एकै बसाइमा ‘सयवटा पद्य लेख्ने’ नीराजन अब कहिल्यै उठ्ने छैनन्

माधवप्रसाद नेपाल ११ माघ २०८० ९:४१
2.4k
SHARES
एकै बसाइमा ‘सयवटा पद्य लेख्ने’ नीराजन अब कहिल्यै उठ्ने छैनन्

नीराजन पन्तको पहिचान हो-  स्रष्टामा महाकवि, परिवारका बीचमा उत्तरदायी, साथीभाइका सहयोगी, पौरस्त्य चिन्तनमा असाध्यै गम्भीर अनि विद्यार्थीसँग आदरणीय।

पन्तका देवघाट (महाकाव्य), म र मेरा (खण्डकाव्य) र महापुरुष (स्मृतिकाव्य) प्रकाशित छन्। एउटा उपन्यास प्रकाशन हुन बाँकी छ। पछिल्लो पुस्तामा चर्चित कविहरू मनोज भण्डारी, सुदेश सत्याललगायतका उनी प्रेरणाका स्रोत थिए।

पछिल्लो दुई वर्षमा क्यान्सरसँग संघर्ष गरिरहँदा पनि पन्त मातापिताका लागि घरको व्यवस्था गर्न सफल भए। संन्यासी फुपूका लागि आश्रमको व्यवस्था गरे अनि छोराको व्रतबन्ध गरिदिएर गृहस्थका महत्त्वपूर्ण उत्तरदायित्व पूरा गरिदिए।

थला पर्नुअघि उनी महेश संन्यास गुरुकुल विद्यापीठमा सहायक प्राध्यापक, भरतपुरको प्रेसिडेन्सी कलेज र चितवनकै मैयादेवी कन्या कलेजमा प्राध्यापन गर्थे। पन्तले केही वर्ष काठमाडौँका शिक्षण संस्थामा प्राध्यापन गराएर आफ्नो शिक्षण कौशल देखाएका थिए । उनै पन्तको ४० वर्षको उमेरमा माघ ५ गते इहलीला समाप्त भएको छ।

सबैको मन जित्दै गरेका पन्तले क्यान्सरसँग हारेका छन्। डा. स्वामी रामानन्दगिरिबाट महाकविको उपाधि पाएका पन्तको निधनले नेपाली कविताका क्षेत्रमा अपूरणीय क्षति पुगेको उनका समकक्षीहरू बताउँछन्।

गिरिले पन्तलाई महाकवि देवकोटासँग तुलना गरेको पन्तका अग्रज सहयात्री डा. उमेश घिमिरे स्मरण गर्छन्। उनी भन्छन्, ‘ब्रह्मलीन स्वामीजीले नीराजनलाई देवकोटा (महाकवि लक्ष्मीप्रसाद देवकोटा) भन्नुहुन्थ्यो। हामीले देवकोटा देखेनौँ। अरूसँग संगत गर्न पाएनौँ। हामी पनि महाकवि भनेर जिस्क्याउँथ्यौँ।’

पन्तका समकक्षी कवि मनोज भण्डारीका शब्दमा नीराजन परिष्कृत आशुकवित्व भएका स्रष्टा हुन्। उनले ‘महापुरुष’ काव्य १५ दिनभित्रै लेखेर प्रकाशन गरेका थिए। छन्दसाधनामा पनि त्यत्तिकै निपुण थिए पन्त। ‘उनमा ३२ वटा शास्त्रीय छन्दमा कविता लेख्न सक्ने क्षमता थियो’, पन्तका अग्रज एवम् महेश संन्यास गुरुकुलका सहायक प्राध्यापक फणीन्द्र पौडेल भन्छन्। नीराजनको निधनपछि एकजना आशुकवि गुमाउनुपरेको चिन्ता शुभेच्छुकहरूमा देखिन्छ।

