउभाउ लगाएपछि काम बन्ने संकेत देखियो। काम सकिँदा सवा तीन बजेको उडान छुट्यो। हवाई उडानमा अघिल्लो दिन भोगेको सास्तीले विमानमा फर्कन मन लागेन। भरतपुर महानगरको पुल्चोकबाट जम्बो हायस चढेर काठमाडौँ फर्कने योजना बन्यो।

सार्वजनिक गाडीमा यात्रा गर्दा रमाइलै हुन्छ। त्यहाँ अनेकथरी कुरा सुन्न पाइन्छ। यसरी यात्रा नगरेको डेढ दशक बढी भएछ। भरतपुरमै भेटिएका प्रिय भाइ रामशरण भट्टराईले भने सडकको यात्रा निकै कठिन हुने सुनाए। उनी अहिले स्वतन्त्र पार्टीको रत्ननगरको सचिव छन्। उनले भने, ‘दादा, सडक खत्तम छ। सडकमार्गबाट काठमाडौँ जानु भनेको महाभारतको पहाड चढ्नुजत्तिकै हो। दिउँसो मुग्लिन-नारायणगढ सडक बन्द हुन्छ। अनि चारपाँचजना मजदुर फिल्डमा उत्रेर काम गर्छन्। कैयौँ महिनादेखि यस्तो अवस्था रहे पनि कोही बोल्दैनन्। हाम्रा सभापतिले केही गर्न थाले भने ठेकेदारलाई दच्कायो भनेर आलोचना गर्न थाल्छन्।’

मैले भनेँ, ‘काम गर्ने नेता र कर्मचारीले हो। ठेकेदार उनीहरूकै पोल्टामा हुन्छन्। के गर्ने र?’ कुराकानी गर्दै गर्दा माइक्रोबस आयो। पछाडिको सिट भरिएको रहेछ। अगाडिको सिट पाइयो। विद्युतीय माध्यमको झुक्तानीबाट सवारीचालकलाई भाडा तिर्‍यौँ।एउटा भाइले टिकट थमायो। अनि हामी चढेको माइक्रो अघि बढ्यो।

अलिक पर पुगेपछि माइक्रो खाल्टोमा पर्‍यो, सबै यात्रुलाई उफार्‍यो। पछाडि बस्ने एकजनाले भने, ‘करचाहिँ तीन तहको चोर सरकारले लिन्छ, काम यस्तो छ। खाल्टो मर्मत गर्नुपर्छ भन्ने वास्तै छैन। नेताको छोराको मोटरसाइकल यहाँ परेर हातखुट्टा भाँच्चिनुपर्ने अनि बनाउँथ्यो कि?’ ती व्यक्ति निकै आवेशमा आएका थिए।

हाम्रो यात्रा एसियाली मापदण्डको राजमार्ग भनिएको मुग्लिन-नारायणगढ सडकतिर लाग्यो। पुल मर्मतका कारण ठाउँठाउँमा अवरुद्ध हुने रोग कायमै छ। कतै हिलो र कतै खाल्डा छन्। गाडीले उफार्छ। हरेक खाल्डोमा यात्रीले नेतालाई गाली गरिरहे। माइक्रोमा बजिरहेको मन्द गतिको मिठो संगीतलाई चुनौती दिँदै उनीहरूले नेताहरूलाई जथाभाबी गालीगलौच गरिरहे। लाग्थ्यो, उनीहरू त्यहाँ कुनै दलको नेता भेटेमा सीधै जाइलाग्ने थिए।

घुमाउने अर्थात् सेती र त्रिशूलीको दोभान नजिकै पहिरो झरेको रहेछ। सवारीसाधन भने पास भइरहेको थियो। निकै खाल्डाखुल्डी रहेकाले माइक्रोबसले उफार्‍यो। अब रिसाउने पालो थियो चालकको। आक्रोशित हुँदै ती चालकले भने, ‘चोर नेता र कर्मचारीले मुलुकलाई यस्तो अवस्थामा पुर्‍याए।’ त्यही बीचमा अर्का यात्रीले भने, ‘आज चौधरी ग्रुपको एक भाइ समातिएछ। केही त हुन्छ कि?’

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आँट गरेको उनको भनाइ थियो। ‘यिनलाई प्रधानमन्त्री बनाउन पाए बरु केही गर्थे कि? तर के गर्ने यस्तालाई नागरिकले अनुमोदन गर्दैनन्’, ती व्यक्तिले भने। अर्काले थपे, ‘नारायणकाजी कट्टर माओवादी र प्रचण्डजस्ता बहरूपी पनि छैनन् नि? राम्रै लाग्छ तर खै चुनाव हार्छन्।’

यात्रा अगाडि बढिरहेको थियो। जलवीरे पुगिएछ। मन्दिर देखेपछि छाती र निधारमा हात जान्छ नै प्रायः नेपालीको। माइक्रोका यात्रीले पनि त्यसै गरे। त्यहाँको एउटा पुल पहिल्यै बनाएको भए यहाँ कैयन् गाडी झर्ने थिएनन्। अनि एकजना इन्जिनियरले १२/१३ वर्ष अगाडि भनेको कुरा सम्झिएँ, ‘एकै पटक पूर्ण बनाउँदा कमाई खाने स्थान हुन्न नि? त्यही कारण सकेसम्म बनाएको स्थानमा फेरि पनि बनाइरहँदा ठेकेदारलाई फाइदा हुन्छ। त्यो रकम बाँडीचुँडी माथिसम्म पुग्छ।’

मुग्लिन पार भयो। केबुलकार नजिकै पुग्दा सडकको काम सकिएको थिएन। बल्लबल्ल दुईवटा गाडी छिर्दो रहेछ। साइडमा जथाभाबी गाडी रोकिएका थिए। निर्माण सामग्री असरल्ल। हरेक ठाउँमा बाटो भत्काएको तर नबनाएको अवस्था थियो।

रात परिसकेको थियो। गाडीको लाइटले देखेको जति मात्र हेर्न मिल्थ्यो। केही वर्षअघि निर्माण सम्पन्न भएको भनिएको सडक बाँझो बारीजस्तो थियो। कतै लाइट थिएन। अन्धकार थियो सडक।

चालक भाइले फोन उठाए। सायद घरपरिवारको फोन थियो। उताको आवाज सुनियो, ‘बाटो खराब छ, राम्रोसँग चलाउनू है।’ ‘ठिक छ, म राम्रै चलाउँछु नि।’ मैले गाडी चलाउँदै फोन गर्ने अनि राम्रोसँग चलाउँछु भन्दै गफ गर्दा छिटो बिदाइ हुने संकेत भएन र भनेर ठट्टाको शैलीमा भनेँ। पछाडि बस्ने एक पाका व्यक्तिले ‘यात्रामा यस्तो शब्द निकाल्न हुन्न नि बाबु’ भने। मैले ‘यो भाइले फोन नराख्दा निस्केको शब्द हो, फोन राखेपछि ठिक हुन्छ’ भनेँ। त्यसपछि चालकले फोन स्विच अफ गरेर राखे कि क्या हो! अन्तिमसम्म फोन आएको थाहा पाइएन। माइक्रोले उफारिरह्यो। चालक भाइले नेतालाई गाली गर्न छाडेनन्।

यात्रा मलेखु पुग्यो। सडक फराकिलो बनाउने बहानामा एकैपटक भत्काइएका छन्। बनाउन भने सुरसार गरेको देखिँदैन।

सडक विभागको वेबसाइट हेरेँ। नेट राम्रै टिपेकाले होला एउटा फाइल डाउनलोड भयो। त्यसमा लेखिएअनुसार नागढुंगा-नौबिसे-मुग्लिन सडक योजना (९५ किमि) कार्यान्वयनका लागि तीन प्याकेजमा टेन्डर गरिएको रहेछ। सात वर्षको परियोजनामा काम चालु छ। यसबाट स्पष्ट हुन्छ, सडकमा अहिले भत्काइएका संरचना सात वर्षभित्र बनिसक्छन्। त्यो समयसम्म यात्रा गर्ने सबैले सास्ती भोग्नुपर्ने रहेछ।

नेपाल सरकार र विश्व बैंकबीच १७ जुलाई २०२१ मा भएको सम्झौताअनुसार काम अघि बढेको रहेछ। आयोजनाको लागत ४५० मिलियन अमेरिकी डलर ऋण सहयोग र १५ प्रतिशत नेपालको थपेर ५३३ मिलियन डलर रहेछ। त्यहाँ अहिले शर्मा एन्ड कम्पनीले काम गरिरहेको छ।

यसरी काम गर्दा आमनागरिकलाई सास्ती नहोला भन्ने बुझाइ सडक विभागका अधिकारीहरूको रहेछ छ। विभागका महानिर्देशक सुशीलबाबु ढकालसँग फोनमा कुरा गरेँ। उनले भने, ‘आउजाउमा सहज होस् भनेर खण्डखण्ड गरेर काम गरिएको हो। तर यहाँ वैकल्पिक सडक नहुँदा केही असज भइरहेको छ। काम गर्नेले पनि यही निहुँ पारेका छन्। कम्तीमा दुई वर्ष यस्तो सास्ती हुन्छ।’

सडक विस्तारका क्रममा कल्भर्ट, पुल, साँघुरा स्थानमा पखेरो खुर्कनुपर्छ। वैकल्पिक मार्गलाई केही सुधार गरेर भए पनि द्रुत गतिमा काम अघि बढाउन विभाग लागिपरेको ढकाल बताउँछन्।  ‘एसियाली राजमार्गको स्तरमा विस्तार गर्ने क्रममा सडक भत्काइएको हो। यसलाई सहज बनाउन वैकल्पिक मार्गमा केही गर्न सकिन्छ कि भनेर अध्ययन भइरहेको छ,’ विभागका उपमहानिर्देशक डा. विजय जैसीले फोनमा बताए। हेटौँडा भएर निस्कने सडक सुधार गरेर त्यसमा काम गर्न आवश्यक रहेको उनको सुझाव छ। उनले भने, ‘कान्ति राजपथ, फर्पिङ-हेटौँडा मार्ग पनि केही सुधार गरेर विकल्प दिन सकिन्छ।’

मलेखुबाट जति अघि बढ्यो उति नै यात्रा असहज हुँदै गयो। यात्री नेता र कर्मचारीलाई गाली गरिरहेका थिए। कोही भन्थ्यो, ‘नागरिक भनेका सुतेका शेर हुन्। कुनै दिन उनीहरू नै तातेर नेता र कर्मचारीलाई घेर्ने अवस्था आउँछ।’

पानी परेकाले सडक खेतजस्तो थियो। त्यसलाई छिचोल्दै चालकले हामीलाई सुरक्षित रूपमा नागढुंगा पुर्‍याए। त्यहाँ प्रहरीले चालकसँग ब्लुबुक मागे। ट्राफिक प्रहरीले हेर्नुपर्ने ब्लुबुक प्रहरीले माग्नुको कारण थाहा भएन। चालकले भने, ‘यस्तै हुन्। कुनै गल्ती नगर्दा पनि ब्लुबुक मागेर दुःख दिन्छन्। मैले नदिएको भए छतमा भएको सामान झारेर देखा भनेर समय नाश गर्थे।’

मैले ती प्रहरीलाई ‘ए सर, किन ब्लुबुक लिएको? यो चालक भाइले के गरे र?’ भनेर प्रश्न गरेँ। ती प्रहरीको नाम जाकेटले छोपिएको रहेछ। उनले भने, ‘तपाईंहरू काठमाडौँ आउनुभएको छ। यो नाका हो। यहाँ हामीले सुरक्षा जाँच गर्न पाउँछौँ, गर्छौँ।’ अनि ती चालकको   ‘ब्लुबुक’ लग्नुभएको छ, के जाँच हो त? तपाईँ ट्राफिक प्रहरी हो र?’ मैले भने, उत्तर आयो, ‘त्यही सम्झनु।’

चालक ‘यहाँ यस्तै हो सर’ भनेर अगाडि बढे। माइक्रो स्पिडमा थियो। थानकोट चेकपोस्टभन्दा निकै वर दुई प्रहरीले एक्कासि रोके। चालकले ब्रेक हान्दा धेर यात्रीको नाक ठोक्कियो। चालकले सोधे, ‘किन रोकको सर?’ हवल्दारले हात भित्र छिराउँदै भने, ‘सुरक्षा जाँच थियो।’ चालकले ‘आउँदा जाँचौँँला’ भनेर गाडी अघि बढाए। ती हवल्दारले पैसा मागेको आसय चालकको थियो। किन मागेका हुन् भन्ने कारणचाहिँ उनले खुलाएनन्।

भाइ नैकापमा उत्रियो। चालकलाई धन्यवाद भन्दै म कलंकीमा उत्रिएँ। त्यहाँ ट्याक्सी र पठाओका बाइकको घेराउमा परेँ। पहिला जसले सोधेको उसैसँग जान्छु भनेँ। अघिल्लो दिन पठाओमा एयरपोर्ट गएकाले अब ट्याक्सीमा घर (नयाँ बानेश्वर) जाने निधो गरेँ। ट्याक्सी चढ्दै गर्दा चालकले पठाओ बाइकका चालकलाई धम्की दिए, ‘भेट्लास है!’ प्रतिस्पर्धा कडा थियो। ती चालकले ट्याक्सी चलाएको धेरै वर्ष भएको रहेछ। उनले भने, ‘उनीहरू एपमा हिँडून्, हामी सडकमा पर्खिएर गरेर हिँडम् भनेको जहाँ पनि झडप गर्न आउँछन्। गरिखान नदिने भए।’

मैले दुई दिन व्यहोरेको यस्तो लथालिंग अवस्था हरेक दिन लाखौँ नेपालीले भोग्दै आएका छन्। अनि युवा पुस्ता किन बस्न मान्छन् त स्वदेशमा? उनीहरू कक्षा १२ सकेलगत्तै त्यत्तिकै बिदेसिएका होइनन् नि! अस्तव्यस्त मुलुक, मनमौजी सरकार, प्रतिशपर्धामा जागिरे भएपछि नागरिकका मालिक झै बनेर सुतेका कर्रमचारी र निराश नागरिक।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =