लोकतन्त्रको सबल पक्ष समानता : देउवा

हिमाल प्रेस १६ माघ २०८० ७:२७
2
SHARE
लोकतन्त्रको सबल पक्ष समानता : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गरेका छन्।

सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने र यसबाट नै विद्यमान विसंगतिहरुको अन्त्य हुने बताए।

‘लोकतन्त्रको एउटा सबल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय, सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए’, सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन्।

लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने सहिदहरूमा श्रद्धा व्यक्त गर्न, उनहरूको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न ‘सहिद दिवस’ मनाइन्छ।

सभापति देउवाले सहिद दिवसका अवसरमा देश र लोकतन्त्रको हित रक्षाका निमित्त आफ्ना सानातिना मतभेदलाई बिर्सेर सहिदको सपनालाई विपनामा रुपान्तर गर्ने संकल्प गर्नका लागि आग्रह गरेका छन्।

उनले नेपाललाई एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई ‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएका छन्।

प्रकाशित: १६ माघ २०८० ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =