वैदेशिक रोजगारीमा महिला : नक्कली श्रीमती बन्दै सिमाना कट्दै

रमेश भारती ९ माघ २०८० १९:०६
208
SHARES
वैदेशिक रोजगारीमा महिला : नक्कली श्रीमती बन्दै सिमाना कट्दै एआईको सहायतामा बनाइएको तस्बिर।

काठमाडौँ- सिन्धुपाल्चोक बाह्रबिसेकी ३४ वर्षीया महिला तीनपटक वैदेशिक रोजगारीमा गइन्। उनी तीनैपटक भारतको बाटो भएर ६ वटा देशमा पुगिन्। उनले ११ वर्ष वैदेशिक रोजगारीमा बिताइन्। यस क्रममा आधाभन्दा बढी समय परिवारको सम्पर्कमा आउन नसकेकी उनी अहिले काठमाडौँमा सिलाइबुनाइ सिकेर बसिरहेकी छन्।

अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जाँदा महिला कामदारले नेपालभित्र तीन तहका एजेन्टसँग सम्पर्क गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्। पहिला साउदी र लेबनान पुगेर फर्किएकी उनी सात वर्षअघि इरान पुगिन्। इरानमा सात वर्ष साहुको घरमा बन्धक जीवन बिताएर गत महिना स्वदेश फर्किएको उनले बताइन्।

वैदेशिक रोजगारीमा जाँदा सात जना दलालको श्रीमती हुनुपरेको बाध्यता सुनाउँछिन् उनी। सात वर्ष इरानमा हराएकी उनलाई नेपालबाट छोरीले पहल गरेपछि कुवेतस्थित नेपाली दूतावासको सहयोगमा स्वदेश फर्काइएको थियो।

१७ महिना पहल गरेपछि दूतावासले इरानस्थित महावाणिज्यदूतको सहयोगमा उद्धार गरेको हो। हाल उनी वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने संस्थामा बसेकी छन्। नेपालबाटै जाँदा बाटोमै दलालबाट असुरक्षित भइन् भने अर्कोतिर रोजगारदाता देशमा पुगेपछि साहुबाट झन् असुरक्षित हुनुपरेको पीडा उनले सुनाएकी छन्।

उनका अनुसार अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जाने महिला कामदारले देशैपिच्छे फरकफरक एजेन्टसँग सम्पर्क गर्नुपर्छ। प्रहरीले शंका गरेर समाउँछ भनेपछि एजेन्टले श्रीमती हो भनेर सिमाना कटाउँछन्। त्यति मात्र होइन, भारतबाट खाडीका देश जाँदा पनि कतिपय एजेन्टले सेटिङमा लैजाने गरेको उनले जानकारी दिइन्।

‘अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जाँदा बाटोमै कैयौँपटक दलालले शारीरिक शोषण गर्छन्। नक्कली श्रीमती बनाएर सिमाना नघाउँछन्। म तीनपटक वैदेशिक रोजगारीमा गएँ। तीनैपटक एजेन्टको श्रीमती भएर सिमाना र विमानस्थल पार गरेँ,’ उनले भनिन, ‘एजेन्टले सात वर्षअघि टर्की, यूएई र कुवेत हुँदै इरान घरेलु रोजगारीमा पठाएका थिए। एजेन्टकी श्रीमती भएर तेस्रो देश गएकी छु।’

वैदेशिक रोजगारीले आफ्नो सबै कुरा लुटेको उनले बताइन्। ‘सबै कुरा लुट्यो, जीवनभर भुल्न नसकिने पीडा दियो र परिवारबाट छुटाएर एक्लो बनाएको छ,’ उनी भन्छिन्। उनले सात वर्षअगाडि वैदेशिक रोजगारीमा जाँदा काभ्रेका विनोद भन्ने एजेन्टलाई तीन लाख रुपैयाँ बुझाएकी थिइन्।

यसरी हराइन् इरानमा

नेपालबाट हङकङ रोजगारीमा पठाउने भनेर एजेन्टले २०७२ सालमा गएको भूकम्पपछाडि भारत पुर्‍यायो। भारतमा चार महिना बसेपछि यूएईबाट सजिलो हुन्छ भनेर एजेन्टले फेरि त्यहाँ पुर्‍याएको उनले जानकारी दिइन्।

भारतमा एजेन्टले सातवटा सहर घुमाएको उनी बताउँछन्। कुनकुन सहर भन्नेचाहिँ उनलाई थाहा छैन। प्रहरीसँग जोगिँदै एजेन्टले २१ जना महिलालाई श्रीमती भन्दै भारतका मुख्य सहर घुमाएको सम्झना छ।

एजेन्टले सात वर्षअघि हङकङ भनेर यूएई हुँदै कुवेत पुर्‍याएको थियो। कुवेतमा एक महिना राखेपछि मध्यरातमा बस चढाएर तीन दिनपछि इरान पुगेको उनलाई याद छ। ‘मसँगै गएकी एक नेपाली महिला साथीलाई हङकङ यही हो भनेर सोध्दा उनी हाँसेपछि इरान आएको थाहा पाएँ। इरान पुगेको दुई दिनपछि त्यहीँको एउटा घरमा इरानकै एजेन्टले काम पठायो,’ उनले भनिन्, ‘त्यो इरानीको घरमा तीन पुरुष र एक महिला थिए। त्यहाँ मेरो घर सरसफाइ गर्ने काम थियो। इरानी भाषा नआउने भएका कारण एक वर्ष परिवारसँग सम्पर्क भएन।’

काम गर्न थालेको एक वर्षपछि उनलाई इरानी साहुले त्यहाँको एउटा गाउँमा लग्यो। उनी भन्छिन्, ‘मैले काम गर्ने साहुको धेरै प्रकारका चरापन्छीको फार्म थियो। फार्ममा बंगलादेशका कामदार पनि थिए। साहुले ६ वर्ष उसकै श्रीमतीजस्तै बनाएर राख्यो।’ साहुले उनले फार्मबाट बाहिर निस्कन दिएन। उनले फोन पनि चलाउन पाइनन्। उनले भनिन्, ‘तँलाई पैसा तिरेर किनेर ल्याएको हौँ। हामीले जे भन्छौँ, तैँले त्यही मान्नुपर्छ। नत्र जे पनि हुन सक्छ भनेर धम्क्याए। भाषा नआएका कारण जे भन्यो त्यहीँ मानेर बसेँ।’

उनले त्यहाँ चरालाई पानी दिने, सरसफाइ गर्ने र खाना बनाउने काम गरिन्। उनले भनिन्, ‘म त्यही गाउँमा करिब ६ वर्ष बसेँ। भाग्ने र फोन गर्ने मौका पनि परेन।’ धेरै पीडा भोगेर फर्किनुपरेको उनको गुनासो छ।

उनी बसेको त्यो गाउँमा इन्टरनेट पनि कोरोना महामारीका बेला मात्र पुगेको थियो। इन्टरनेट पुगेपछि उनले स्वदेश फर्किन धेरै प्रयास गरिन्। इरानमा कोही नेपाली नभेटिएको उनको भनाइ छ। त्यही भएर तीन वर्ष बस्नुपरेको उनले जानकारी दिइन्।

सात वर्षपछि एउटै फार्ममा काम गर्ने बंगाली कामदारमार्फत छोरीसँग फेसबुकमा जोडिइन्। छोरीसँग सबै कुरा गरेपछि कुवेतस्थित नेपाली दूतावास र अन्य संघसंस्थासँग सहयोग मागेर स्वदेश फर्किन सफल भएको उनको भनाइ छ।

उनले भनिन्,‘अन्तिममा साहुले पनि राम्रै पारिश्रमिक दिएर घर पठायो। सात वर्षको तलब पनि पाएँ।’ साहुले ३४ लाख नेपाली तलब दिएर घर पठाएको उनले बताइन्।

सात वर्षपछि नेपाल फर्किँदा उनको घरमा छोराछोरी मात्र थिए। उनी हराएपछि लोग्नेले अर्की श्रीमती ल्याएर दुई जना बच्चा पनि भइसकेका रहेछन्। श्रीमान्‌ले अर्की श्रीमती ल्याएको जानकारी छोरीले भनेपछि मात्र थाहा भएको उनको भनाइ छ। छोराछोरीसँग भेटे पनि उनी घर जान सकेकी छैनन्।

उनलाई उद्धार गरी स्वदेश फर्काउने संस्थाले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेको फर्किएका महिलालाई निःशुलक सीपमूलक तालिम दिने गरेको छ।

नेपालबाट धेरै महिला भारतको बाटो भएर तेस्रो देश तस्करी पुर्‍याइने गरेको छ। भारत हुँदै वैदेशिक रोजगारीमा जाने नेपाली महिला खाडी देश, मलेसिया, अफ्रिकी देश र युरोपमा तस्करी भइरहेका छन्।

भारतपछि बंगलादेश, चीन, श्रीलंका र थाइल्यान्ड तस्करको मुख्य रुटभित्र पर्छन्। भारत, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, इथियोपिया, घाना र नेपाललगायत देशबाट घरेलु कामका लागि महिला तस्करी हुने गरेका छन्। राज्यले स्वदेशमा रोजगारीको सिर्जना गर्न नसक्दा धैरै महिला विदेश जान बाध्य हुनुपरेको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ बताउँछिन्।

अवैध बाटो भएर वैदेशिक रोजगारीका लागि विदेश गएका महिला जोखिममा रहेको पनि घटनाक्रमले उजागर गरेको उनले जानकारी दिइन्। ‘वैधानिक रूपमा विदेश जाने बाटो बन्द भएपछि अवैधानिक रूपमा तेस्रो देशको बाटो हुँदै खाडीलगायतका मुलुकमा जाने महिलाको संख्या बढ्दै गएको छ। यो समस्या सरकारले नै सिर्जना गरेको हो,’ गुरुङले भनिन्।

२०७२ साल चैतदेखि सरकारले खाडीका ६ देश र मलेसियामा घरेलु काममा जाने कामदारलाई श्रम स्वीकृति जारी गरेको छैन। तर तेस्रो देशको बाटो हुँदै नेपाली महिला खाडीका देश र मलेसिया रोजगारीमा गइरहेका छन्।

वैदेशिक रोजगारी क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाका अनुसार भारतलागयतका देश हुँदै वार्षिक २० हजार महिला रोजगारीको प्रलोभनमा खाडी र मलेसियामा तस्करी भइरहेका छन्। अवैध बाटो भएर बिदेसिने अधिकांश महिलाहरू  अशिक्षित, अर्धशिक्षित र पारिवारिक समस्यामा परेकाहरू रहेका छन्।

प्रकाशित: ९ माघ २०८० १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =