संगीतसँगै सुदीपका दुई दर्जन कविता

विवेक विवश रेग्मी १३ माघ २०८० २१:३२
104
SHARES
संगीतसँगै सुदीपका दुई दर्जन कविता

इटहरी– भर्खरै हुस्सु छलेर धरानको न्यानो समयमा आइपुगेका छन् कवि-लेखकहरू। सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटालगायतका स्थानबाट भेला भएका कवि-लेखकहरू एकापसमा भेट हुन नपाउँदै कार्यक्रम सुरु हुन्छ। कवि हेमन यात्री स्टेजमा उक्लन्छन् र कार्यक्रमबारे जानकारी गराउँछन्। पृष्ठभूमिमा मधुरो संगीत बजिरहेको छ।

कवि सुदीप पाख्रिनको ‘दगुरिहिँड्ने चौबाटो’ कवितासंग्रहभित्रका दुई दर्जन कविता शनिबार धरानमा वाचन गरियो। अन्य समयमा कवि आफैँले कविता वाचन गर्ने, साहित्य र पुस्तक बहसका कार्यक्रम हुने तथा वैचारिक बहस हुने धरानस्थित होटल रत्न इनको सभाहलमा शनिबार भने कवि सुदीपका दुई दर्जन कविता भिन्नाभिन्नै स्थानबाट आएका कवि-लेखकले वाचन गरे।

कलरव धरानले आयोजना गरेको ‘दगुरिहिँड्ने चौबाटो उत्सव’मा कविहरूले सुदीपका कविता वाचन गरिरहँदा कवि सुदीप भने एकाग्र बने। लाग्थ्यो कि उनी ध्यानस्थ छन्। कविहरूले वाचन गरेका कवितामा संगीतको मधुरो धुनले मन्त्रमुग्ध बनाएको थियो।

संगीतसँगसँगै कविता वाचन भइरहँदा माहोल पूरै शान्त बन्यो। भीड र कोलाहलभन्दा टाढा रहेर कवितामा आनन्दित बनेका थिए आमन्त्रितहरू। त्यसो त कार्यक्रममा न कोही सभाध्यक्ष थियो, न कोही प्रमुख अतिथि। अतिथिविहीन बनेको कार्यक्रममा उपस्थित सबै समान थिए। कवि-लेखकहरू आसनग्रहण भन्दा पर रहेर कार्यक्रममा रम्न चाहन्छन्। कविहरूले चाहेकोजस्तै समय थियो, शनिबार दिउँसो।

कवि सुदीप धरानमा बसेर तीन दशकदेखि नेपाली साहित्यसँगै अनुवादको क्षेत्रमा सक्रिय छन्। उनी वंशज कविका रूपमा समेत चिनिन्छन् प्रसिद्व कवि स्व. कृष्ण पाख्रिनका पुत्र उनका ‘आदिम मौनता’ र ‘दगुरिहिँड्ने चौबाटो’ कविता संग्रह प्रकाशित छन्। केही साताअघि मात्रै दार्जिलिङको हाम्रो किताब घरबाट ‘दगुरिहिँड्ने चौबाटो’को दोस्रो संस्करण प्रकाशनमा आएको छ। अबको केही समयमै उनले अनुवाद गरेका प्रसिद्व लेखक गुलजारका कविताहरूको संग्रहसमेत बजारमा आउने तयारी छ।

आफैँले लेखेका कविता अरुहरूको मुखराविन्दुबाट सुनेपछि कवि सुदीपले आफ्ना अनुभूतिहरू सुनाए। ‘माग्न त मैले दियो मागेको थिएँ, तर पूर्णिमाको जुन नै पाएँ,’ सुदीपले भने, ‘कविता आफैँले धेरै कुरा बोक्छ, त्यसैले संग्रहबारे मैले बोलिरहन पर्दैन।’

एउटा कविताले नै धेरै कुरा बोक्ने भएकाले आफूले त्यसबारे बोल्न नपर्ने उनको धारणा थियो। यो किसिमको कार्यक्रम आफैँमा नौलो र रचनात्मक रहेकोमा उनले कृतज्ञता प्रकट गरे।

कवितावाचन गर्नुअघि झापाका कवि मुनाराज शेर्माले भने, ‘कविहरू आफैँ निराशामा बाँचेर पनि आशाको कविता लेख्ने गर्छन्। पृथ्वीको कविता लेख्ने गर्छन्। यसकारण पनि कविको महत्त्व छ।’

कार्यक्रम संयोजन गरेका कवि हेमन यात्रीले कवि सुदीप आफैँमा शान्त र सरल रहेको बताए। ‘कविजस्तै छन् कविता। कविले कवितामा फूलजस्तै सुन्दर र शान्त कविता लेखेका छन्,’ यात्रीले भने, ‘कवि आफैँमा शान्त र सरल छन्। त्यसैले पनि उनका कविता कोमल छन्।’ यो किसिमको कार्यक्रम आयोजना गर्नाले आफूहरूमा पनि प्रेरणा मिलेको उनले बताए।

कविता वाचनअघि प्रस्तुत गरिएको भिडियो स्टोरीमा वरिष्ठ कवि बम देवान भन्छन्, ‘मानिस आफैँमा विभाजित छ, दुःखी छ, पीडित छ। मानिसलाई राजनीतिले विभाजित बनाएको बेला कवि सुदीपका कविताले मानिस एक हुनुपर्छ भन्ने सन्देश दिएको छ।’

देवानले उनका कविता काव्यात्मक ढंगले लेखिएका सुन्दर, सामयिक र गम्भीर रहेको बताए। विभाजित सोच भएका मान्छेका कारण मानिस विक्षिप्त भएको समयमा उनीहरूलाई एक बनाउने सन्देश दिएको उनले सुनाए।

लेखक तथा पत्रकार राजेश विद्रोहीले कवि सुदीपका कविता हृदयका कविता लेख्ने कवि रहेको बताए। ‘सुदीपजीका कविताले मस्तिष्कभन्दा हृदयलाई छुन्छ। फूलले प्रहार गर्नुहुन्छ। उहाँका निबन्धमा पनि काव्यात्मकता पाइन्छ,’ उनले भने।

कलरव धरानले साहित्यको क्षेत्रमा हरेक महिनाजसो कार्यक्रम गरिरहेको बताउँछन् युनिक फोटोग्राफीका सञ्चालकसमेत रहेका वीरेन सुब्बा। उनका अनुसार केही साताअघि धरानमै ‘पोयट्री पार्टी’ कार्यक्रमको आयोजना गरियो। कार्यक्रमलाई निरन्तर शृंखलाकै रूपमा सञ्चालन गरिने सुब्बाले बताए।

प्रकाशित: १३ माघ २०८० २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =