प्रधानमन्त्रीसहितकाे बैठकमा प्रदेश प्रहरी समायोजनमा समझदारी बनाउँछाैँ : गृहमन्त्री

हिमाल प्रेस २० माघ २०८० १७:१५
22
SHARES
प्रधानमन्त्रीसहितकाे बैठकमा प्रदेश प्रहरी समायोजनमा समझदारी बनाउँछाैँ : गृहमन्त्री

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बुधबार बैठक बसेर प्रदेश प्रहरी समायोजनको विषयमा समझदारी बनाउने बताएका छन्। पोखरामा शुक्रबारदेखि जारी गण्डकी प्रदेश सुरक्षा समितिको बैठकको अवसरमा शनिबार सञ्चारकर्मीसँग गृहमन्त्री श्रेष्ठले प्रहरी समायोजनका विषयमा समझदारी बनाउने बताएका हुन्।

वाइडबडी, लाउडा, तत्कालीन माओवादी लडाकु शिविरमा भ्रष्टाचार काण्डको पनि छानबिन हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्न मन्त्री श्रेष्ठले अनुसन्धान गर्दै जाँदा जुन फाइलमा गडबडी देखिन्छ सुरुमा सोही फाइल खोल्ने बताए। ‘कुन फाइल खोल्ने नखोल्ने भन्ने मानसिकता बनाएर अगाडि बढ्दिनँ। अध्ययन-अनुसन्धान गर्दै जाँदा गडबडी छ भन्ने लागेपछि खुल्न सक्छ। कुन खोल्ने भन्ने प्राथमिकता हुन्छ। तर हामी विश्राम लिँदैनौं,’ उनले भने।

गृहमन्त्री श्रेष्ठले उद्योग व्यावसायी पक्राउ परे चर्को स्वरले कराइहाल्ने बानी रहेको पनि बताए। उनले भने,‘उद्योग व्यावसायी पक्राउ परे चर्को स्वरले कराइहाल्ने बानी छ। अर्थतन्त्रमा योगदान गरेकालाई कहाँ कारबाही गर्न हुन्छ भनेर दबाब दिइएको छ। कसलाई कारबाही गर्ने? गरिब, सुकुम्बासी, मजदुर, पेटीमा बस्नेलाई कारबाही गर भन्ने हो? हाम्रो नीति स्पष्ट छ निर्दोष फस्नु हुँदैन, दोषीलाई कारबाही गर्नुपर्छ।’

त्यसैगरी उनले प्रहरी सरुवा बढुवामा हुने आर्थिक चलखेल अहिले शून्यमा झरेको पनि दाबी गरे। उनले भने, ‘हामीले मन्त्रालय सम्हालेपछि प्रहरीको सरुवा-बढुवामा आर्थिक चलखेल शून्यमा झरेको छ। भनसुन नगरे पनि हुने रहेछ भन्ने भएको छ।’ गृहमन्त्री श्रेष्ठले अध्यागमनमा रूपान्तरण, परिचयपत्र नयाँ ढंगले अगाडि बढाउने, जेल सुधारको योजना, प्रहरी संगठन सुधारलगायत विषय समेटेर गृहमन्त्रालय सुधार कार्ययोजनाको प्रतिवेदन बनेपछि कार्यान्वयनमा लैजाने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =