नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको विस्तारित कार्यालयीय बैठक।  
                                            काठमाडौँ- विद्यालय शिक्षा विधेयक र महाधिवेशनबारे छलफल गर्न नेपाल शिक्षक महासंघले पदाधिकारी बैठक बोलाएको छ। महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आगामी सोमबार साँझ ५ बजे महासंघका पदाधिकारीसहित महासंघमा आबद्ध संघसंगठनका पदाधिकारीलाई भर्चुअल बैठक बोलएका हुन्।
महासंघसहित विद्यालय शिक्षासँग सरोकार राख्ने शिक्षक र कर्मचारीले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयक-२०८० संसद्को चालु अधिवेशनबाट जसरी पनि पारित हुनुपर्ने पक्षमा छन्। सुवेदी भन्छन्, ‘शिक्षा विधेयककै विषयमा छलफल गर्न बैठक बोलाइएको हो। चाँडो ऐन ल्याउनुपर्छ भन्ने हाम्रो अडान छ। विलम्ब गरिए आन्दोलनमा जान्छौँ।’
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले सोमबारको बैठकमा संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक, महासंघको अधिवेशनलगायत विषयमा छलफल हुने जानकारी दिए।
महासचिव सुवेदीले महासंघको महाधिवेशन आगामी चैत अन्तिमका लागि प्रस्ताव गरिएको पनि बताए।
महासंघसहित शिक्षक संघसंगठनले विधेयक पारित गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीलाई छुट्टाछुट्टै भेटेर ध्यानाकर्षण गराएका थिए।
विद्यालय शिक्षा विधेयक ‘पारित हुनेमा शंका’, दबाबमूलक कार्यक्रममा जुट्यो महासंघ

                                             
                                             
                                             
                                             
                                             
                                             