कवि भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कवि नीराजन पन्त। एउटा परिष्कृत आशुकवित्वका रूपमा हामीले देखेका नजिकका नमुना। साहित्यलाई रच्ने, वाच्ने र बाँच्ने पनि।’ पन्त कविता सिर्जना मात्रै गर्दैनथे वाचनमा पनि उत्तिकै खप्पिस रहेको भण्डारीको भनाइ छ। उनले लेखेका छन्, ‘पहिलोपटक कवि सुदेश सत्यालको मुखबाट सुनेको थिएँ, नीराजन दाइ त एकपटक बसेपछि कमसेकम सयवटा पद्य लेखेर मात्रै उठ्नुहुन्छ।’

महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र राष्ट्रकवि माधव घिमिरेका कैयौँ काव्यांश पन्तलाई कण्ठस्थ थियो। साथै काव्य सिर्जनामा पन्तको लगाव विशिष्ट खालको थियो। भण्डारीले लेखेका छन्, ‘पन्तको स्वभाव चर्चा र पर्चादेखि डराउने , बरु एकान्तमा हराउने, कविता नलेख्दा त छट्पटी हुन्छ भन्ने।’

भण्डारीले नीराजनलाई कविताका उज्याला नक्षत्र, देवघाटका कविता साधकहरूका पथप्रदर्शक, ‘महापुरुष’ आशुकाव्यका भावयिता र महेश गुरुकुलभरिकै प्रिय व्यक्तिका रूपमा चिनाएका छन्।

अर्का कवि सुदेश सत्यालले नीराजनप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईँ जहाँ पुगे पनि तपाईंको बाटोमा हामी हिडिरहनेछौँ, सम्झिरहनेछौँ।’ जीवनको अन्तिम अवस्था हुँदा पनि नीराजनमा साहित्य, पूर्वीय दर्शन, भाषा, वाङ्‌मयकै चिन्तन रहेको सत्यालले उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘हामी एकै गुरुकुलमा पढेका, त्यही गुरुकुलबाट कवितालेखनमा समर्पित बनेका र हामी दुवैमा आदर्श व्यक्ति प्रेरणादायी व्यक्तित्व गुरुदेव १००८ स्वामी रामानन्द गिरिज्यू र महेश संस्कृत गुरुकुल भएकाले पनि हामीबीच छुट्टै आत्मीयता सद्भाव थियो।’

पन्तको स्वरका प्रशंसक धेरै थिए। त्यो कुरा मकर काव्ययामिनीको पछिल्ला शृंखलामा उनको माग हुनुले पनि पुष्टि गर्दछ। गत पुस मसान्तको रातमा महेश संन्यास गुरुकुलमा काव्ययामिनी हुँदै गर्दा श्रोतादर्शकबाट नीराजनको खोजी भएको थियो। पन्तले धेरै वर्षसम्म काव्ययामिनीमा कार्यसञ्चालकको भूमिका निर्वाह गरेको उनका समकक्षी श्रीधर पौडेल बताउँछन्। उनी भन्छन्, ‘संघर्ष गरेर अघि बढ्ने स्वभावका नीराजन संघर्षमै बिते।’

डा. घिमिरेका अनुसार पन्तलाई बचाउन सक्दो प्रयास गरिएको थियो। घिमिरेकै अगुवाइमा पन्तको उपचारमा साथीभाइ र दाताहरूबाट ३५ लाखभन्दा बढी रकम संकलन गरेर सहयोग गरिएको थियो। आन्द्रामा देखिएको क्यान्सरबाट उनी गल्दै गए। पहिलो शल्यक्रिया गरी किमोको चरण पूरा भएपछि चितवनको क्यान्सर अस्पतालले क्यान्सर मुक्त घोषणा गरिदियो। परीक्षण गर्दा क्यान्सर फेरि देखापर्‍यो। भारतको राजीव गान्धी अस्पतालमा लगिएको थियो। त्यहाँका चिकित्सकले किमोथेरापी मात्रै विकल्प हो भनेपछि नेपालमै ल्याएर त्रिवि शिक्षण अस्पतालमा १२ पटकसम्म किमोथेरापी गरिएको थियो। पन्तको उपचार प्रक्रिया जारी राखिएको घिमिरे बताउँछन्।

उनी भन्छन्, ‘हामीले नीराजनलाई  राजीव गान्धी अस्पतालका चिकित्सकले भनेका कुरा जानकारी गराएनौँ। उनले चाहेको कुरा पूरा गर्न सक्दो सहयोग गर्‍यौँ। मंसिरमा आईसीयूमा राख्न थालेपछि मनोबल गिर्न थाल्यो। जिस्क्याउने र ठट्टा गर्ने गर्थ्यौँ’, घिमिरेले भने। अद्वैत वेदान्तदर्शनमा विशेष रुचि भएका पन्तले गम्भीर बिरामी हुँदा पनि गीता पढ्न छाडेनन्। घिमिरे भन्छन्, ‘आईसीयूमा लगेर राख्दा पनि गीता पढ्थे। शिवजीप्रति आस्था अगाध थियो। अस्पतालमै रुद्रीपाठ गर्थे।’

पन्तको ‘देवघाट’ महाकाव्यले कालीगण्डकीलाई केन्द्रविन्दुमा राखेर समग्र पौरस्त्य ऋषि चिन्तनको परम्परालाई उजागर गरेको छ। ‘म र मेरा’ खण्डकाव्य कोभिड कालको अवस्थामा आधारित छ। पन्तले ‘महापुरुष’ महेश संन्यास आश्रमका संस्थापक अध्यक्ष डा. गिरि ब्रह्मलीन भइसकेपछि १६ दिनभित्रमा रचना गरेका हुन्। यस स्मृतिकाव्यमार्फत पन्तले डा. गिरिले विराट् सपना देखेर अगाडि बढाएको ज्ञान परम्पराको चर्चा गरेका छन्।

२६ महिना क्यान्सरमा थलिएका पन्तमा कुनै वैचारिक स्खलन नआएको सहायक प्राध्यापक पौडेल स्मरण गर्छन्। उनी भन्छन्, ‘शरीरको पीडा भए पनि जीवनप्रतिको मोहभाव देखिँदैनथ्यो। मैले सोधेको पनि थिएँ, तपाईँ अर्को चालीस वर्ष उमेर पाउनुभयो भने के गर्नुहुन्छ? उनी भन्थे, अहिलेसम्म केही गरेको छु त्यही नै महत्त्वपूर्ण हो, अब त्यति नै उमेर पाएँ भने पनि तिनै कुरालाई दोहोर्‍याउने, चपाउने मात्रै हो, नयाँ त केही छैन भन्थे।’

पाँच कक्षासम्म लमजुङको बेसीसहरमा अध्ययन गरेका पन्तले कक्षा ६ देखि महेश संन्यास आश्रममा पढेका हुन्। नीराजनले विशिष्ट श्रेणीमा एसईई गरे। नेपाल संस्कृत विश्वविद्यालयबाट इतिहास पुराणमा आचार्य र त्रिविबाट नेपालीमा स्नातकोत्तर गरेका उनी विद्यावारिधिमा अनुसन्धानरत थिए। उनको परिवारमा पत्नी, एक छोरा र एक छोरी छन्।

संस्कृतमा भनिएको छ- स जीवति यशो यस्य कीर्तिर्यस्य स जीवति। अर्थात्  जसको कीर्ति बेसरी फैलन्छ ऊ सधैँ बाँचिरहन्छ।  समकक्षी श्रीधर पौडेल भन्छन्, ‘नीराजनको भौतिक शरीर त हामीले अब पाउँदैनौँ। उनले कालजयी कृति छाडेर गएका छन्। अब उनको व्यक्ति तिनै पाउँछौँ।’ नीराजनका कृति अमर बनून्!

प्रकाशित: ११ माघ २०८० ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =