धार्चेका १२ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

हिमाल प्रेस ८ माघ २०८० १६:०६
10
SHARES
धार्चेका १२ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

काठमाडौँ-  गोरखाको धार्चे गाउँपालिका वडा नं ७ लापुमा अब्यवस्थित बसोबास गरेका १२ घरधनीलाई निस्सा (जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण गरिएको छ। गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरूङ र वडाध्यक्ष राकेश गुरूङले शुक्रबार एक कार्यक्रमका गरी उनीहरुलाई निस्सा वितरण गरेका हुन्।

राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुको लगत संकलन गर्ने कार्य गर्दै आएको छ। सोहीअन्तरगत लापुमा भने भूमिहिन दलित र भूमिहिन सुकुम्बासी नरहेको र अव्यबस्थित बसोबास गर्नेहरु मात्र रहेकाले उनीहरुलाई मात्र निस्सा वितरण गरेको प्रशासन तथा योजना शाखाका अधिकृत तथा पालिकाको भूमि आयोगको फोकल पर्सन रुलबहादुर आलेले बताए।

१० वर्ष भन्दा बढि जग्गा भोगचलन गर्दै आएको जग्गाको अहिलेसम्म नाप, नक्सा नभएका जग्गाहरु उनीहरुलाई बितरण गरिएको उनले बताए। अब्यवस्थित बसोबास गरेका स्थानीयहरुले फर्म भरेको र त्यसलाई वडाले पालिकामा सिफारिस गरी पठाएको थियो। त्यस्तै, कार्यपालिको बैठकले निर्णय गरी जिल्ला भूमि आयोग गोरखामा पठाएको थियो। भूमि आयोगले दाबी विरोधका लागि सूचना निकालेको र कसैको पनि दाबी विरोध नआएपछि पालिकाले निस्सा वितरण गरेकोे उनले जानकारी दिए।

यसअघि गाउँपालिका वडा नं १ हुल्चुकमा भूमिहीन दलित र सुकुम्बासी गरी १३ जनालाई निस्सा वितरण गरिएको थियो। यस्तै वडा नं ४ लाप्राकका अब्यवस्थित बसोबास गरेका ४० घरधनीलाई पनि निस्सा वितरण गरिसकिएको छ।
अव पालिकाका भित्रका वडा नं. ५ र ६ मा निस्सा वितरणको काम बाँकी रहेको छ। ‘वडा नं. १ मा पनि अब्यवस्थित बसोबास रहेको छ, उनीहरुको पनि निस्सा वितरण बाँकी छ’ आलेले भने। वडा नं. २ र ३ मा भने भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासी नरहेको उनले दाबी गरेका छन्।

बाँकी वडाहरुमा पनि माघको अन्तिम अथवा फागुन महिनाको पहिलो हप्तासम्ममा निस्सा वितरण गरिसक्ने उनले बताए। उनीहरुलाई अब कार्यपालिकाले निर्णय गरेर मालपोत कार्यालय, नापी कार्यालयबाट प्राविधिकहरु फिल्डमा जग्गाको नापजाँच गरी छिट्टै जग्गा वितरण गर्ने कार्य अघि बढ्ने उनले बताए।

प्रकाशित: ८ माघ २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =