कविता

देशको नियति

ममता बराल सुवेदी २० माघ २०८० १२:०६
90
SHARES
देशको नियति

असंख्य छन् हाम्रो देशमा भोका पेटहरू
त्यत्तिकै छन् हाम्रो देशमा नाङ्गा आङहरू
कसलाई छ र यहाँ पर्वाह
बादलमा रुमलिएका छन्
गरिबका चीत्कारहरू।

नेतालाई कुर्सीकै मोह र मात छ
फगत कुर्सीकै लागि पुग्छन्
जनताको माझ।
भाषणमा
झूटो सपना बाँडेर आसमा झुल्याउँछन्।
सोझासीधा जनतालाई

अनि
हामी जनता पनि बुझपचाउँछौँ
भेडासरि बनेर
भोट दिन्छौँ घरीघरी
आफैँले आफैँलाई बलि चढाउँछौँ
नेताको स्वार्थ पूरा गरिदिन्छौँ।

यता
दूधेबालकलाई पिठ्यूँमा झुन्ड्याउँदै
काममा निस्किन्छन् आमाहरू
आफ्नो भोको पेटमा पटुकी बाँधेर
सन्तानको पेट भर्न बाध्य हुन्छिन् आमा
बुद्धको देश भन्नलाई पनि लाज लाग्छ।

यहाँ भ्याई-नभ्याई छ
हिंसा र बलात्कारका डरलाग्दा
घटनाका शृंखला गन्नलाई।
टीभी र रेडियोमा मृत्युका खबरले
प्राथमिकता पाइरहन्छन्
पत्रपत्रिकामा भ्रष्टाचारको
समाचार भरिभराउ हुन्छ

नेताहरु हुँदै नभएको विकासको नारा लाउँछन् गाउँछन्
समृद्धिको गीत।

अहो!
कस्तो अद्भुत परिवर्तन भएको छ हाम्रो देशमा?
धनी झन्-झन् धनको शिखरमा चढ्दैछन्
गरिब अझै गरिबीको खडलभित्र भासिँदैछन्
धनी र गरिबको जीवनस्तरमा फराकिलो अन्तर
हुँदैछ।

यस्तै छ हाम्रो देशको विकासको गति

महँगीले आकाश छोएको छ
देश र जनताको मन कुँडिएको छ
वैदेशिक ऋणको भार राज्यले थाम्नै नसक्ने गरी बढेको छ!
कलकारखानाहरूको औजारमा
खिया लागेको छ
जनताको जीवनस्तर ओरालो लागेको लाग्यै छ
शिक्षा स्वास्थ्य र रोजगारीको राज्यस्तरबाट पहलकदमी गरिँदैन
अभावको खडेरिमाथि बेथितिको डढेलो सल्केको छ।

युवा उद्यमीहरू
निराश भएर सिंहदरबार अगाडि
आत्मदाह गर्छन्
सरकार बाँडिरहन्छ हतोत्साहको मट्टितेल!
लाचार नेताहरू हतारहतार ढाकछोप गर्ने समिति
गठन गर्छन्!

लुकाइन्छ वास्तविकता देखाइन्छ खोक्रो आडम्बर!
राष्ट्रपेमीहरूलाई निराधार आरोप र लाञ्छना लगाएर गलहत्याइन्छ!
दलाल घुसखोर र भ्रष्टाचारीहरू सम्मानित हुन्छन्।

यस्तै छ हाम्रो देशको नियति साधुलाई सुली चोरलाई चौतारो
सतीले सरापेको देश भनेर लगाइन्छ कलंकको टीका र
बदनाम गरिन्छ वीर सहिदको रगतले मुछिएको माटो।
सुन्दा तितो लाग्ने तर यथार्थमा यस्तै छ देशको हालत!

प्रकाशित: २० माघ २०८० १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =