गण्डकीमा २२९ मत खस्यो, सहकारी ठगीमा मुछिएका मेयर नेपाली भने आएनन्

हिमाल प्रेस ११ माघ २०८० १५:५९
10
SHARES
गण्डकीमा २२९ मत खस्यो, सहकारी ठगीमा मुछिएका मेयर नेपाली भने आएनन्

पोखरा- राष्ट्रियसभा सदस्यको चुनावअन्तर्गत गण्डकीमा २२९ मत खसेको छ। कुल २३० मतदातामध्ये बागलुङ ढोरपाटनका मेयर देवकुमार नेपाली अनुपस्थित भए। उनी इमेज सहकारी ठगी अभियोगमा फरार छन्।

प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले १ बाहेक सबै मत खसेको बताए। उनका अनुसार साढे ४ देखि ५ बजेसम्म मतपरिणाम आइसक्नेछ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पोखरा राष्ट्र बैंक चोकस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान भएको हो। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम आचार्यले बताए।

प्रदेशसभातर्फ एमाले सांसद भीम कार्की र पालिकातर्फ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिलो मतदान गरे। मतदानका लागि २ वटा मतदान केन्द्र तोकिएको थियो। तीमध्ये एउटा केन्द्रमा ९ जना खटिएका थिए।

गण्डकीमा ३ सिट (महिला, अपांग र अन्य क्लष्टर) मा ४ दलबाट ८ उम्मेदवार प्रतिस्पर्धामा छन्। गठबन्धनबाट अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा तनहुँका पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्मा उम्मेदवार हुन्। तीमध्ये श्रेष्ठ र परियार कांग्रेसका हुन् भने शर्मा माओवादी नेतृ हुन्।

एमालेबाट अन्य क्लष्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता र अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन्।

राप्रपाबाट रोमबहादुर भण्डारीले अन्यतर्फ र तनहुँकी गौमाया श्रेष्ठले महिला क्लष्टरबाट उम्मेदवार छन्। गण्डकीको ६० सदस्यीय प्रदेश सभा (सदस्य) बाट ६० तथा प्रदेशका ८५ पालिकाका (प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष) गरी १ सय ७० जना मतदाता हुन्।

गण्डकीमा १ महानगरपालिका (पोखरा) सहित २६ नगरपालिका र ५८ गाउँपालिका छन्। निर्वाचन आयोगले प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकातर्फ मतभार १९ तोकेकोमा गण्डकीमा दुवै तहका गरी जनप्रतिनिधिको कुल मतभार ६ हजार ४ सय १० हुन आउँछ।

कांग्रेसको प्रदेश सभातर्फ २७ र पालिकातर्फ ६७ जना मतदाता गरी कुल मतभार २ हजार ७ सय ४ मतभार हुन आउँछ। संसद्‌मा सत्तारुढ दल माओवादी केन्द्रको ८ सिट र पालिकातर्फ ३० गरी कुल मतभार ९ सय ९४ छ भने राष्ट्रिय जनमोर्चाको पालिकातर्फका गरी ५७ मतभार छ। उसको संसद्‌मा उपस्थिति छैन। एकीकृत समाजवादीको संसद्‌मा १ र पालिकामा १ गरी उसको मतभार ७२ मात्र छ।

यस्तै, एमालेको प्रदेशसभामा २२ सिटको प्रतिनिधित्व छ। उसको मतभार यहाँ १ हजार १ सय ६६ र पालिकातर्फ ६८ को मतभार १ हजार २ सय ९२ गरी कुल मतभार २ हजार ४ सय ५८ हुन आउँछ। उनको अनुपस्थिति भए एमालेको मतभार घटेर २ हजार ४ सय ३९ मात्र हुनेछ। प्रदेश सभामा २ सिट जितेको राप्रपाको १ सय ६ मतभार कायम छ।

गण्डकीबाट राष्ट्रियसभाका अध्यक्षसमेत रहेका नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ।

प्रकाशित: ११ माघ २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =