चिनियाँ अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा : बरफ र हिउँ

अजय अलौकिक ६ माघ २०८० ९:५०
66
SHARES
चिनियाँ अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा : बरफ र हिउँ

वसन्त चाड अर्थात् चिनियाँ नव वर्ष घरदैलोमा नआउन्जेल हिउँद लागेपछिको बेइजिङ अलिअलि जमेकै देखिन्छ। वसन्त चाडसँगै भने ऊ फेरि वेगले दौड्न थाल्छ। तर यसो भनिरहँदा अक्टोबरपछि जनवरीसम्म बेइजिङ ‘हाइबर्नेसन’ मा जान्छ भन्न खोजिएको चाहिँ होइन, हिउँदमासमा साइबेरियादेखि आइपुग्ने हिमवायु र यहाँकै भौगोलिक अवस्थितिअनुसार तापक्रम शून्यमुनि पुग्छ र पानी बरफ बन्न पुग्छ भनिएको हो। त्यसमाथि हिउँ पनि बेलाबखत पर्छ। डिसेम्बरमा त हिमपात भएको थियो। त्यति बेला परेको हिउँ बिलाइसकेको छैन।

यस्तै शून्यमुनिको अवस्था अर्थात् बरफ अनि हिउँ र सिरेटोबीच बेइजिङले चिसोको मज्जा लिन पनि कुनै कसर बाकी राख्दैन। हिउँदमासमा सानाठूला पार्कमा बरफ खेलको मज्जा लिइरहेकै देखिन्छ। यसरी मौसमको विविधतामा रम्न पाउनु जीवनका लागि रमाइलो मौका हो।

विश्वका धेरै मानिसले यसरी विविधतामा भिज्न पाएका छैनन्। यस सवालमा हामी नेपाली भाग्यमानी छौँ।कि वर्षभरि ६ वटा ऋतु मनाउँछौँ। यस्तो विविधताबाट जनजीवनमा कति फाइदा पुगेको छ, यसलाई अवसरका रूपमा लिन सफल भएका छौँ या छैनौँ, त्यो अर्कै पाटो भयो।

प्रसंग बेइजिङकै। हाल बेइजिङमा जमेका तालतलैयामा हिउँदे खेल र सम्बन्धित गतिविधि भइरहेका छन्। गत जनवरी १५ देखि बेइजिङको केन्द्र भागबाट करिब ८० किलोमिटर उत्तरपश्चिममा अवस्थित यानछिङ क्षेत्रको लोङछिङस्यामा ३८ औँ बरफ बत्ती तथा हिम महोत्सव सुरु भएको छ।

डेढ महिना चल्ने महोत्सव उद्घाटन समारोहकै दिन बर्फिलो वातावरणमा न्यानो अनुभूत गर्ने मौका मैले पनि पाएको थिएँ।

पर्यटक तथा आगन्तुकलाई एउटा बेग्लै संसारमा पुर्यानउन सफल महोत्सवमा दुई लाख ५० हजार वर्गमिटर क्षेत्रफलमा २००/३०० वटा बरफ तथा हिममूर्ति, लालटिन बत्ती तथा सयौँको संख्यामा रूखबत्ती सजाइएको थियो। महोत्सवमा म दोस्रोपटक सहभागी भए तापनि यसपटकको भव्य तथा विशाल महोत्सवले मलाई भने हार्बिनको रोमाञ्चक बर्फिलो यात्राको सम्झना दिलायो।

रोमाञ्चक बर्फिलो यात्रा

एक दशकअघि नयाँ वर्ष पारेर जनवरीमा घुम्नग एको चीनको उत्तरपूर्वी प्रान्त है लोङच्याङको सदरमुकाम हार्बिन (हार्पिन) को बर्फिलो यात्राले अमिट छाप छोडेको छ। बरफ सहरको उपनाम पाएको यस सहरमा डिसेम्बरदेखि मार्चसम्म विविध बरफ तथा हिउँका मूर्ति जताततै देख्न पाइन्छन्।

बेइजिङबाट करिब १३ सय किमि उत्तरपूर्वमा रहेको हार्बिन सहर क्यानाडाको मन्ट्रियलकै अक्षांशमा पर्दछ। यहाँको न्यूनतम तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ।

नयाँ वर्षको अवसरमा माइनस २० वा त्योभन्दा मुनिको तापक्रम भएको हार्बिनको यात्रामा आफ्नो रोमाञ्च, खुसको पारो भने अधिकतम बढेको थियो। बाटोभरि विभिन्न आकृतिका कतै बरफ त कतै हिउँबाट बनाइएका मूर्ति देखिन्थे।

कलाकारहरू आफ्ना कालीगढी देखाउन तल्लीन थिए। हलिउड सुन्दरी मेरलिन मुनरोको प्रसिद्ध पोजलाई विशाल हिम मूर्तिमा उतार्दै गरेको त्यो दृश्य अझै ताजै छ। दुरूस्त देखिन्थ्यो। मनमोहक थियो। अनि हिउँ तथा बरफ मेलाको त कुरै भएन। एउटा बेग्लै संसारमा पुगेको अनुभव थियो।

सहरभरि जताततै ससानादेखि ठुल्ठुला हिउँका आकृति र बत्तीजडित बरफका आकृति देखिए तापनि तीन सय युआनको टिकट काटेर प्रवेश गरेपछि बर्फिलो मेलामा पनि मन चङ्गा हुने ठोकुवा गर्न सकिन्छ। हार्बिन आइस एन्ड स्नो वर्ल्ड विश्वको सबैभन्दा ठूलो बरफ र हिउँ थिम पार्कहरूमध्येको एक हो। हाल यसले आठ लाख वर्गमिटर क्षेत्रफल ओगटेको छ। यहाँ दुई हजारभन्दा बढी बरफ मूर्तिका साथै बर्फिलो परिदृश्य देख्न पाइन्छ। यसलाई बरफ र हिउँको डिज्निल्यान्ड या त मानव निर्मित हिउँदे परीभूमि पनि भन्न सकिन्छ।

हिउँ अनि बरफबाट बनाइएको सहर बजारजस्तै। घर, भवन, दरबार, टावर, क्यासल अनि भगवान् बुद्ध, सुपर हिरोज, कार्टुन क्यारेक्टरका मूर्ति आदि-आदि। ती सबै आकृति या मूर्तिभित्र तारबत्ती राखिएर रंगीन बनाएबाट अझै चित्ताकर्षक थियो, झिलीमिली बरफको वास्तुकला।

बरफ बत्ती बीच रात अझै रमणीय र दर्शनीय थियो। बर्फिलो मौसममा आफू पनि कतै जमेर मूर्तिजस्तै हुने त होइन भन्ने नभएको होइन तर त्यहाँको सादृश्यले न्यानो अनुभूति दिलाइरहेको थियो। त्यो दृश्यले झंकृत बनाएको मेरो मनको अनुभूतिलाई सायदै शब्दमा पोख्न सकुँला।

यो हार्बिन अन्तर्राष्ट्रिय हिउँ तथा बरफ मेला औपचारिक रूपमा हरेक वर्षको जनवरीदेखि एक डेढ महिनासम्म आयोजना हुने गरे तापनि डिसम्बरदेखि मार्चसम्म चल्ने गर्दछ। किनभने करिब छ महिना त्यो सहरको तापक्रम माइनस २० डिग्री सेल्सियसको हाराहारीमा रहन्छ। यस मुख्य महोत्सवबाहेक, हार्बिनभरि नै सानाठूला मेलामहोत्सव भइरहेका हुन्छन्।

हार्बिनमा यस किसिमका महोत्सवहरू सन् १९६३ देखि सरु भएको मानिन्छ। हार्बिन अन्तर्राष्ट्रिय बरफ तथा हिम महोत्सव भने सन् २००१ देखि आयोजना हुँदै आएको छ। पछिल्लो समयमा उत्तरपूर्वी प्रान्तीय सहरहरूमा हार्बिनले हिउँदे पर्यटनमा आफूलाई अब्बल पंक्तिमा उभ्याएको छ।

बरफ, हिउँ र सुनचाँदी

सन् २०२४ को आरम्भसँगै हार्बिन र उत्तरपूर्वी चीन तथा बरफ र हिउँ पर्यटन लोकप्रिय विषय भएको छ। साथै बरफ र हिउँ पर्यटन तथा गतिविधिले हिउँदे अर्थतन्त्रको जग बसाल्न पनि सफल भएको छ।

चीन पर्यटन अध्ययन प्रतिष्ठानले जनवरी ५ मा सार्वजनिक गरेको ‘२०२४ बरफ र हिउँदे पर्यटनका उत्कृष्ट १० सहर’ मा हार्बिन प्रथम स्थानमा छ। सन् २०२४ नयाँ वर्षको तीनदिने बिदामा कुल ३० लाख ४८ हजार पर्यटकले हार्बिन भ्रमण गरेका थिए। यसबाट पाँच अर्ब ९१ करोड ४० लाख चिनियाँ युआनको कुल पर्यटन आम्दानी गरेको थियो। यो आम्दानीले रेकर्ड कायम गरेको छ।

यसबाहेक नयाँ वर्षको बिदामा चीनभित्र र बाहिर लाखौँको संख्यामा यात्रा भएका छन्। २०१९ को अवस्थामा या कोभिड-१९ अघिको स्तरमा फर्किएको छ।

हार्बिनले महामारीपछिको आर्थिक पुनःउत्थानलाई महत्त्व दिन हिउँदमासको फाइदा उठाउँदै देशको दक्षिणबाट घरेलु पर्यटकहरूलाई आकर्षित गर्न विशेष प्रयास गरेको देखियो। फलस्वरूप तीनदिने नयाँ वर्षको बिदामा सहरले ऐतिहासिक रेकर्ड बनायो।

यसपटक हार्बिन चीनमा मात्र होइन विदेशी सामाजिक सञ्जाल र सञ्चारजगत्‌मा पनि व्यापक आकर्षणको विषय बनेको छ। यसले आगामी दिनमा हार्बिनको नाम अझै चुलिने पक्का छ। साथै यसले हिउँदे पर्यटन र हिउँदे अर्थतन्त्रको थप प्रवर्धन गर्नेछ। समग्र अर्थतन्त्रको एउटा हिस्साको रूपमा हिउँदे अर्थतन्त्र रहनेछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नदीनाला, पहाडपर्वतजस्तै हिउँ र बरफ पनि अमूल्य धनसम्पत्ति भएको बताउने गरेका छन्। हिउँ र बरफ मानिसलाई धनी बनाउन तथा ग्रामीण पुनःउत्थानका लागि बहुमूल्य सम्पत्ति भएको उनको भनाइ छ।

बेइजिङ २०२२ हिउँदकालीन ओलम्पिक तथा पारालम्पिक समीक्षा र पुरस्कार समारोहमा सम्बोधनका क्रममा राष्ट्रपति सीले हिउँ र बरफ मानिसलाई धनी बनाउन तथा ग्रामीण पुनःउत्थानका लागि बहुमूल्य सम्पत्ति बनेको बताएका थिए। साथै उनले ओलम्पिक खेलको तयारीदेखि र आयोजनाले चीनको बरफ र हिउँ खेलको विकासलाई अगाडि बढाएको जानकारी दिए।

सन् २०२२ को बेइजिङ हिउँदकालीन ओलम्पिकको सफल आयोजनाले चीनको बरफ र हिउँ पर्यटन बजारलाई समृद्धितर्फ धकेलेको छ। हिउँदकालीन ओलम्पिकपछि अहिले हार्बिनले यसरी सफलता हात पारेको हो। हार्बिनलगायत चीनका उत्तरपूर्वी क्षेत्रहरूले बरफ र हिउँ अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई बढाउँदै यसबाट फाइदा उठाइरहेका छन्। बरफ र हिउँ अर्थव्यवस्थाको विकासले उत्तरपूर्वी चीनमा हिउँ उद्योगको विकास भएको छ।

कुनै समय अर्थतन्त्रको शीर्ष १० सहरमा पर्ने हार्बिन अहिले ५० औँ स्थानमा छ।र यो हिउँदे अर्थतन्त्रले सुकेको अवस्थालाई उकास्न योगदान पुर्याअउने विश्वास गरिएको छ। साथै समग्र चीनको अर्थतन्त्रको उत्थानमा पनि सहयोग पुग्ने अनुमान छ।

रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत तथा स्थानीयको सहभागिता र हिउँदे खेलकुद गतिविधि र सहभागिताले हिउँदे पर्यटनसँगै हिउँदे अर्थतन्त्रको विकास गरेको छ। हिउँदे पर्यटनले पर्यटक र चिनियाँ पर्यटन क्षेत्रको विकासमा तीव्रता दिएको छ। बरफ र हिउँ पर्यटनको उच्च गुणस्तरीय विकासकालागि एक जीवन्त उदीयमान उद्योग सिर्जना गर्ने र यसबाट समृद्ध अर्थव्यवस्थामा रूपान्तरण गर्दै लाभ उठाउनुपर्ने विशेषज्ञहरूको राय छ।

बरफ तथा हिममेला र सम्बन्धित गतिविधिहरू सबै हिउँद पर्यटनभित्र पर्दछन्। यसबाट बरफ र हिउँको सांस्कृतिक अर्थको अनुभव सँगसँगै आर्थिक गतिविधिलाई पनि चलायमान बनाएको छ। नयाँ युगको चीनमा उत्तरपूर्वी चीनसहित समग्र चीनभरि बरफ तथा हिउँ पर्यटन अर्थव्यवस्थाको एउटा सकारात्मक बिन्दु बनेको छ। साथै, बरफ र हिउँ अर्थव्यवस्थाको बढ्दो प्रवृत्ति चीनमा जारी रहने अपेक्षा पनि गरिएको छ।

चीनको बरफ र हिउँ उद्योगको विकाससम्बन्धी एक प्रतिवेदन अनुसार, सन् २०२३ मा चिनियाँ उपभोक्ताले आफ्नो विदाको समयलाई बरफ र हिउँ पर्यटन, सम्बन्धित खेलकुद र उपभोगलाई प्राथमिकता दिइरहेका छन्। यस परिवर्तनले खेलकुद उपकरण, खानपान, आवास र यातायातजस्ता उद्योगहरूको वृद्धिमा योगदान गरेको छ। प्रतिवेदनले चीनको बरफ र हिउँ उद्योग सन् २०२५ मा एक ट्रिलियन युआन पुग्ने अनुमान गरेको छ।

अन्तमा, सन् २०२२ को बेइजिङ हिउँदकालीन ओलम्पिकपछि चीनमा हिउँदे पर्यटन तथा हिउँदे खेलको विकास तीव्र गतिमा भइरहेको छ। यसले प्राकृतिक रूपमा वा भौगोलिक अवस्थिति अनुसार प्राप्त वातावरणलाई अवसर तथा समृद्धिको कुञ्जीको रूपमा लिएको छ। हाल केटाकेटीहरू हिउँदे खेलकुदतर्फ आकर्षित तथा संलग्न भइरहेका छन् भने अर्कोतिर हिउँदे अर्थतन्त्र अर्थव्यवस्थाको एक हिस्सा बनेको छ। राष्ट्रपति सी चिनफिङले ‘हिउँ र बरफ पनि अमूल्य धन सम्पत्ति हुन्’ भने झैँ त्यस्तै भएको छ।

घरदेशको कुरा गर्नुपर्दा ‘हिमालमा हिमपात किसानलाई राहत’ बाहेकका राम्रो समाचार पाइँदैन। ती किसानलाई पनि अरू थोकमा हिउँ र चिसोले मर्का पारेको हुन्छ। यसर्थ हामीले हिउँ र बरफलाई सुन र चाँदी बनाउने तरिका सिक्न सके हिउँदे खेल, हिउँदे पर्यटनसँगसँगै हिउँदे अर्थतन्त्रलाई जोड्न सकिनेछ।

प्रकाशित: ६ माघ २०८० ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 2 =