 पर्यटन बोर्डको कार्यालय
                             पर्यटन बोर्डको कार्यालय
                                            काठमाडौँ- नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले निवर्तमान प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले कर्मचारीको मानमर्दन हुने गरी सार्वजनिक सञ्चारमाध्यममा अन्तर्वार्ता दिएको भन्दै आपत्ति जनाएको छ।
रेग्मीले एउटा टेलिभिजन अन्तर्वार्तामा बोर्डका कर्मचारी ‘अख्तियारमा उजुरी हाल्ने,भाइरस छ्न्,समाचार छ्पाउने?’ भनेका थिए। सोही विषयमा बोर्ड कर्मचारी संगठनले आपत्ति जनाएको हो।
संगठनद्वारा जारी प्रेस विज्ञप्तिमा माघ २६ गते रेग्मीले बोर्डका कर्मचारी, कार्यकारी समितिका पदाधिकारी, पर्यटन मन्त्रालयका सचिव र पर्यटनमन्त्री लक्षित गर्दै भ्रामक र कपोलकल्पित ढंगबाट सबैको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको उल्लेख छ।
चार वर्षका लागि करारमा नियुक्त रेग्मीका विषयमा २०७८ सालमा पर्यटन बोर्ड कार्यकारी समितिले गरेको छानबिन प्रतिवेदनमा उनले गरेका कानुनविपरीत कामहरू उल्लेख रहेको संगठनले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ,‘बोर्डकै इतिहासमा नै सबैभन्दा विवादित र अनुभवहीन छवि बनाएका रेग्मीले २०७८ कात्तिक २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट नियमविपरीत ६ बोतल रक्सी ल्याउन रोकेपछि ड्युटीमा खटिएका कर्मचारीमाथि दुर्व्यवहार गरेको कारण भन्सार ऐन, २०६४ को दफा ५८ बमोजिम सजायसमेत पाएका थिए।’
यसअघि पनि रेग्मी २०७४ पुस ७ गते भन्सार ऐन, २०६४ को दफा ५७ १ क बमोजिमको सुन पैठारी कसुरमा सजाय पाएका व्यक्ति भएको विज्ञप्तिमा जनाइएको छ। संगठनको विज्ञप्ति अनुसार रेग्मीले बोर्डको विधि र नियमसम्मत कामबरे अनर्गल प्रचार गर्ने र संस्थाका कर्मचारी र पदाधिकारीमाथि निराधार आक्षेप लगाउने काम गरेको विषय सामान्य नैतिकमूल्य बाहिर पर्नेमात्र नभइ नेपालको प्रचलित कानुनद्वारा समेत बर्जित छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 