काठमाडौँ- सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसनबाट यस वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन्। मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबीए, बीबीएम र बीएस्सीमा १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन्।
काठमाडौँमा आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
सूचना प्रविधिसम्बन्धी सबैभन्दा पुरानो कलेजको २५ वर्षको इतिहास १३ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन्। एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनले मलेसियामा फाइभ स्टार र्यांक प्राप्त गर्न पनि सफल भएको छ। सूचना प्रविधिसम्बन्धी सो विश्वविद्यालय मलेसियामा फाइभ स्टार र्यांक प्राप्त गर्ने पहिलो र विश्वका उत्कृष्ट विश्वविद्यालयमध्ये १६ औँ स्थानमा पर्न सफल भएको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले नेपालमा पढ्दै कमाउँदै नीतिलाई व्यावहारिक कार्यान्वयन गर्दै लगेको अध्यक्ष जालानले बताए। प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष जालानले भने, ‘लर्डबुद्धबाट बाहिर निस्किएपछि प्रत्येक विद्यार्थीले आफू, परिवार र राज्यप्रतिको जिम्मेवारी थपिएको महसुस गर्नुहोला । स्वदेशमै प्रशस्त अवसर छ, सम्भावनाको ढोका पनि खोल्ने पनि आफैँले हो।’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले विद्यार्थीलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए।