भ्रमको पछि नलाग्न बचतकर्तालाई राष्ट्र बैंकको आग्रह

हिमाल प्रेस ८ फागुन २०८० १६:४९ | Tuesday, February 20, 2024
भ्रमको पछि नलाग्न बचतकर्तालाई राष्ट्र बैंकको आग्रह

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैकिङ क्षेत्रका बचतकर्तालाई कसैको हल्लाको पछि नलाग्ने आग्रह गरेको छ। बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको व्यहोरा अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरीवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति÷समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ।

अर्थतन्त्रको दिगो विकासमा सहयोग पुयाउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न यस बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको स्मरण राष्ट्र बैंकले गराएको छ।

पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू निर्देशनअनुरूप रहेको राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख छ। कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासनलगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आएको बैंकले जनाएको छ।

‘बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा यस बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण/सुपरीवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ।’

बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ।

प्रकाशित: ८ फागुन २०८० १६:४९ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast