प्रधानमन्त्री दाहाल र श्रीलंकाका राष्ट्रपति सिंघेबीच भेटवार्ता

हिमाल प्रेस ६ माघ २०८० १४:४३
16
SHARES
प्रधानमन्त्री दाहाल र श्रीलंकाका राष्ट्रपति सिंघेबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति डा‍.रनिल विक्रमासिंघेबीच युगाण्डाको राजधानी कम्पालामा भेटवार्ता भएको छ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको १९औँ सम्मेलनमा भाग लिन कम्पाला पुगेका उनीहरूबीच भेटवार्ता भएको हो।

सो क्रममा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएको बताउँदै क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुवै देश एक ठाउँ उभिन आवश्यक रहेको बताए।

प्रधानमन्त्री दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा पनि जोड दिए।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए।

श्रीलंकाका राष्ट्रपति डा.सिंघेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रूपक सापकोटा, परराष्ट्रसचिव सेवा लम्साललगायत परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित थिए।

प्रकाशित: ६ माघ २०८० १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nine =