प्रिय कवि ‘सरल’ अब सम्झनामा मात्रै

माधवप्रसाद नेपाल ६ माघ २०८० १२:५२
502
SHARES
प्रिय कवि ‘सरल’ अब सम्झनामा मात्रै यदुनाथ ढुंगाना 'सरल'

कवि यदुनाथ ढुंगाना ‘सरल’ को निधन भएको छ। १९८८ साल साउन १३ गते लमजुङको दुराडाँडामा जन्मिएका ढुंगानाको ९२ वर्षको उमेरमा माघ ३ गते निधन भएको हो। उनको निधनबाट एक प्रतिभाशाली र असल अभिभावक गुमाएको दुराडाँडा क्षेत्रका व्यक्तित्वहरूले स्मरण गरेका छन्।

४२ वर्षसम्म सरकारी सेवामा संलग्न ढुंगानाले स्वास्थ्य चौकी दुराडाँडामा रहेर पनि योगदान दिएका थिए। अवकाशप्राप्त जीवनपछि उनी कहिले दुराडाँडा त कहिले काठमाडौँमा रहँदै साहित्य सिर्जनामा संलग्न थिए। त्यसो त सेवाकालमै साहित्य सिर्जनामा लागेर उनले आफ्नो कवि व्यक्तित्वको पहिचान बनाइसकेका थिए।

सरल उपनामजस्तै सरल र रसमय, राष्ट्रभक्तिले ओतप्रोत कविता रचना उनको विशेषता हो। नैतिकता, सदाचार, धार्मिक चेतना, नेपाली प्रकृति, संस्कृतिका विषयमा लेखिएका उनका कविता उच्चस्तरका रहेको बताउँछन् प्राध्यापक जीवन अधिकारी।

घरसारमा र पाठशालामा संस्कृत तथा नेपाली प्रारम्भिक अध्ययन गरेका सरल प्रतिभाकै परिणामस्वरूप साहित्यसाधनामा निरन्तर सक्रिय थिए। छन्दसाधना पनि सरलको सिद्धहस्तता थियो। कुनै बेला सूर्यनाथ सुवेदी र यदुनाथका बीचमा छन्द कवितामा संवाद र चिठीपत्र आदानप्रदान हुने गरेको अधिकारी स्मरण गर्छन्। सरलको व्यक्तित्व पनि निकै शालीन थियो। उनी कसैको नराम्रो चाहँदैनथे। अधिकारी भन्छन्, ‘सरललाई अजातशत्रु भन्नु उपयुक्त हुन्छ होला किनभने उहाँले कसैलाई बिझाउने काम गर्नुभएन।’

राष्ट्रकवि माधव घिमिरेले सरललाई ‘घामपानीका थोप्ला टिप्ने गौँथलीजस्ता कवि’ भनेका छन्।

तत्कालै कविता रचना गर्न आशुकवित्व सरलमा पाइन्थ्यो। आफन्त वा शुभेच्छुकहरूले कसैले राम्रो काम गरे, उन्नति गरे भने कवितामा शुभकामना र बधाई दिने गर्थे सरल। कवितामा व्यक्त गरेका कुराबारे एउटा पद्यले उनको साहित्यिक प्रवृत्तिको परिचय दिन्छ :

सद्भावनामय मनोहर वाक्यद्वारा
मिल्ने भए सरलबाट कुनै सहारा।
दर्साइँदैछ हरतर्क तरंग रेली
यस्तै छ जेजति छ प्रस्तुत पुष्पबेली।।

सरलको परिवारको सामान्य आर्थिक स्थिति थियो। लगनशील व्यक्तित्वका कारण उनले आफ्नो परिवारलाई व्यवस्थित बनाउँदै गएका थिए। विद्वान् साहित्यप्रेमीप्रति अति नै श्रद्धा गर्ने बानी थियो उनको।

सरललाई पछिल्लो चरणमा मर्स्याङ्दी वाङ्‌मय प्रतिष्ठान, ठाकुरप्रसाद छाँगा स्मृति समाज आदि संस्थाले सम्मान पुरस्कार प्रदान गरेका थिए। विभिन्न प्रतियोगितामा अब्बल भएर उनले धेरै नै पुरस्कार पाएका छन्। जस्तै : अम्बा प्रतिभा पुरस्कार (लमजुङ, २०५३), राष्ट्रिय प्रजातन्त्र दिवस समारोह कविता प्रतियोगिता (प्रथम २०२२), राष्ट्रकवि माधव घिमिरे रथयात्रा राष्ट्रिय कविता प्रतियोगिता (प्रथम पुरस्कार र स्वर्ण पदक, २०६०) दुराडाँडा : स्वर्णमहोत्सव प्रतियोगिता (प्रथम, २०६३) लमजुङमा सम्पन्न कोटीहोम महायज्ञका अवसरमा आयोजिता कविता प्रतियोगिता (प्रथम, २०५१), गण्डकी अञ्चलस्तरीय कविता प्रतियोगिता (द्वितीय एवं रजतपदक, २०३४) स्व. डिल्लीजंग गुरुङ स्मृतिसमारोह कविता प्रतियोगिता (तृतीय), तोयानाथ अधिकारी स्मृति समारोह कविता प्रतियोगिता (तृतीय) आदि।

‘सिर्जनाका धुन’ कवितासङ्ग्रह र ‘आत्मदर्पण’ खण्डकाव्य उनका प्रकाशित कृति हुन्। उनका फुटकर रचना पनि धेरैतिर छरिएर रहेका छन्।

सरलको निधनपछि दुराडाँडा क्षेत्रका मात्रै नभई धेरैतिरबाट शब्दश्रद्धा व्यक्त भइरहेका छन्। कतिपयले सामाजिक सञ्जालमा उनको साहित्यिक योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै समाजले असल व्यक्ति गुमाएको उल्लेख गरेका छन्।

देशबन्धु अधिकारीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘नेपाली छन्द कविताको क्षेत्रमा गहकिलो देन दिनुको साथै मुलुकको निजामती सेवामा ‘इमानदार राष्ट्रसेवक’ को छवि छोडेर जानुभएको छ। अधिकारीले यस सन्दर्भमा कवि सरलको ‘सिर्जनाका धुन’बाट एउटा पद्य उधृत गर्नुभएको छ–

मेरो माया अझ पनि यतै घुम्छ सम्झेर साथी
मेरो छायाँ अघिपछि हुँदै पुग्छ मैदान माथि।
फैली सेवा परिधि सबमा सत्य सन्देश आओस्
जाला चोला जुन दिन कुनै देन छोडेर जाओस्।।
(कवि यदुनाथ ‘सरल’ सिर्जनाका धुन, २०६४)

कवि सरलले उक्त पद्यमा एकपटक प्राप्त भएको मानव चोलामा केही न छाडेर जानुपर्ने सन्देश दिएका छन्। देशबन्धुका अनुसार सरलले राखेको सदिच्छा पूरा भएको छ। देशबन्धुले लेखेका छन्, ‘समाजले एकजना उदाहरणीय एवं असल व्यक्तिलाई गुमाएको छ। यसबाट उहाँसँग परिचित हामी सबैलाई अत्यन्त मर्माहत बनाएको छ।’

उत्तम बस्यालले आफ्नो प्रेरणादायी व्यक्तित्वलाई गुमाउनुपरेको उल्लेख गरेका छन्। लमजुङको चिहानपाटा बजार क्षेत्रमा पुग्दा प्रायः गोरखापत्र पढिरहेका भेटिने सरलबाटै पढ्ने प्रेरणा पाएको बस्यालले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘धेरै वर्षपछि उहाँलाई काठमाडौँको रातो पुलनजिकै डेरामा भेट्न गयौँ, नेत्र पौडेल, बुद्ध खनिया र म। त्यतिबेला उहाँको डेरा नजिकै रहेको पत्रिका पसलमा आउने सबै जसो दैनिक, मासिक पत्रिका पढ्नुहुँदो रहेछ उहाँ। सायद ८५, ८६ वर्ष हुनुपर्छ त्यतिबेला। अत्यन्त अध्ययनशील व्यक्तित्व। बाह्य कुरा पढ्नुपर्छ भन्ने प्रेरणाको स्रोत हो उहाँ मेरो।’

बस्यालले सरललाई अत्यन्त रसिला र पढूँपढूँ लाग्ने पद्यकविता लेख्ने कविका रूपमा चिनाएका छन्। सरलकै प्रेरणाबाट कविता लेख्न थालेका बस्यालले आफ्नो नामको पछाडि विनयी पनि उहाँकै पदचापलाई पछ्याउँदै लेखेको जनाएका छन्।

बस्याल लेख्छन्, ‘एक दिन पौवा खेत नजिकै एकले चौतारोमा भेट हुँदा बाबुको टाइटल नाम ‘विनयी’ राम्रो छ भन्नुभाथ्यो उहाँले मलाई। कति राम्रो प्रेरित गर्ने बानी!’

बस्यालले सरललाई कसैसँग कहिलै नरिसाउने, अर्कालाई नबिगार्ने, भलो मात्रै गर्ने, कसैको आँखामा नबिझाउने र सारै मृदुभाषी व्यक्तित्वका रूपमा चिनाएका छन्।

पछिल्लो समयमा बुढ्यौलीले गाँजेकाले कवि सरल विस्मृतिको सिकार बन्नुपरेको थियो। उनका सन्तति सबै मिलेर राम्रो सेवा गरेका थिए। प्राध्यापक अधिकारी भन्छन्, ‘सरल ९० वर्षपछि मेरो परमायु सकिन्छ भन्ने गर्थे। जानु त निश्चित नै थियो, ९२ वर्षमा गए। एउटा अध्याय समाप्त भयो। यसमा दु:ख  लाग्नु स्वाभाविकै हो।’

अधिकारीले भनेजस्तै  अब सरको स्वास्थ्य जटिलताको पीडामय स्थितिबाट आत्माले मुक्ति पाएको जस्तो पनि लाग्छ। सरलताको दृष्टान्त बनेर उनी सदाकाल जीवित रहनेछन्। संस्कृतमा भनिएको छ :

जयन्ति ते सुकृतिनो रससिद्धा: कवीश्वरा:
नास्ति येषां यश:काये जरामरणजं भयम्।

प्राध्यापक अधिकारीले भने, ‘रसमय कविता रचना गर्ने सरलको कीर्तिशरीरमा कुनै पनि बुढ्यौली वा मृत्युको भय अब रहनेछैन। मनमा बसेका प्रिय कविलाई अब सम्झनामा मात्रै भेट्न सकिने भयो।  प्रिय कवि यदुनाथलाई हार्दिक श्रद्धाञ्जलि! उहाँलाई सायुज्यमुक्ति मिलोस्। यही प्रार्थना छ।’

प्रकाशित: ६ माघ २०८० १२:५२

प्रतिक्रिया

One thought on “प्रिय कवि ‘सरल’ अब सम्झनामा मात्रै

  1. कविज्यू प्रति हार्दिक श्रद्धासुमन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 9 =