लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुँदै

हिमाल प्रेस ७ फागुन २०८० १५:०३ | Monday, February 19, 2024
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुँदै

लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ। अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा फागुन २०, २१ र २२ गते लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) हुने भएको हो।

अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले बुद्धजन्मस्थल तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुन लागेको आयोजकले जनाएका छन्।

बौद्ध दर्शनमा त्रिपिटकको विशिष्ट महत्त्व रहेकाले लुम्बिनीमा हुने यस कार्यक्रमले बुद्धदर्शन र लुम्बिनीको प्रवर्धनमा टेवा पुर्‍याउने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो। अपिधम्म पिटक, सुत्त पिटक र सम्राट अशोकको पालामा ईशापूर्व दोस्रो शताब्दीमा लेखिएको विनय पिटक गरी तीन ग्रन्थ मिलाइ बनाइएको ग्रन्थलाई त्रिपिटक भनिन्छ।

अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शन, त्रिपिटकको महत्त्वबारे जानकारी गराउनुका साथै धार्मिक पर्यटनको प्रचारप्रसारका लागि त्रिपिटक वाचन कार्यक्रम राखिएको अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोधले जानकारी दिए।

त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलंका, म्यान्मार, थाइल्यान्ड, कोरिया, जापानलगायत एसियाली देशका भिक्षु, धर्मगुरु, अनुयायीको सहभागिता रहने छ। त्रिपिटक वाचनका क्रममा शान्ति पदयात्राको कार्यक्रम राखिएको छ।

प्रकाशित: ७ फागुन २०८० १५:०३ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast