एक दशकपछि एल्बम ‘हेर’ ल्याउँदै कर्मा ब्याण्ड

हिमाल प्रेस ११ फागुन २०८० १६:१७ | Friday, February 23, 2024
एक दशकपछि एल्बम ‘हेर’ ल्याउँदै कर्मा ब्याण्ड

काठमाडौँ– ‘हुक्का मेरो डल्ले डल्ले, नली नलाई खान्नँ, यति राम्री केटीलाई अघि नलाई जान्नँ’ गीतबाट चर्चा कमाएको नेपाली सांगीतिक ब्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउने भएको छ।

कर्मा ब्याण्डलाई व्यवस्थापन गरिरहेको एएसक्यूका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय अधिकारीले नयाँ एल्बम ‘हेर’ आउँदै गरेको जानकारी दिए। उनका अनुसार कर्मा ब्याण्डको ‘हेर’ एल्बममा आठ वटा गीत समावेश हुनेछ। एल्बममा समावेश अधिकांश गीतहरूमा कर्मा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ।

‘हेर’ कर्मा ब्याण्डको ६औं एल्बम हो। यसअघि कर्मा ब्याण्डले सन् १९९९ मा पहिलो एल्बम ‘सहर तिम्रो’ सार्वजनिक गरेको थियो। सन् २००० मा सार्वजनिक भएको दोस्रो एल्बम ‘हुक्का’ एल्बममा समावेश ‘हुक्का मेरो’ गीतले कर्मा ब्याण्ड स्रोता तथा दर्शकमाझ परिचित गराएको थियो।

कर्मा ब्याण्डले सन् २००३ मा ‘एस.एम.एस.’ र सन् २००७ मा ‘कर्मा’ एल्बम सार्वजनिक गरेको थियो। नेपाली गीतलाई पश्चिमा संगीतसँग फ्युजन गराउन माहिर कर्मा ब्याण्डले सन् २०१३ मा ‘नयाँ सपना’ एल्बम सार्वजनिक गरेको थियो।

केही वर्षदेखि अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेको कर्मा ब्याण्डले क्यानडा, अष्ट्रेलिया, युरोप, कोरिया र सिंगापुरलगायत देशमा रहेका नेपाली स्रोता तथा दर्शकमाझ सांगीतिक प्रस्तुति दिइसकेको छ।

‘हाम्रो गीतहरू युवादेखि पाका उमेरका सम्मका दर्शक तथा स्रोताहरूले मनपराउने गर्नुभएको छ,’ कर्मा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहले भने, ‘अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेपनि हामीले आफ्नो नयाँ एल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो। स्रोता तथा दर्शकहरूमाझ पुग्न यसपटक कर्मा ब्याण्डले नयाँ एल्बम सार्वजनिक गर्दैछ। यसपटक हामीलाई एएसक्यूले व्यवस्थापन गरिरहेको छ।’

कर्मा ब्यान्डको ‘हुक्का मेरो’ गीतसहित ‘मौनतामा’, ‘कहाँ होला घरबार’, ‘मार्यो’, ‘छैन मैले तिम्रो चित्त दुखाएको’, ‘सुपारी दाना’, ‘यानीमाया’ लगायत गीतहरू चर्चामा छन्। कर्मा ब्याण्डमा फ्रन्टम्यान सुरेन्द्रमान सिंहसहित गीतारमा फिरोज बज्रचार्य र रिग्जिन वाङ्गेल, ड्रममा अनिल शाक्य र बेस गितारमा ईश्वर घले आवद्ध छन्।

प्रकाशित: ११ फागुन २०८० १६:१७ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast