एमालेका पालामा थालिएका योजना गठबन्धनका पालामा ठप्प : योगेश भट्टराई

हिमाल प्रेस १३ माघ २०८० ९:५०
8
SHARES
एमालेका पालामा थालिएका योजना गठबन्धनका पालामा ठप्प : योगेश भट्टराई

रौतहट- नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा थालेका विकासका योजनाहरू गठबन्धन सरकारले ठप्प पारेको बताएका छन्।

रौतहटको गरुडामा शुक्रबार आयोजित राष्ट्रिय युवासंघको जिल्ला भेलालाई सम्बोधन गर्दै सचिव भट्टराईले देशलाई समृद्ध बनाउने अभियानअन्र्तगत एमाले सरकारको पालामा ल्याएको विकासका योजना गठबन्धनको सरकारले ठप्प बनाएको बताए।

देशमै अहिले विकासका कामहरू ठप्प अवस्थामा रहेको सचिव भट्टराईले बताए। युवाहरूलाई स्वरोगार बनाउने, औद्योगिक क्षेत्रको विकासका योजनाहरू, भौतिक पूर्वाधारका विकासका योजनाहरू जस्ता काम अहिले ठप्प रहेको सचिव भट्टराईले बताए। ‘अहिलेको अवस्थामा अन्य दलहरू एकातर्फ छन् भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफ्नो विचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पूर्व मन्त्री समेत रहेका भट्टराईले भने।

नेकपा एमाले सबै जाति र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै उनले थपे, ‘नेकपा एमाले अहिले तराई–मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेशका एमालेमय बन्नेछ ।’ उनले पार्टी विभाजनलाई मेट्दै रौतहट बिस्तारै पुरानै अवस्थामा पुगिरहेको बताए।

राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर्विरोध भएको बताउँदै उनले बिस्तारै गठबन्धन भत्किने ठोकुवा गरे। एमालेको जनमत अझै बढ्दै गएको उल्लेख गर्दै उनले देशको समृद्धिका लागि आउँदो निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा एमाले जित्नुपर्ने बताए।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेल, केन्द्रीय सदस्य उद्धव रेग्मी, अजयकुमार गुप्ता, रेखा झा लगायतले युवाको परिचालनबारे आ–आफ्नो धारणा राखेका थिए। आउँदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुँदैछ।

अधिवेशनलाई भव्य रूपमा सफल बनाउन युवा परिचालनका लागि युवासंघको शुक्रबार बैठक राखिएको थियो। बैठक युवासंघ रौतहटका अध्यक्ष मुन्ना यादवको अध्यक्षतामा बसेको थियो। जिल्ला अधिवेशनका लागि आज शनिबार १८ वटै पालिकामा प्रतिनिधि चयन हुँदैछ। अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

प्रकाशित: १३ माघ २०८० ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =